Comments Add Comment

निजगढ विमानस्थललाई ‘नाम मात्र’को बजेट, कुन विमानस्थललाई कति ?

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका तीनसहित हवाई पूर्वाधारका आयोजनामा प्राथमिकता दिएको छ । राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् ।

यसमध्ये सरकारले गौतमबुद्ध विमानस्थल आगामी आवको शुरुमै संचालन गर्ने लक्ष्य लिएको छ । तर, बहुप्रतिक्षित निजगढ विमानस्थलमा भने आगामी आवमा समेत नाम मात्रको बजेट मात्र दिइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थलको वस्ती स्थानान्तरण र परिपथ निर्माणका लागि बजेट छुट्याइएको बताएका छन् । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा निजगढ विमानस्थलका लागि मात्र ५० करोड रुपैयाँ विनियोजन भएको छ । चालु आवमा यस विमानस्थलका लागि सरकारले १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

२०५० सालदेखि नै निर्माणको चर्चा शुरु भएको यो आयोजनामा सरकारले आव २०७१/७२ बाट बजेट राख्न शुरु गरेको हो । त्यसपछि विमानस्थलमा चारकिल्ला तोक्ने, वातावरणीय प्रभाव मूल्यांकन, मूआब्जा वितरणका काम सम्पन्न भएका छन् ।

आयोजना कार्यान्वयन पूर्वको मूख्य तयारी साइट क्लियरेन्सतर्फ रुख कटानमा विवाद जारी छ । सरकारले चालु आवमा यो विमानस्थल निर्माण नै थाल्ने बताएको थियो ।

तर, कार्यान्वयन गर्न भने सकेन । वाषिर्क ६ करोड यात्रुलाई सेवा दिन सक्ने लक्ष्य राखिएको यो आयोजनाको कार्यान्वयनमा ठूलो बजेट अनुमान गरिएपनि त्यसको स्रोत भने सरकारले अझै फेला पार्न सकेको छैन ।

भैरहवा विमानस्थल सञ्चालन आउने

आगामी आवमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनमा आउने गरी नयाँ लक्ष्य सरकारले तोकेको छ । अर्थमन्त्री डा. खतिवडाका अनुसार विमानस्थल संचालन र दोस्रो टर्मिनल भवन लगायत थप पूर्वाधार निर्माणको लक्ष्य आगामी आवमा राखिएको छ ।

यो विमानस्थलमा आगामी आवमा सरकारले ४ अर्ब ७२ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो विमानस्थलको भौतिक निर्माणको काम सकिएको छ ।

अब इन्टेरियर तथा विद्यूतीय सामग्रीको जडान भने बाँकी रहेको छ । यो आयोजना २०१५ मा शुरु भएको थियो । यो आयोजनाको कूल लागत ६ अर्ब १० करोड राखिएपनि मुआब्जा र अन्य तयारीका काममा ३० अर्बभन्दा माथि खर्च भइसकेको छ ।

पोखरा क्षेत्रीय विमानस्थलको निर्माण तीब्र

पोखरा विमानस्थलका लागि सरकारले आगामी आवमा सर्वाधिक १० अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आजमा निर्माण सकाउने उल्लेख गरेको छ । ४० वर्ष अगाडि नै अधिग्रहण गरेर राखिएको जग्गामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ ।

यो आयोजनाको प्रारम्भिक काम आव २०६४/६५ बाटै अगाडी बढेको हो । तर, निर्माणमा गति भने २०७४/७५ को अन्तिमबाट मात्र आयो । किनकी चीन र नेपाल सरकारसँग ऋण सम्झौतामा भएको ढिलाईले आयोजना कार्यान्वयन पनि पर धकेलिएको थियो ।

सन् २०१७ मा दुई मुलुकबीच सम्झौता भइसकेपछि अहिले भने आयोजनाले गति लिएको छ । त्यसको ४ वर्षमा सक्ने लक्ष्य रहेको यो विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको छ भने टर्मिनल र अन्य पूर्वाधारसमेत धमाधम बनिरहेका छन् । यो आयोजनाको कूल लागत २१ अर्ब ६० करोड रुपैयाँ हो ।

त्रिभुवन विमानस्थलमा ३ अर्ब ४५ करोड

त्रिभुवन विमानस्थलको स्तरोन्नतिसहित बुटिक एयरपोर्ट बनाउने लक्ष्य लिएको छ । यस विमानस्थलमा पार्किङ वे थप, नयाँ टर्मिनल भवन निर्माणलगायतका योजना रहेका छन् ।

यस आयोजनामा आगामी आवमा सरकारले ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसरी चार वटा आयोजनाका लागि सरकारले कूल १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो बजेट विमानस्थलका लागि छुट्याएकै रकम हाराहारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment