Comments Add Comment

फेरि डेढ लाख थान आरडीटी किट किन्ने स्वास्थ्य मन्त्रालयको तयारी

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान र्‍यापिड डाइग्नोस्टिक टेष्ट किट (आरडीटी) खरिद गर्ने निर्णय गरेको छ ।

मन्त्रालय अन्तरगर्तको कोभिड – १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले कोभिड -१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ । त्यो भन्दा अघि पनि मन्त्रालयले अर्को १ लाख २५ हजार थान आरडिटी किट खरिद गरेको थियो । त्यसअघि ओम्नी कम्पनीले ७५ हजार थान किट किनेर ल्याएको थियो ।

जनस्वास्थ्य वैज्ञानिकहरुले संक्रमण भएको छ या छैन भन्नलाई आरडीटी विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन् । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले पनि आरडीटीको प्रयोग घातक हुने भन्दै अध्यन प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ ।

मन्त्रालयका अधिकारीहरुले भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिरहेको र क्वारेन्टाइनमा ठूलो संख्यामा रहेको अवस्थामा १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी विधिबाटै परीक्षण गरेर घर पठाउने योजनाका साथ किट आवश्यक रहेको बताउने गरेका छन् । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘ अब भारतबाट नेपाल छिर्ने सबैलाई पीसीआर गर्न सम्भव हुदैन, सोही कारण आरडीटी खरिद गर्न निर्णय गरेका हौ।’

उनका अनुसार अब संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका र लक्षण देखिएकालाई मात्र पीसीआर विधिको परीक्षण गर्ने गरी मन्त्रालयले प्रोटोकल बनाउदैछ । क्वारेण्टिन बसेका सबैलाई १४ दिनपछि आरडीटी टेस्ट भने गरिनेछ । मन्त्रालयका ती अधिकारीले भने, ‘आरडीटी गर्दा एण्टीबडी देखायो भने पीसीआर गर्छौ नत्र त्यत्तिकै घर पठाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment