Comments Add Comment

कर बुझाउने ताकेता गैरजिम्मेवारीपनको पराकाष्ठा : कांग्रेस

२१ जेठ, काठमाडौं । लकडाउनको समय अवधिभित्रै कर बुझाउन भनेर सरकारले जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ । कांग्रेसले यस्तो निर्णय सच्याउन मागसमेत गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । …सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा हो ।’

सरकार लकडाउनको अवधिमा पनि जनतालाई आतंकित गर्ने कार्य गर्दै आइरहेको भन्दै कांग्रेसले भनेको छ, ‘सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।’

विज्ञप्तिमा लेखिएको छ, ‘कोरोना रोगको कारण बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment