Comments Add Comment

क्वारेन्टिनमा बसेकाहरुमाथि क्याम्पस प्रमुखले गरे दुर्व्यवहार

२१ जेठ, सुर्खेत । सुर्खेतमा एक क्याम्पस प्रमुखले मादक पदार्थ सेवन गरी क्याम्पसमा बनाइएको क्वारेन्टिनस्थलमा बस्नेहरुमाथि दुर्व्यवहार गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी र समाजशास्त्र केन्द्रीय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतले क्वारेन्टिनमा बस्नेहरुमाथि अपशब्द बोलेको भिडियो सार्वजानिक भएको छ ।

विश्वविद्यालय भवनमा वीरेन्द्रनगर नगरपालिकाले तीन सय ५० बेडको क्वारेन्टिन निर्माण गरेको छ । गत जेठ १३ गते राति नगरपालिकाले भारतबाट आएका ८६ जनालाई सोही क्याम्पसको क्वारेन्टिनमा राखेको थियो । सोही राति झण्डै दश बजे खाना खुवाउने जिम्मा पाएको होटल अशोकाका कर्मचारीसंग क्याम्पस प्रमुख बस्नेत पनि क्वारेन्टिनस्थल पुगेका थिए ।

खानामात्रै दिएपछि क्वारेन्टिनमा बसेकाहरुले पानी मागेका थिए । त्यसपछि क्याम्पस प्रमुख बस्नेतले ‘तेरो सरकारले यतिनै व्यवस्था गरेको छ । जे छ त्यही खा’ भन्दै अश्लील शब्द बोलेको भिडियोमा सुनिन्छ । क्वारेन्टिनमा बस्नेहरुले बस्नेतले मादक पदार्थ सेवन गरेर आएको बताएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले भने यस घटनाबारे विश्वविद्यालयले लिखित स्पष्टिकरण सोधेको बताएका छन । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भीसीदेखि पिउनसम्मले विश्वविद्यालयको कानून र नियमावली अनुसार आफनो पदीय मर्यादा कायम नगरे कानूनको दायरामा आउँछन्’ उनले भने ।

उनका अनुसार क्याम्पस प्रमुख बस्नेतले घटनाबारेमा लिखित जवाफ पनि दिएका छन् । ‘सम्बन्धित पक्षले पनि कमी कमजोरी भएको र एक पटकको लागि सुध्रिने मौका दिन लिखित जवाफ आइसकेकोले अब हामी उहाँको व्यवहार र परिवर्तन हुन्छ कि हुँदैन हेर्छौ’ उपकुलपति सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment