Comments Add Comment

कोरोना कोषको रकम खर्च गर्न थालियो, दुई दर्जन जिल्लामा पठाइए बजेट

१८ जेठ, काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस कोषबाट पहिलो पटक दुई दर्जन जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम पठाइएको छ ।

कार्यालयका अनुसार पहिलो पटक यस कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ जिल्लामा पठाइएको हो ।

यसमध्ये काठमाडौंस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नाममा १ करोड ३९ लाख ७९ हजार रुपैयाँ पठाइएको छ । डडेल्धुरामा जिल्ला अस्पताल, मकवानपुरमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका नाममा पनि रकम पठाइएको छ ।

चितवनको भरतपुर अस्पताल, तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले खर्च गर्ने गरी रकम पठाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिम, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, झापा र इलामको जिल्ला प्रशासन कार्यालयका नाममा समेत ५/५ लाखका दरले रकम पठाइएको छ । कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई समेत कोषबाट क्रमशः १ करोड र ६८ लाख रुपैयाँ पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना कोषमा २ अर्ब ३० करोड ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment