Comments Add Comment

बजेट सन्तुलित, कार्यान्वयन चुनौतीपूर्ण : पूर्वअर्थमन्त्री पाण्डे

१८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संकटको बेला सन्तुलित बजेट ल्याइए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले बजेट महत्वाकांक्षी भने नरहेको बताए ।

प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता पाण्डेले बजेटको आकार घटाएर ल्याइनुले पनि यो महत्वाकांक्षी नरहेको र सबैलाई समेट्न खोजेको बताए । राजश्वमा आउने गिरावट र खर्च गर्ने क्षमतामा आउने कमीलाई ध्यानमा राखेर बजेट आएको पाण्डेले बताए ।

पाण्डेले बजेटमा भएका व्यवस्था कार्यन्वयनको अनुगमन गर्न अर्थमन्त्रालयबाटै एउटा अनुगमन संयन्त्र बनाउन समेत सुझाव दिए । उनले खाद्यान्न आयात कम गर्नका लागि कृषिमा बजेटले गरेको व्यवस्था उत्साहजनक रहेको बताए ।

नेता पाण्डेले कृषि क्षेत्रमा बजेट भने कम भएको बताए । ‘कृषिमा बजेट कम भएको हो कि जस्तो लागेको छ । कृषि उपजको मूल्य तोक्ने कुरा त गर्यौं तर, किनिदिने कसरी ? त्यो प्रष्ट छैन’ पाण्डेले भने ।

उनले कृषि वस्तु आयातमा लाग्ने सेवा शुल्क बढाएर ९ प्रतिशत बढाउनु आन्तरिक उत्पादन वृद्धिका लागि सकारात्मक रहेको बताए । चालु आर्थिक बर्षमा फलफुल, पिठो, पानको पात, चामल दाललगायताक कृषि उपज आयातमा ४५ अर्ब भन्दा बढी खर्च भएको भन्दै सत्तारुढ नेकपा सांसद पाण्डेले आन्तरिक उत्पादन बढाउन सक्नुपर्ने बताए ।

यो वर्ष विदेशबाट धेरै मान्छे फर्किने भएकाले खाद्यान्नको अभाव बढाउन उत्पादन बढाउनुपर्ने पाण्डेले बताए । कृषकलाई बाली लाउनुपूर्वनै आधार मूल्य तोक्ने कुराले मनोबल बढाए पनि कृषिमा बजेट अझै अपुग भएको उनले बताए । उनले बिउमा भन्सार बढाइएको हल्ला चले पनि सत्यता नरहेको समेत बताए ।
नेकपा सांसद पाण्डेले विदेशी फर्निचरमा कर बढाएर स्वदेशी फर्निचर र काष्ठ उद्योगलाई संरक्षण दिन खोज्नु सकारात्मक भएको टिप्पणी गरे ।

कृषि मलमा भन्सार लगाइएको भनेर भ्रम फिजाउन खोजिए पनि बजेटले त्यसो नभनेको पाण्डेले बताए । रसायनिक मलमा भन्सार घटाउने कुरा बजेटमा आएको भन्दै गाडीहरु धुने युरियामा भन्सार बढाइए पनि मलमा बढाएको भनेर बाहिर भ्रम फिजाइएको पाण्डेले बताए ।

पाण्डेले भने ‘बरु युरिया भन्ने आइटममा बढेको रहेछ त्यो औद्योगिक प्रयोजन र गाडीहरु धुनेमा प्रयोग हुने रहेछ । इन्डक्सन चुल्होमा पनि भन्सार बढेको भनेर आयो तर १५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको रहेछ ।’

पूर्वमन्त्री पाण्डेले विद्युतीय गाडीमा भन्सार बढाउने प्रस्तावमा भने पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । विद्युतीय गाडी अन्य भन्दा महंगो हुने भएकाले विदेशी मुद्राको चाप बढ्न सक्छ भनेर अर्थमन्त्रालयले भन्सार बढाए पनि त्यसमा पुनर्विचार गर्न सकिने उनले बताए ।

पाण्डेले भने, ‘उहाँहरुको तर्क यस्तो गाडी धनीले मात्र ल्याउने र न्युनतम ३२ हजार डलरभन्दा माथिका गाडी भएकाले आम मान्छेलाई असर गर्दैन भन्ने पनि छ । तर पेट्रोलियमको चाप घटाउन हामीले यसमा पुनर्विचार गर्नुपर्छ ।’

स्वास्थ्यमा यसवर्ष बजेट बढे पनि खर्च हुनेमा उनले आशंका व्यक्त गरे । ‘काठमाडौंमा, प्रदेशमा, स्थानीय तहमा अस्पताल बनाउने भनेको छ’ पाण्डे भन्छन्, ‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य संरचनालाई आग्रह गर्न चाहन्छु– भवन मात्रले अस्पताल हुँदैन । जनशक्ति चाहिन्छ । उपकरण चाहिन्छ । यसअघि पनि जनशक्ति नभएको भन्ने गुनासो जिल्ला जिल्लाबाट आउँथ्यो ।’

विगतका वर्षहरुमा स्वास्थ्य मन्त्रालयले ७० प्रतिशत भन्दा माथि खर्च गर्न नसकेको उल्लेख गर्दै उनले यस वर्ष विचार पु¥याउन सुझाव दिए ।

अनुदान र ऋण चुनौतीपूर्ण

आगामी आर्थिक वर्षमा सरकारले आशा गरेको अनुदान र ऋण दुबै चुनौतीपूर्ण रहेको नेता पाण्डेले बताए । अर्थतन्त्री डा. युवराज खतिवडाले ६० अर्ब विदेशी अनुदान, २ खर्ब ९९ अर्ब वैदेशिक ऋण र दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

‘राजश्व उठाएर चालु खर्चमा मात्रै हाल्नुपर्ने अवस्था हुन्छ । राजश्वलाई विकासमा खर्च गर्न नपाउँदा गाह्रो हुन्छ । तर, राजश्व लक्ष्यअनुसार उठेन र चालु खर्च घटेन भने ऋण लिएर चालु खर्च गर्नुपर्ने हुन्छ । ऋण खोजेर घिउ खाने जस्तै’ पाण्डेले भने ।

विदेशी ऋण लिएर पनि खर्च गर्न सक्ने क्षमता नभएको भन्दै पाण्डेले खर्च गर्न सक्ने सामथ्र्य बढाउनुपर्ने बताए ।

उनले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि चुनौतीपूर्ण रहेको टिप्पणी गरे । ‘वैशाखसम्मको डाटाका आधारमा चालु वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुन्छ । तर असारसम्म लकडाउन लम्बिदा एक÷दुई अझ जिरोमा जान्छ कि भन्ने छ । त्यसकारण ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुर्याउन धेरै नै चुनौतीपूर्ण छ’ नेता पाण्डेले भने ।

नेता पाण्डेले प्रदेश र स्थानीय तहमा जाने बजेट कटौती नहुनु सकारात्मक पक्ष भएको बताए । ‘यो पैसा प्रदेश र स्थानीय तहले खर्च गर्न सक्दा राहत पुग्छ’ उनले भने ।

शिक्षामा बजेट बढ्नु सकारात्मक भन्दै नेता पाण्डेले दिवा खाजा, छात्राहरुलाई निशुल्क स्यानिटरी प्याडजस्ता कार्यक्रमले बालबालिकाको पढाइ नबिग्रिने र विद्यालय जाने सुनिश्चित हुने बताए ।

बजेटले राखेको रोजगारी सिर्जनाको कार्यक्रम सकारात्मक भए पनि विगतमा यस्ता कार्यक्रम अनुगमन नहुँदा रकम दुरुपयोग भएको भन्दै ख्याल गर्न सुझाव दिए ।

घरेलु उद्योगलाई सहुलियत दिएर उत्प्रेरित गर्नु पनि बजेटको सकारात्मक पक्ष भएको भन्दै नेता पाण्डेले भुकम्पपछिको पुनर्निर्माण यस वर्ष सक्ने लक्ष्य पनि सकारात्मक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment