Comments Add Comment

विचरा चन्द्रबहादुर र कम्युनिस्ट सरकार

प्रतिपक्षमा हुँदा अथवा चुनावमा जनता समक्ष भोट माग्दा चर्का चर्का भाषण सुनिन्थ्यो, “हजारौं लाखौं युवाहरू कामको खोजीमा खाडी मुलुकमा जान र त्यहाँको ४५/५० डिग्रीको तातोमा पोलिएर काम गर्न विवश छन्, दैनिक बीस हजारको हाराहारीमा युवाहरू पासपोर्ट बनाउने लाइनमा उभिएको देखिन्छ । यो अवस्थाको अन्त्य कहिले हुने ? यस्तो दु:खद् अवस्थाबाट मुक्त गर्नका लागि हामी (कम्युनिस्ट पार्टी) लाई आफ्नो अमूल्य मत दिनुहोस् । हामी यसको अन्त्य गर्छौं ।”

यसरी गरिएको भाषणलाई गुल्मी दिगामका चन्द्रबहादुरको मृत्युले गिज्याइरहेको प्रतीत भयो ।

चन्द्रबहादुर परियार भारतको दिल्ली नोयडामा पुगेको र त्यहाँ दुई महिनासम्म काम नपाएर भौंतारिए । उनको वास्तविक अवस्था अनि काम नपाएपछि एक पेट भर्नकै निम्ति कति तड्पिनु पर्यो होला, सहजै अनुमान गर्न सकिन्छ । तर यहाँ शव्दमा व्यक्त गर्न निकै कठिन छ ।

विचरा ! चन्द्रबहादुर साहूको ऋणले आजित भएको एउटा परिवारका मुख्य मान्छे । साहुको ऋण तिरिन्छ कि भन्ने आशमा, परिवारलाई दुई छाक भरपेट खुवाउन सकिन्छ कि भन्ने आशमा थिए । चाडपर्वमा छोराछोरी बेखुसी नहोउन् भन्ने आशमा थिए । आफूले नपढे पनि छोराछोरीलाई दुई चार अक्षर पढाउन सकिन्छ कि भन्ने आशमा घरपरिवारलाई अभिभावकविहीन बनाएर मुग्लान जान्छन् । महिनौ काम पाउँदैनन् र निराश भएर कसैको सहयोगमा घरसम्म आइपुग्छन् । अनि विचराले घरको हालत देख्छन् । मुग्लान जाँदा भनेका कुराहरू सम्झिन्छन् । छोराछोरी बाबा आउनुभयो, के ल्याइदिनुभयो ? भनेर हात र खुट्टामा समातेर झुन्डिएको सम्झन्छन् ।

राजन पोखरेल

मुग्लान जाँदा बाटाखर्च भनेर प्रसस्त कमाएर फर्किन्छु भन्ने विश्वासमा श्रीमतीको कानको फुली बेचेको सम्झिन्छन् । अनि कुन मानसिकताले रित्तो हात त्यस्तो अवस्थामा घरमा सहज फर्कन सक्छन् होला ? यस्तो हालत भयो, चन्द्रबहादुर परियारको ।

घरबाट श्रीमतीसँग कहिलेकाहीँ फोन हुँदा चन्द्रबहादुरले भन्ने गरेको उनकी श्रीमतीले यसरी सम्झिन्छिन् – ‘राम्रै सञ्चै छु भन्नुहुन्थ्यो । दुई महिनादेखि कतै काम नपाएर मेरी बहिनी लक्ष्मीको कोठामा एक महिनासम्म बस्नु भएछ, उसैले भाडा खर्च दिएर आउनुभएको थियो रे, दिउँसो म गएकी थिएँ, धेरै बोल्नुभएन, साँझ म घर आएपछि त्यस्तो कुरा सुनें ।’

सधैं गरिबी, विवशता र बाध्यताले साहुको ऋणमा डुबेका चन्द्रबहादुर पनि विश्वव्यापी रूपमा आएको कोरोनाको मारमा परे । कमाइ पनि नभएको र त्यहाँ बसेर केही हुने आशा पनि नदेखेका उनी जेजस्तो होला होला भनी हिम्मत जुटाएर अर्कैले दिएको बाटाखर्चबाट गुल्मी जिल्लाको दिगामस्थित आफ्नो घर रहेको ठाउँसम्म आइपुगे ।

आइतबार बिहान गुल्मी आइपुगेका थिए । स्वयम् सेवकहररूले उनलाई स्कुलको क्वारेन्टाइनमा लगेर राखेका थिए । उनी सोही गाउँपालिका वडा नम्वर ४ दिगामका हुन् । विहान भारतको दिल्ली स्थित नोयडाबाट तीन दिनमा घर आएका आइपुगेका हुन् ।कोरोनाबाट बाँच्न भन्दै भारतबाट गाउँ आइपुगे चन्द्रबहादुर । तर, घरपरिवारसँग भेट्न नपाइ प्राण त्यागे ।

आज यी गुल्मी दिगामका चन्द्रबहादुर मात्रै होइन, बाँकेका हस्तबहादुर खोलामा हामफाल्न विवश हुन्छन् ! कञ्चनपुरका पुड्कबहादुर महाकालीमा ज्यानको बाजी राखेर फाल हाल्न बाध्य हुन्छन् ! सर्लाहीका हरिबहादुरले पटनाको रेलको लिगमा ज्यान गुमाउनुपरेको छ ! अर्घाखाँचीका श्यामप्रसाद दुबईमा काम गर्दागर्दै बेहोस भएर ज्यान गयो । मलेसियामा भेँडा चराउँदै गर्दा स्याङ्जाका पदमबहादुरलाई के भयो ? चार वर्षदेखि अत्तोपत्तो छैन ! यी केही प्रतिनिधि घटना हुन् ।

ए सरकार तिमी के गर्दै छौ ? कहाँ गए तिम्रा ती वाचाहरू ? तिम्रा चुनावी नारालाई कुन नदीले बगाइदियो ? जनता, श्रमिक, श्रमजीवी जनताको पक्षमा भनेर तिमीले घोक्रो फुल्लाइ फुल्लाइ घाँटी सुकुन्जेल चिच्याएर गरेका भाषणको प्रतिबिम्ब अहिलेसम्म पनि गाउँघरका पाखा पखेराहरूमा घन्किरहेको छ ।

जब धैर्यताको बाँध फुट्छ नि, जनताको शक्तिले तिमीलाई यसरी सत्तामा उघ्राएर बस्न त पक्कै नदेलान् नि त

हिँजो चुनावी भाषणमा के के भनियो भनियो भन्ने हो भने अर्कै कुरा, होइन भने यसमा तिम्रो केही जिम्मेवारी हुँदैन ? कि पुग्यो र सत्ताको संवाद ? जनताले तिम्रा काम, विचार र व्यवहारलाई पत्याएर दुईतिहाइ दिएर सत्तामा पुर्याए । के यही दिन देख्न र यसरी नै मर्न बाध्य हुनका निम्ति जनताले तिमीलाई सत्तामा पुर्याएका हुन् ?

खोइ ? कहाँ छन् श्रमजीवी जनताका श्रम मन्त्री ? तिनको नाम के हो ? काम के हो ? के मन्त्री भएर झण्डाबाल गाडीमा हात हल्लाउँदै बालुवाटार छिर्नु र भुँडी फुलाउनु मात्रै हो ? पिच बाटोमा पान खाँदा आएको थुकलाई पिच्च पिच्च पार्दै हिँड्ने मात्रै हो ? कि म्यानपावर कम्पनीका मालिकहरूसँग रात दिन बार्गेनिङमै व्यस्त हो ?

यी केही पनि होइनन् भने कुन दुलोभित्र पस्यौ कि तिमीलाई त्यहाँबाट निस्कनै गाह्रो भयो ? आफ्नै तलबबाट कट्टी भएको सामाजिक सुरक्षा भत्ताका नाममा जम्मा भएको रकम यो अवस्थामा दिन नसक्नेले के मुख देखाएर दैनिक ज्यालादारीमा वा विवश जनतालाई राहतको कुरा गर्दैछौ ?

सरकार तिमीलाई गाह्राे परेको छ; जनता बुझिरहेका छन् । कोरोना महामारी आयो; जनतालाई थाहा छ तर जनताले बुझेका छन् भनेर, जनता संयमित छन् भनेर, जनता बोलेनन् भनेर तिमी यति नालायक बन्न सुहाउँदैन सरकार ! जब धैर्यताको बाँध फुट्छ नि, जनताको शक्तिले तिमीलाई यसरी सत्तामा उघ्राएर बस्न त पक्कै नदेलान् नि त ।

जनताको मर्कालाई समयमै बुझ्ने कोसिस गर सरकार । कम्युनिस्टको नामको यो सरकारले जनपक्षीय काम पक्कै गर्नेछ भन्ने आम जनतालाई अहिलेसम्म भरोसा छदैछ । जनताको विवशता बुझ्ने गर ।

कोरोना महामारीले संकट सँगसँगै अवसर पनि लिएर आएको छ । विदेशबाट फर्किएका नेपालीलाई उचित काम देऊ । यतै कामको अवसर पाए भने अहिले विदेशबाट फर्किएका ६० प्रतिशत  जनतालाई नेपालमै रोक्न सकिने छ । अरू विदेश भएकालाई पनि देश फर्कन आह्वान गर । कृषि क्षेत्रलाई आत्मनिर्भर गराउन सकिने, श्रमिकलाई रोजगारी दिन सकिने क्षेत्रका रूपमा विकास गर ।

यो महामारीलाई अवसरको रूपमा उपयोग गर्न सक्ने हो भने सरकारको पनि हाइ हाइ हुने । हस्तबहादुर, पुड्कबहादुर, श्यामप्रसाद अनि चन्द्रबहादुरजस्ता नेपाली हाँसी खुसी नेपालमै बसेर परिवारका साथमा रोजगार हुन सक्नेछन् अनि आगामी पुस्तालाई सही मार्गमा दिशानिर्देश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment