Comments Add Comment

आउनुहोस् सत्यको पक्षमा बोलौं

आखिर विचार राजनीति र दर्शनमा समाज विज्ञानको मुख्य पुँजी भनेको मान्छे हो । मान्छेहरुले अर्जुन सरलाई बाँचुन्जेल मानसिक रोगी भन्दै मजाक उडाएर मरेपछि धेरैले नशा रोगी बनाएर महिमा गाए, त्यो चरित्रका राजनीतिशास्त्रको एक सामान्य शल्यक्रिया गर्ने यो बसाईमा जर्मको गर्दैछु ।

पछिल्लोपटक जनयुद्धको राजधानी रोल्पातिरबाट एक पूर्व छापामार कमरेड रेशम जो  जनयुद्धकालमा विप्लवका सहयोगी थिए, उनको आत्महत्याको समाचार १८ जेठ २०७७ मा आयो ।

चीनी जनक्रान्तिमा छनछाङ फङले लङ मार्चमा माओको सहयोगी बनेर दुनियाँलाई माओ र लङमार्च पढाउने कृति दिए लामो अभियानमा अध्यक्ष माओसँग भन्ने । हाम्रो देशमा चाँही किन घाँटीमा पासो लगाए होला, तिनको उनको क्रान्तिमा जीवनको आशा नदेखेर ? त्यो संश्लेशण–विश्लेषण गर्ने जिम्मा बौद्धिक ठेकेदारहरुलाई दिउँ ।

झापा विद्रोहका योद्धा डेकेन्द्र राजवंशीले २०६७ बैशाख ६ गते एमाले मुख्यालय बल्खुमा पासो लगाएर आत्महत्या गरे । बाबुको शोक र आत्महत्याको पिडामा बेरोजगारीको तनाव थपिएको छोरोले चार महिनापछि आत्महत्या गरेका थिए ।

घटना जनसेनाको ब्यारेकहरुभित्रै पनि देखिएको थियो । अम्बिका पुडासैनीलाई बा आमाले बालविवाह गरिदिए । उनले स्वीकार गरिनन् र परिवारबाट अलग भइन् । भुमिगत पार्टीको गाउँ कमिटीमा कमरेड मनिषा भएर उनको पुनर्जन्म भयो । त्यसपछि छापामार बनेकी मनिषालाई मैले संविधानसभापछि भेटेको थिएँ । जनयुद्धको यात्रामा उनले जनवादी बिहे गरिन् । त्यो प्रेम परिवारलाई पचेन, खटपट सुरु भयो ।

पहिला उनका श्रीमान कमरेडले आत्महत्या गरे । केही महिनापछि गर्भमा भएको प्रेमको उपहार लिएर छापामार दिदिले ब्यारेकमा पासो लगाएको खबर सुनियो ।

कतिपयको तर्क छ, जनयुद्ध नभएको भए पनि यी र यस्तै खबरमा समेटिने थिए । तर, भौतिकवादले परिस्थतिले निमार्ण गरेको चेतनाको मान्यताभित्र हामीले नियाँल्न सक्नपर्छ ।

माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारलाई लिएर धेरै धाए । राजनीतिमा जसरी बामदेवपथको एमाले जवजमा साहरा लिए, त्यसैगरी श्रीमतीलाई लिएर रामदेवसम्म पुगे । बुढेसकालमा विबाह वर्षगाँठ मनाए । त्यो बिवाहलाई उपचारको विधिमा ब्याख्या भयो । तीमध्येका धेरै भक्तजनमा मनोविचलन सुरु भइसकेको ठम्याउन सकिन्छ ।

जसरी रसाइन विज्ञानमा तत्व, अणु र जौविक विज्ञानका मानकलाई जीवाणुले निधारर्ण गर्छ । हरेक मान्छेको जिन्दगीमा उसको अठोट र विचार दृष्टिकोणका निर्माणले मात्रै राजनीतिप्रतिको आस्था जागेको हुन्छ । मान्छेको जिन्दगीका पाटाहरुको समीक्षा भौतिक जीवन रहँदैमा गर्ने सके मान्छेमा सुधार हुने सम्भावना जस्तै थप बिग्रने सम्भावना पनि हुन्छ ।

ख्यातिप्राप्त मनोपरार्मश प्रशिक्षक नरबहादुर कार्की लेख्छन्, पूर्वसुप्रीमो प्रचण्ड बाबुराम, बादल लगायतहरुले दिएको मनोसामाजिक र बैचारिक ट्रमाका कारण क्रान्तिकारीहरुको आत्महत्या दीर्घरोगका नमुना हुन् । हरेक चिजमा कारण नतिजा ऐतिहासिक सन्दर्भ जोडिने क्रान्तिकारी प्रिन्सिपललाई अवसान पूर्वजन्मको पाप लाग्छ वा आफूले दिएको धोकाको मानसिक संकट ठान्छन्, सुन्न बाँकी छ ।

नेपालमा ठूलाहरुदेखि जनताले भोगेको दीर्घरोग र डिप्रेसनको यस्ता कथाबारे बोल्न नसकेपछि अनेक तमासाहरु देखिएछन् । त्यो भैसीपुजादेखी बुढेसकालमा बच्चाले गरेको बिहेको भाँडकुटी खेलाइजस्तो बिबाह महोत्सव त्यसैको कडी हो । छिमेकी भारतमा नक्सली बिद्रोहको अवसानपछि क्रान्तिकारी जमातमा धेरै ठूलो विचलन भयो । उच्च नेताहरु नै डिप्रेसनका कारण आत्महत्या गर्ने तहमा पुगे ।

यो महापतनले समाजमा के भयो हो भन्ने दिव्यज्ञान पलाउला कि आफै आत्महत्या गर्लान् ? प्रायः नेताहरु रक्सी नखाई निद्रा नलाग्ने छन् । एक पेगसम्म प्रचण्डपथ, दुई पेगपछि आफ्नै पथ भन्ने पुराना उदाहरण अहिले पनि गौंडागौंडामा छन् ।

राजनीतिमा कुन्ठा, आग्रह, पूर्वाग्रह, संकीर्णता सबै मनोरोगका उपज हुन् । असन्तुिष्ट र भयको त्रासले समाजलाई गाँजेको छ । सपनाहरु बाचा कबुलका उधारो आश्वानले हैरान छन् । नेताहरुले त जवाफ नदिए पनि हुन्छ तर कार्यकर्ताले परिवार, छिमेक, समाजलाई जवाफ दिनुपर्छ । यसले संकट जन्माउँछ । कि पलायन, कि विचलन कि आत्मसमर्पणको दिशा जन्माउँछ । राजनीतिक बसाइँ सराईं वा सामाजिक विस्थापन पनि हुन्छ । लाभको पदमा नपुगेका धेरै अनुहार हाम्रा साक्षी छन् ।

यो रहस्यवादको तन्तु हो वा भौतिकवादभित्रको नियोजित घटना ? महापतनको एकएक जीवन कथा बोकेर बाँचेका क्रान्तिकारीहरुको बथान छ समाजमा । तिनीहरुले गर्ने आत्महत्यामा श्रद्धाञ्जली लेखेर बस्ने मन नभएर यो बहस थालिएको हो आज ।

कम्युनिस्टहरुले नयाँ स्कुलिङको माग गरेको छ, आजको आन्दोलन र यो समाजले । उहिले प्रजा मोटा भया दरबार बलियो हुन्या भन्थे । आज कार्यकर्ता रोगी भए क्रान्ति बलियो हुन्छ भन्छन् कामरेडहरु । आर्दश नेताका सन्तानमा कि त राजनीतिप्रति वितृष्णा जब्बर छ, कि त ज्ञानेन्द्रका उत्तराधिकारी पारसजस्तै चरित्रका छन् ।

आशावाद जगाउन त सामाजिक सिद्धान्त र कम्युनिष्टहरुको बेमेल खोतल्न जरुरी छ पहिला । संस्कार र नैतिकता सिकाउनेको चरित्र नियाल्नुपर्छ । मोहनविक्रम सिंह नै छन् उदाहरण । नालायकहरु नायक बन्छन् भने न्याय र क्रान्तिको कुरा गर्नेहरु त्यो समाजमा पागल नै हुन्छन् । कवि भुपिशेरचनले कवितामा भने झै छ परिवेश ।

इयर फोन लगाउनुपर्ने …हरु

संगीत प्रतियोगिताका जज छन् ।

वैशाखी टेकेर हिँडनेहरु

दौड प्रतियोगितामा प्रथम हुन्छन् ।

हुनतः १२ वर्ष क्रान्तिकारी छापामारको सर्वोच्च कमाण्डर १२ वर्ष संसदवादी राजनेता । ६ महिना राष्ट्रवादी नायक ६ महिना राष्ट्रघाती खलनायकको रुपमा मानेर फरक–फरक चरित्रको पूजा गर्नेहरुमा मानसिक विचलन नभएको भन्न मिल्दैन । यस्ता चरित्रका नेता र कार्यकर्ता दलैपिच्छे छन् । मान्नुस्, यो पनि पोलिटिकल मास डिप्रेसन नै हो ।

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका उपप्रध्यापक मनोचिकित्सक डा. मधुर बस्नेतको ठहर छ विचार बोक्ने र विचार अनुसारको व्यवहार गर्नु धेरै फरक छ । यो भनी टोपल्नेहरुको मात्रै होइन, विश्वको आम चरित्र हो । विचार र व्यवहारवीचको विरोधाभाषा एक मुख्य कारण हो ।

बस्नेतको ठहरलाई राजनीतिको नापोमा जाच्ने हो भने आज न त कांगेसजस्तो कांग्रेस भेटिन्छ, न त कम्युनिस्ट जस्तो कम्युनिष्ट । दुनियाँले रटाइने र पल्टाइने ठेलीमा नभेटिएको यो तथ्य नेपालमा भेट्न सकिन्छ ।

राजनीतिभित्रको चित्र नियाल्दै प्राध्यापक रामेश्वर अधिकारी सामाजिक सञ्जालमा लेख्नुहुन्छ यो देशमा धेरै छन् अर्जुनसरहरु अब अर्जुन भण्डारी फाउन्डेशन, प्रतिष्ठान बनाउनेहरु निस्कन सक्छन् । राजनीति र स्वार्थको प्रयोजनका यस्ता सयौं प्रतिष्ठान छन् । राष्ट्रिय प्रभाव भएका नेताको त नाम बिक्ला, अरुचाहिँ प्रायः छोराछोरीले बोकेका छन् ।

सामाजिक सञ्जालमा मञ्जु बस्नेतको आँशुको प्रतिक्रिया थियो । यथार्थबोध हुनेलाई त्यसभित्रको वास्तविक मर्मले मुटु चुँडाउने क्रन्दनको वातावरण बनाइदिन्छ । साँच्चै हो, सत्य लेख्दा कसैको मन छुन्छ, कोही रुन्छ, कतिले लाजले मुख थुन्छन् । तर, बसन्त भेटवालकै शब्द सापटी लिएर भन्ने हो भने सत्य स्थापित गर्नु क्रान्ति हो ।

त्यसैले आउनुहोस्, सत्य र न्यायको पक्षमा बोलौं । अरु तथाकथित क्रान्ति चाहिएन । रुपचन्द्र बिष्ट भन्छन्, हामी कसैको होइनौं, कोही हाम्रो होइन, हामी सत्य र न्यायका हौं । सत्य र न्याय हाम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment