Comments Add Comment

सुर्खेतमा कोरोना संक्रमणबाट युवकको मृत्यु : आरडीटीले दुई पटक झुक्यायो

२३ जेठ, काठमाडौं । रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो ।

विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट नेगेभिट आयो । त्यसपछि ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्ने छु’ भन्ने फारम भरेर २१ गते घर जान पाए ।

क्वारेन्टिन स्थलबाट केही घण्टाको दुरीमा रहेको घर उनी हिँडेर गए । त्यही रात २ बजे उनको मृत्यु भयो ।

बिहीबार स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेत पठाउँदा उनमा कोरोना संक्रमण पुष्टि भयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयकास्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी भन्छन्, ‘टाइम अफ इन्फेक्सनमा हामी पनि द्विविधामा छौं ।’

भारतबाट संक्रमित भएर आएको भए आरडीटी पोजेटिभ आउनुपर्ने उनको तर्क छ । तर १४ दिन क्वारेन्टिन बसेपछि गरिएको आरडीटी टेष्टको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

ती युवकमा कोरोना संक्रमणको लक्षण पनि थिएन । ‘खोकी मात्र लागेको भए हामीले रोक्थ्यौं, तर केही नै थिएन’ डा. तिवारी भन्छन्, ‘तर मृत्युपछि पीसीआर (विधिको परीक्षणको नतिजा) पनि पोजेटिभ आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन र पोस्टमार्टम गर्न सक्ने अवस्था पनि नभएकाले मृत्युको कारण कोरोना नै भनेका छौं ।’

तिवारी अघि भन्छन्, ‘उहाँको मृत्यु भयो, यो दुखद छ । सँगै यसले हामीलाई आरडीटी टेष्टबारे सोच्न बाध्य बनाएको छ । यसबारे हामी छलफल पनि गरिरहेका छौं ।’

महामारीको अवस्था आइसक्यो

कर्णाली सरकारको तथ्यांकअनुसार प्रदेशका क्वारेन्टिनहरुमा ३२ हजार भन्दा धेरै मानिस छन् । अधिकांश क्वारेन्टिनस्थल मापदण्डअनुसार छैनन् भने समयमा परीक्षण हुन पाएको छैन । क्वारेन्टिन भरिएपछि १० दिन वा सोभन्दा बढी समय बसेकालाई आरडीटी टेष्ट गर्ने र होम क्वारेन्टिनमा पठाउन थालिएको छ ।

तर सुर्खेतका युवकको मृत्युले आडीटीमाथि फेरि प्रश्न उठाएको छ । डा. तिवारी भन्छन्, हामी विज्ञहरुले कहिल्यै पनि आरडीटीलाई प्रमोट गरेका छैनौं । तर कम्युनिटी लिडरहरुमा आरडीटी नेगेटिभ आएपछि ढुक्क हुन्छ भन्ने बुझाइ छ ।’

अघि भने, ‘हाम्रो पनि एउटा थ्रेसहोल्ड (सीमा) हुन्छ, त्यो हामीले नाघिसक्यौं । महामारी भनेकै यही हो । तै पनि सकेसम्म म्यानेज गर्ने प्रयास गरिरहेका छौं ।’

उनकाअनुसार क्वारेन्टिनमा धेरै मानिस भएको स्थानीय तहहरुलाई ५०/५० बेडको आइसोलेसन बनाउने भनिएको छ ।

स्वास्थ्यकर्मी पठाउन थालिएको छ । साथै आरडीटी नगर्न पाए हुन्थ्यो भन्ने लागेकाले पीसीआर टेष्ट बढाउन आरएनए एक्स्ट्रक्सन मेसिन लिन लागिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. तिवारीले बताए । भन्छन्, आरएनए एक्स्ट्रक्सन अहिले म्यानुअल गरिरहेका छौं । मेसिनले दिनमा १००० वटा आरएनए एक्स्ट्रक्सन दियो भने टेष्टको गति निकै बढाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment