Comments Add Comment

७ प्रतिशत आर्थिक वृद्धि कति यथार्थपरक ?

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशतको राखेको छ ।

कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल भएको समयमा आएको बजेटले राखेको यो लक्ष्य ‘अति नै महत्वाकांक्षी’ रहेको विज्ञहरु बताउँछन् । तर, अर्थमन्त्री डा. युवराज खतिवडा भने निकै आशावादी देखिएका छन् ।

बजेटपछिको पत्रकार सम्मेलनका क्रममा शुक्रबार उनले लगातार तीन वर्ष ६ प्रतिशतमाथि आर्थिक वृद्धि भएको जगले आगामी आर्थिक वर्षमा समेत यो लक्ष्य पूरा हुने दावी गर्छन् । तर, कोरोना महामारीका कारण उत्पन्न परिस्थितिको २ महिनाकै अवधिमा करिब २ प्रतिशत हाराहारी झरेको आर्थिक वृद्धिदर दीर्घकालीन प्रभावसँगै कति समय स्थिर रहला त्यो त आगामी दिनमै देखिने छ ।

विज्ञ तथा पूर्वअर्थमन्त्रीहरु आगामी आर्थिक वर्षका लागि लिइएको आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक नभएको बताउँछन् । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत कोरोनाको प्रभाव कहिले सकिन्छ भन्ने निश्चित नभइकनै तोकिएको ठूलो आर्थिक वृद्धिको लक्ष्य यथार्थमा आधारित नभएको बताउँछन् ।

आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा पूर्वअर्थमन्त्री डा. महतले ७ प्रतिशतको आर्थिक वृद्धिदर महत्वकांक्षी रहेको उल्लेख छ । ‘कोरोना संक्रमण तुरुन्तै रोकिने अवस्था छैन,’ उनी भन्छन्, ‘यो अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धि हुने सम्भावना कम छ ।’

अर्का पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले समेत तोकिएको आर्थिक वृद्धिदर महत्वाकांक्षी रहेको प्रतिक्रिया दिए । बजेट सार्वजनिक भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्वअर्थमन्त्री पाण्डेले समेत कोरोना महामारीको प्रभाव अर्थतन्त्रमा केही समय निरन्तर रहने भएकाले यो लक्ष्य बढी भएको तर्क गरे ।

अर्थमन्त्रीको तर्क के छ ?

अर्थमन्त्री डा. युवराज खतिवडा भने आगामी आर्थिक वर्ष तत्काल प्रतिफल दिने केही आयोजना सम्पन्न हुने विश्वासमा छन् । साथै, एक वर्षभित्र सम्पन्न हुने आयोजना र निर्माणाधीन अधुरा आयोजनाको कार्यान्वयनमा समेत तिब्रता आउने मन्त्री खतिवडा बताउँछन् ।

यसवर्ष रणनीतिक महत्वका सामाजिक, आर्थिक र भौतिक पूर्वाधार आयोजनाको निर्माण कार्यसमेत अगाडि बढ्ने भएको छ । भूकम्पपछिको पुनर्निर्माणको धेरै काम समेत सम्पन्न हुँदा त्यसले पूँजी निर्माणमा सहयोग गर्नेछ । सेवा क्षेत्रसमेत केही विस्तार हुने अर्थमन्त्रीको विश्वास छ ।

अर्थमन्त्रीले कोभिड १९ को प्रभाव तत्काल यकिन गर्न कठिन रहेको स्वीकार गरेका छन् । तर, परिस्थिति सामान्य हुनासाथ अर्थतन्त्र पुनः गतिशील हुन सक्ने विश्वास राखेका छन् ।

आगामी आवमा सम्पन्न गर्ने लक्ष्य राखिएका केही ठूला आयोजना

  • मेलम्ची खानेपानी आयोजना
  • तामाकोशी जलविद्युत आयोजना
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
  • धरहरा, रानीपोखरी र सिहंदरबारको मूल भवन
  • भूकम्पले भत्काएका निजी आवास पुनर्निर्माण, पुरातात्विक सम्पदा, विद्यालय भवनलगायत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment