Comments Add Comment

बालबच्चालाई जंकफुड, ‘अब त हुन्न भनौं’

अहिले धेरै अभिभावकले झेल्नु नपरेको एउटा कुरा हो, बालबच्चाले गर्ने जंकफुडको माग । लकडाउनको कारण घरभित्रै बस्नु परेपछि बालबच्चालाई जंकफुडको लतबाट मुक्त गर्ने राम्रो बाहाना पनि मिलेको छ । जब जब उनीहरु जंकफुड खाने इच्छा गर्छन्, बजारको समस्या देखाएर अभिभावकले उनीहरुको माग टार्न सक्छन् । त्यसो त आफ्नै भान्सामा मीठो मसिनो पकाएर पनि ख्वाउने गरेका छन् । यसले गर्दा उनीहरुलाई बजारको खानेकुरा खासगरी चाउचाउ, चिप्स, कुरकुरे, चकलेट, विस्कुट, केक आदिको तलतल लाग्दैन । आफ्नै भान्सामा पाकेको खानेकुरामा उनीहरुको स्वाद बस्छ ।

सहज अनुमान गर्न सकिन्छ, कोरोनाको सन्त्रास बढ्नु अघिसम्म वा लकडाउन अघिसम्म बालबच्चाहरुले जति जंकफुडको सेवन गरिरहेका थिए, त्यो अत्याधिक मात्रामा घटेको छ । अहिले अधिकांश बालबच्चा जंकफुडबाट अलग भएका छन् । यदि लकडाउन नभइदिएको भए यो स्थिति आउने थिएन । त्यसैले अभिभावकले यसलाई सकारात्मक परिवर्तनको रुपमा लिन सक्छन् र आफ्ना बालबच्चालाई सधैका लागि जंकफूडबाट मुक्त गराउने अवसरमा बदल्न सक्छन् ।

बाल स्वास्थ्यका लागि जंकफूड टाउको दुखाइको विषय बन्दै आएको थियो । यसले अभिभावकको खल्ती रित्याउने मात्र होइन, बालबच्चाको स्वास्थ्यमा गंभिर समस्या समेत निम्त्याइरहेको थियो । किनभने,

–जंकफुड आफैमा ताजा, पोषिलो र सन्तुलित भोजन होइन ।

–जंकफुडमा कृतिम रंग, चिनी, चिल्लो पदार्थ, सोडियम आदि मिसाइएको हुन्छ, जो मोटोपनदेखि अनेक रोगको कारण बन्छ ।

–जंकफुडले पेट भरेपछि बालबच्चाहरुले अरु पोषिलो खानेकुरा खाँदैनन् । यसले उनीहरुमा पोषणको अभाव हुन्छ ।

पछिल्लो समय बालबच्चामा मोटोपनको समस्या हुनु, विभिन्न रोग लाग्नुमा पनि प्रत्यक्ष÷परोक्ष जंकफुडकै कारण थियो । जबकी हेर्दा रहरलाग्दो, खाउँ–खाउँ लाग्ने जंकफुडले बालबच्चालाई यसरी लोभ्याइरहेको थियो, त्यो नै उनीहरुको मूख्य खान्की हो । बालबच्चाले घरको खाना छाडेर जंकफुड मात्र खान रुचाउँथे । कतिसम्म भने, विद्यालयको नास्तामा समेत उनीहरुलाई चाउचाउ, चिप्स, कुरकुरे, विस्कुट आदि चाहिन्थ्यो ।

लकडाउनको कारण दुई महिना भन्दा बढी घरमै आमाबुवासँग बसिरहेका बालबच्चालाई जंकफुडको लतबाट छुटाउने राम्रो मौका आएको छ । यतिबेला घरमै मीठो मसिनो परिकार बनाएर उनीहरुलाई जंकफुडको तलतलबाट मुक्त गराउन सकिन्छ ।

अक्सर बच्चाले बाहिरको खानेकुरा यसकारण माग्छन् कि जब उनीहरुलाई केही खाने तलतल जाग्छ । भोक लागेपछि वा कुनै खानेकुरा देखेपछि मात्र उनीहरुको आशक्ति त्यसतर्फ बढ्छ । त्यसैले बालबच्चालाई भोक लाग्ने स्थिति आउन दिनु हुँदैन । समय तालिका मिलाएर केही न केही खानेकुरा दिइरहनुपर्छ । पेट भरिएको अवस्थामा उनीहरुले अतिरिक्त खानेकुरातर्फ ध्यान नै दिदैनन् । अर्थात उनीहरुको ध्यान जाँदैन । खेल्न, पढ्नमै केन्द्रित हुन्छ ।

त्यसैले बालबच्चाका लागि घरमै खानेकुरा बनाएर राखिदिने र समय मिलाएर दिने गर्न सकिन्छ । यसरी खानेकुराको सन्तुलन पनि मिलाउन सकिन्छ ।

जस्तो भुटेको मकै, भटमास, उसिनेको आलु, फापरको रोटी, गाँजरको हलुवा, गहुँ–जौको सातु, कागती–महको सर्वत, दहीको लस्सी, मोही, ताजा जुस आदिमा उनीहरुलाई लोभ्याउन सकिन्छ । रोटी, केक, मिठाई, मम आदि घरमै बनाएर दिन सकिन्छ । एकै थरी खानकुरालाई विभिन्न परिकार बनाएर दिन सकिन्छ । जस्तो, एक पटक उसिनेको अण्डा दिइयो भने अर्को पटक अमलेट बनाएर । कहिले आलु दम त कहिले आलु फ्राई । कहिले भुटेको मकै त कहिले मकैको सातु । यसरी खानेकुरामा विविधता ल्याउन सकेमा पनि बालबच्चाले रुचाउँछन् ।

बालबच्चा आकर्षक खानेकुरामा लोभिन्छन् । त्यसैले कतिपय परिकार बनाउँदा त्यसलाई आकर्षक बनाउने वा प्लेटमा आकर्षक ढंगले सजाएर दिन सकिन्छ ।

यस्तो खानापानमा अभ्यस्त भएपछि जंकफुडको लतबाट मुक्त हुने मात्र होइन, ताजा र पोषिलो खानेकुरा समेत प्राप्त गर्छन् ।

जंकफुडबाट मुक्त गर्ने केही काइदा छन् ।

–यदि बच्चा सानै छ र जंकफुडमा बानी परेको छैन भने कुनै हालतमा जंकफुड दिने नगरौं ।

–जंकफुडका बानी परेकाहरुलाई त्यसको लतबाट छुटाउन घरमै मीठोमसिनो खानेकुरा बनाएर लोभ्याउन सकिन्छ ।

–खाने तालिका निश्चित गरौं र सोही अनुसार खानेकुरा दिने गरौं । यसरी निश्चित तालिका अनुसार खाने बानी भएपछि अतिरिक्त खानेकुराको तलतल लाग्दैन ।

–खानेकुरा तयार गर्दा उनीहरुलाई पनि सहभागी गराऔं । उनीहरु आफैले तयार गरेको खानेकुरा खान उत्सुक हुन्छन् ।

–घरमै पाक्ने खानेकुरालाई नयाँ नयाँ स्वाद र शैलीमा तयार गरेर पनि उनीहरुलाई घरकै खानामा अभ्यस्त बनाउन सकिन्छ ।

–सलाद, सागपात खान प्रेरित गरौं ।

–सलाद वा सागपात खान मन नगरेमा पर्याप्त फलफूल ख्वाउने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment