Comments Add Comment

क्रिएसन र कोका-कोलाको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट

क्रिएसन नेपालले द कोका-कोला फाउण्डेसनको सहयोगमा आयोजना गरेको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्साअन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरूमा सफलतापूर्वक दोस्रो हप्ताको राहत वितरण सम्पन्न भएको छ।

उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाइकर्मीहरूलाई रक्षात्मक जमसुट र रासन प्याकेजहरू वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सविन प्रधानको उपस्थितिमा वितरण गरिएको थियो । सोही दिन राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

यसका साथै पछिल्लो साताको अन्तिम तीन दिनहरूमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बूढानीलकण्ठलगायत विभिन्न क्षेत्रका सफाइकर्मीहरूलाई रक्षात्मक जमसुट, मास्क, बुटसहित २५२ भन्दा बढी रासन प्याकेजहरू र १७५ रक्षात्मक सामग्रीहरू प्रदान गरएको छ । यसरी वितरण गरिएका कार्यक्रमहरू हाम्रा पार्टनरहरू वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरूको सहयोगमा सफलतापूर्वक सञ्चालन भइसकेका छन् ।

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो जसमार्फत् हालसम्म ११०० भन्दा बढी सफाइकर्मीहरू रासन प्याकेजहरू र रक्षात्मक सामग्रीका साथसाथै जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् ।

यो परियोजना नेपालभरका ३२०० सफाइकर्मीहरूलाई सकारात्मक लाभ पुर्‍याउने लक्ष्यका साथ चालु कोभिड-१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा सुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाइकर्मीको उत्थानमा मद्धत पुर्‍याउने छ।

जारी परियोजनाका बारेमा क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले कोभिड-१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाइकर्मीहरूको योगदानलाई महसुस गर्न पर्ने बताए । उनले उनीहरूले सामना गरिरहेको चुनौती र कठिनाइहरूका बाबजुद पनि आफ्नो काम जारी राखेकोले उनीहरू पनि अन्य व्यवसायी-डाक्टर र सुरक्षा गार्डहरू जस्तै समान रुपमा अग्रपङ‍्क्तिमा रहेको बताए । कोकाकोला फाउण्डेसनको सहयोगमा यो पहल सफाइकर्मीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास भएको र यसले उनीहरूको जीवनमा परिवर्तन ल्याउने बताए ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी सबै अग्रपङ्क्तिका साहसी सफाइकर्मीहरूलाई हार्दिक आभार प्रकट गर्दछौं । हामी सबै सफाइकर्मीहरूको साथमा छौं र क्रिएसनसँगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाइकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्छौं ।’

बोटलर्स नेपाल लिमिटेडका प्रवन्ध निर्देशक प्रदीप पाण्डेले राष्ट्रको रुपमा अझ मजबुत बन्नेबारे सुनिश्चित गर्न यो चालु परिस्थितिमा हामी सबैको सहयोग र योगदान आवश्यक रहेको बताए। यो परियोजना वर्तमान स्वास्थ्य संकटको बाबजुद अग्रपङ्क्तिमा रहेका सफाइकर्मीहरूलाई सहयोग गर्ने महत्वपूर्ण प्रतिक्रिया भएको पनि बताए। उनले नेपालभरका समुदायहरूलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment