Comments Add Comment

प्रदेश १ लाई तिब्बत सरकारले दियो पौने ८ करोडको स्वास्थ्य सामग्री

१९ जेठ, विराटनगर । चीन स्वशासित तिब्बत सरकारले १ नम्बर प्रदेशलाई करिब पाैने ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीसँग जुध्न तिब्बतले प्रदेश सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । चीनले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स-रे पोर्टेबल मेसिन १ थान रहेका छन्।

यसैगरी आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई पाँच हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्माेमिटर दुई सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर पाँच सय मिलिलिटर छन् ।

उपलब्ध भएका स्वास्थ्य सामग्रीहरूले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरूको कोरोना परीक्षणमा छौं,’ राईले भने, ‘तिब्बतबाट प्राप्त सामग्रीले परीक्षणमा थप सहयोग पुग्नेछ ।’

प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भइसकेकाे छ भने एक सय ६५ जनामा संक्रमण पुष्टि भएकाे छ । तीमध्ये ३० जना उपचारपछि घर फर्किसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment