Comments Add Comment

व्यवसायीको आक्रोशः व्यापार गर्न नदिने, कर तिर्न ताकेता गर्ने ?

पसल खोल्न पाउनुपर्ने माग गर्दै मंगलबार प्रदर्शनमा उत्रिएका व्यवसायी

२० जेठ, काठमाडौं । सरकारबाट घोषित लकडाउनको अनुशासनपूर्वक पालना गरिरहेका जनताको अब भने धैर्यको बाँध टुट्न थालेको छ । दैनिक काम गरेर जीवन धान्नुपर्नेहरु असैह्य भएर लकडाउन खुकुलो गर्न माग गर्दै सडकमा निस्किन थालेका छन् ।

बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् । सरकारले समयमा नै कर तिर्न ताकेता गरिसकेको तर व्यापार गर्न भने नदिएको उनीहरुको गुनासो छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले तत्कालै पसल खोल्ने वातावरण नबनाए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायी प्रदर्शनमा उत्रिए

महासंघका अध्यक्ष नरेश कटुवालले पहिलो चरणमा सरकारसँग सटर खुलाउन माग गरिने बताए । सरकारले आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनमा जाने उनको भनाइ छ ।

‘२ महिना भन्दा धेरै समय लकडाउन हुँदा हाम्रो रोजीरोटी नै गुमेको छ, तर सरकार कर माग्छ, घरबेटीले भाडा माग्छन्, बैंकले किस्ता तिर भन्छ’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘हाम्रो माग पुरा नगरे हामी आन्दोलनमा होमिने छौं ।’

वार्ता र संवादको माध्यमबाट व्यवसायीहरुको समस्या समाधान सरकारले गर्नुपर्ने उनले बताए । सरकारले माग पुरा नगरेमा व्यवसायीहरु तालाचावी लिएर सडकमा उत्रिन तयारी अवस्थामा रहेको उनले चेतावनी दिए ।

‘महामारीको बेला छ, सरकारले घोषणा गरेको लकडाउनको हामीले पूर्ण पालना गरेका छौं, तर सधै यसरी नै हुँदैन नि’ उनले भने, ‘पसल व्यवसाय सञ्चालन नहुने हो भने हामी त डूब्छौं डुब्छौं, मुलुकको अर्थतन्त्र नै धराशायी हुन्छ ।’

सरकारले बजेटमा व्यवसायीहरुका लागि केही सहुलियत प्याकेज ल्याउने अपेक्षा गरिएको भए पनि त्यो पुरा नभएको उनको भनाइ छ । बजेटले उद्योगी–व्यवसायीलाई राहत हुने किसिमको कार्यक्रमहरु ल्याएको भए धेरै तनाब नहुने कटवाल ताउँछन् ।

सरकारले मंगलबार बात्रै कर तिर्न ताकेता गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले पनि कमाएर राज्यलाई कर तिर्ने हो, कमाउन चाहिँ नदिने, अनि कर तत्कालै तिर भनेर ताकेता गने ठिक भएन ।’

यो पनि पढ्नुहोस जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता, नतिरेमा ब्याज र जरिवाना

अन्य देशहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाएर लकडाउन खोलिएको भन्दै नेपाल सरकारले पनि त्यसलाई अनुसरण गर्नु पर्ने उनले बताए । सरकारले अझै लामो समय पसल सञ्चालन गर्न नदिने भए राज्यले घरभाडा र बैंकको ब्याज तिरिदिनु पर्ने उनले माग गरे ।

व्यवसायीहरुका विभिन्न संघ, संगठनहरुले पनि पसल सञ्चालन गर्न दिनु पर्ने आवाज उठाएका छन् । बौद्ध व्यापार संघ, नेपाल व्यापार संघ, बानेश्वर व्यवसायी संघ, कोटेश्वर व्यवसायी संघ, खिचा पोखरी व्यापार संघ लगायतका आधा दर्जन बढी संघ संगठनहरुले पसल सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

बौद्ध व्यापार संघले पसल सञ्चालनका लागि सहजीकरण गरिदिन भन्दै काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । उता कोटेश्वर व्यवसायी संघले पनि महानगरलाई पसल सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

संघका अध्यक्ष सरोज थापाले व्यवसायीहरु घर न घाटको हुने अवस्था आउन लागेको कारण ज्ञापन पत्र बुझाइएको बताए । आफूहरु सुरक्षाको उच्च सतर्कता अपनाउन तयार रहेको उनले बताए ।

‘हामी हावाको भरमा होइन, आवश्यक सुरक्षा सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्छौ, सरकारले यसका लागि वातावरण मिलाइदिनु पर्यो’ संघका अध्यक्ष थापाले अनलाइनखबरसँग भने, ‘यहि बन्दाबन्दीको अवस्था हो भने त भोकै मर्ने चिन्ता भइसक्यो ।’

नेपाल व्यापार संघका महासचिव बैकुण्ठ दाहालले पनि सरकारले निश्चित मापदण्ड तोकिदिएर पसल खुलाउन दिनु पर्ने बताए । सँधै बन्दाबन्दी हुँदा राज्यले समेत ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment