
२० जेठ, काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ ।
रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
‘नेपाल प्रहरीभित्र महिला सेल छ । त्यसले महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सांसदरुले त्यस्तै खालको सेल स्थापना गरेर दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने बताएपछि समितिले सरकारलाई प्रहरीभित्र दलित सेल खोल्न भनेको हो’ समिति सभापति कृष्णभक्त पोखरेलले अनलाइनखबरसँग भने ।
यसैगरी समितिले श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन निर्देशन दिएको हो ।
‘दलितमाथि एक पटक होइन पटक पटक विभेद भएका छन् । श्रृङ्खलाविरुद्धका दलितमाथिका विभेद अन्त्य गर्ने गरी सरकारका तर्फबाट महाअभियान चलाइयोस्’ समितिको निर्णय सुनाउँदै सभापति पोखरेलले भने ।
मंगलबारको छलफलमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलगायत सहभागी थिए । तीनै जनाले निष्पक्ष छानबिन हुने बताएका छन् ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो । उनीसहित ५ जना साथीको शव भेरी नदीमा भेटिएको थियो भने एक जनाको अझै हराइरहेको छ ।
घटनामा १२ जना घाइते भएका छन् । संसदीय समितिले घाइतेको निशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै राजनीतिक वा कुनै पनि प्रभावमा नपरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको हो ।
प्रतिक्रिया 4