Comments Add Comment

एडीबीसँग ३० अर्बको ऋण सम्झौता

१९ जेठ, काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेटबारे उठेको प्रश्नको जवाफ दिँदै एकैपटक छोटो समयमा कुनै दातृ निकाले यति ठूलो ऋण दिएको पहिलोपटक भएको दाबी गरेका छन् ।

यो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग हुनेछ ।

गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने एडीबीले बताएको छ। कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

‘कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सीएआरईएस) कार्यक्रमअन्तर्गत नेपालले समेत २५ करोड डलर ऋण सहायता पाएको हो । यो कार्यक्रमबाट नेपाल सरकारले सात वटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ ।

गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ।

एडीबीले यसअघि युनिसेफका माध्यमबाट समेत नेपाललाई तीन लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ। सरकारले यो रकम स्वास्थ्य उपकरण खरिदमा खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment