
२१ जेठ, काठमाडौं । सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिन नाडा अटो मोवाइल्स डिलर्स एशोसिएसनले माग गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार पार्ने मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न नाडाले माग गरेको हो ।
नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १० प्रतिशत डाउन पेमेन्टमा कर्जा दिने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमै गर्नु पर्ने बताए ।
‘आगामी आर्थिक वर्षका लागि कस्तौ मौद्रिक नीति आउनु पर्छ, नाडाको के छ सुझाव ?’ भन्ने अलनलाइनखबरको जिज्ञासामा अध्यक्ष दुलालले भने, ‘हाम्रो मूख्य माग भनेको डाउन पेमेन्ट घटाउनु पर्छ अनि जति पनि अटो सेक्टरको लोन छ त्यसको ब्याज घटाउनु परो ।’ उनले अटो क्षेत्रमा लगानी भएको ऋणको किस्ता तिर्ने समयावधी थप गर्नु पर्ने समेत बताए ।
लकडाउनका कारण व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै उनले सहज हुने व्यवस्था गर्न माग गरे । मौद्रिक नीति कस्तो आउनु पर्छ भन्ने विषयमा एशोसिएसनले छलफल गरेर राष्ट्र बैंकलाई सुझाव दिने समेत उनले बताए ।
केहि वर्ष पहिले पनि बैंकहरुले १० प्रतिशत डाउन पेमेन्टमा सवारी साधन कर्जा लगानी गर्ने गरेका थिए । पछि अटो क्षेत्रलाई अनुत्पादनशील क्षेत्रको रुपमा वर्गीकरण गरेर राष्ट्र बैंकले कर्जा लगानीमा कडाई गरेको थियो ।
अहिले सवारी साधनमा प्रवाहित हुने कर्जाको ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने व्यवस्था छ । अर्थात, ५० प्रतिशत नगद तिरे ५० प्रतिशत सवारी साधन कर्जा पाइनेछ । यो व्यवस्था भने इन्धनबाट चल्ने सवारी साधनहरुको हकमा मात्रै हो ।
व्दिुतिय सवारी साधनहरुमा भने ८० प्रतिशतसम्म बैंकहरुल्े लगानी गर्ने गरेका छन् । अर्थात, विद्युतिय सवारी साधन खरिदका लागि २० प्रतिशत रकममात्रै बुझाएर बाँकी कर्जामा लिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया 4