+
+
Shares

नारायणदिल साधु, जसले जीवनभर औषधीय गुणको बोट-बिरुवा रोपे

मिनेन्द्र अगुवा लिम्बु मिनेन्द्र अगुवा लिम्बु
२०७७ जेठ २३ गते १३:४८

साधु भन्नासाथ तपाईंको दिमागमा खरानी घसेर हिँड्ने वैरागीको झल्को आउन सक्छ । तर यहाँ चर्चा गर्न लागिएका साधु आफैँमा एक साधक त हुन् नै त्योभन्दा बढी प्रकृतिका संरक्षक पनि । इलाम, माईपोखरीमा कुटी बनाएर बसेका ती साधुले भक्तिभजनमा भन्दा बढी समय रुख-बिरुवा रोप्नमा लगाए ।

जसै उनी साधुको भेषमा कुटीका बस्न पुगे, उनको दैनिक काम नै रुख-बिरुवा रोप्ने र हुर्काउने भयो। विभिन्न स्थानमा गएर विरुवा ल्याउने र माईपोखरीमा लगाउने । खासगरी औषधीय महत्वका वनस्पतिहरू। कतिसम्म भने पैदल हिँड्दै नेपालको सीमा पार गरेर दार्जिलिङ पुगेर नर्सरीबाट बिरुवा ल्याएर माईपोखरीमा रोप्ने काम गरे। उनकी धर्मपत्नी निर्मलामाई साधु त्यसबेलाको प्रसंग यसरी सुनाउँथे, ‘तइपोखरीबाट हिँड्दै दार्जिलिङ पुग्न दुई/तीन दिन लाग्थ्यो । बा सातु सामल बोकेर दार्जिलिङ गए । नर्सरीबाट धेरै थरीका बिरुवा मागेछन् । तर त्यसरी बिरुवा ल्याउन नपाइने भएकाले कोक्रोमा हालेर आफ्नो नानी हो भन्दै रातारात बिरुवा ल्याएर माईपोखरीमा आउनुभयो ।’ यसरी उनले दुःखजिलो गरेर माईपोखरीमा बिरुवा ल्याउने, रोप्ने र हराभरा बनाउने काम गरे ।

हराभरा माईपोखरी

तपाईं धार्मिक आस्था राख्नुहुन्छ, तपाईं पर्यावरणबारे चासो राख्नुहुन्छ, तपाईं प्रकृतिसँग रमाउनुहुन्छ, तपाईं, भूगर्भको खोज गर्नुहुन्छ, तपाईं जैविक विविधताको अध्ययन गर्नुहुन्छ भने तपाईंका लागि एउटै गन्तव्य हुन सक्छ, माईपोखरी ।

इलामको उत्तरी भेगमा अवस्थित माईपोखरी खासमा पत्रे चट्टानको पहाडमाथि थपक्क फैलिएको आकर्षक जलाशय हो । त्यहाँ तपाईं मानसिक शान्तिका खातिर पूजाआजा गर्नुहुन्छ वा मनको उत्सुकता मेट्न वनस्पति र जीवको खोजी गर्नुहुन्छ ? रोजाइ तपाईंको । माईपोखरी आफैँमा तपाईंको निम्ति खुला ज्ञान भण्डार हुन सक्छ ।

रामसार सूचीमा सूचीकृत माईपोखरी थरीथरीका पशुपन्छी, किराफट्यांग्रादेखि दुलर्भ वनस्पतिसम्मले विचरण गर्ने साझा थलो हो। जलाशयको आसपासमा कटुस, धुपी सल्ला आदिको घना जंगल देख्न सकिन्छ । अझ मिहीन ढंगले खोज्ने हो भने त्यही जंगलभित्र अनेकन थरीका वनस्पति भेटिन्छन्, जो औषधीय गुणले भरिपूर्ण छन् ।

माईपोखरीलाई यसरी हराभरा बनाउने काम एउटै व्यक्तिले गरे, नारायणदिल साधुले ।

कारागारमा भए साधु

खासमा उनको नाम नरबहादुर मुखिया । हक्की स्वभावका, बलियो र अन्यायको विरुद्ध जुध्ने उनी सामाजिक न्यायकै पक्षमा लड्दालड्दै जेल परे । उनलाई वीरगञ्ज काराकारमा सरुवा गरियो । सोही कारागारमा उनको भेट भयो, लयदिल साधुसँग ।

लयदिल साधु शन्त ज्ञानदिलदास साधुका शिष्य थिए । काराकारमा नरबहादुर मुखियालाई उनैले धार्मिक शिक्षा दिए । कैद भुक्तान गरेर कारागारबाट निस्किँदा नरबहादुर मुखिया नारायणदिल साधुमा रुपान्तरण भइसकेका थिए ।

कारागारबाट घर फर्किएपछि उनी माईपोखरीमा कुटी बनाएर बस्न थाले, आफ्नी जीवनसँगी नीमलमाई साधुसँगै । यो २००७ सालको कुरा हो ।  जोसमुनि धर्म समुदायका उनले आफ्नो कुटीसँगै शिव मन्दिर बनाए । सम्पूर्ण भोगविलास त्यागेर दुवै साधु दम्पती त्यही कुटीमा जीवन गुजार्न थाले ।

बोट बिरुवा रोप्ने साधु

तर उनीहरूले त्यहाँ भक्तिभजन मात्र गरेर बसेनन् । बरु माईपोखरीमा नयाँ-नयाँ बोट बिरुवा लगाउने, स्याहारसुसार गर्ने, गोडमेल गर्ने, हुर्काउने काम गरे । माईपोखरीमा कुटी बनाएर बसे पनि वा साँझ-बिहान पूजापाठमा लीन भए पनि बाँकी समय उनीहरू बोट बिरुवा लगाउनमै तल्लीन भए । अर्थात उनीहरूको दैनिकी नै विभिन्न वनजंगल वा नर्सरी चहारेर बिरुवा ल्याउने, माईपोखरी आसपासमा रोप्ने, गोडमेल गर्ने, बाटो, धारो, चौतारो बनाउने काममा बित्न थाल्यो ।

नारायणदिल साधु बाजेले दार्जिलिङ, सुकिया र सन्दकपुर क्षेत्रबाट धुपीसल्ला, लोठसल्ला , चाँप, लालीगुराँस र अन्य प्रजातिका वनस्पतिहरू ढाकरमा  रातभर  बोकेर ल्याई सबै घरव्यवहार छाडेर रातविरात, पानी झरी, भोक, तिर्खा नभनी माईपोखरी वरिपरी रोपे ।

माईपोखरीको संरक्षणका लागि लडिरहे

तर यी सबै काम उनीहरूले ढुक्कसाथ गर्न भने पाएनन् । कहिले स्थानीय नेता र प्रशासनले दुःख दिने, कहिले सरकारी/गैरसरकारी संस्थाले । खासमा नेता, प्रशासन, गैरसरकारी संस्था आदिका लागि माइपोखरी एक मागी खाने भाँडो समान थियो।

माइपोखरीको विकासका नाममा अनेक कार्यक्रम बनाउने, बजेट ल्याउने र खल्ती भर्ने काममा तिनीहरूको दाउपेच चलिरहन्थ्यो । तर शारीरिक रुपमा बलिया नारायणदिल साधुले त्यस्ता चलखेलविरुद्ध संघर्ष गरिरहे ।

माइपोखरी आफैँमा अनौंठो पोखरी थियो । नौ वटा कुनाले युक्त पोखरीको सतहमा बाक्लो जालो तैरिरहेको देखिन्थ्यो । जालोमाथि चिमल लगायतका फूलहरु ढकमक्क देखिन्थे ।

पछि ‘विकास’कै बहानामा माइपोखरीको सतहमा लागेको जालो निकाल्ने काम भयो । त्यसबेला नारायणदिल साधु एक्लै उक्त कामको विरुद्धमा बोल्ने र लड्ने भए । उनले भनिरहे, ‘तिमीहरूले माइपोखरी माताको अस्मितामाथि खेलबाड गर्न लाग्यौं ।’ तर उनको आवाज दबाइयो र माईपोखरीको जालो निकालियो । अहिले आएर विज्ञहरू पछुतो गर्न थालेका छन्, माइपोखरीको जालो निकालेर ठूलो गल्ती भयो ।

खासमा माईपोखरीमाथि तैरिरहेका उक्त जालो जैविक विविधताका लागि अत्यन्तै महत्वपूर्ण हुने रहेछ । त्यो केवल जालो मात्र रहेनछ, त्यसले असंख्य वनस्पति र जीवहरूलाई आश्रय एवं संरक्षण दिएको रहेछ । उक्त जालोमा रहेको एक किसिमको झ्याउ, जसलाई गलैंचे लेउ भनिएको छ त्यो अत्यान्तै दुर्लभ वनस्पतिमा पर्ने रहेछ ।

त्यसबेला साधु दम्पतीले माइपोखरीको रक्षा गर्न दिनरात लड्नु परेको थियो । तत्कालीन राजाको सवारी हुँदा होस् वा प्रशासनिक अधिकृतको उनीहरूले माईपोखरी वनजंगल जोगाइदिन भन्दै बिन्तीपत्र दिने गरेका थिए ।

माईपोखरी हराभरा भएपछि त्यसमाथि धेरैले आँखा गाडे । खासगरी गैरसरकारी संस्थाहरुले अनेक परियोजना लिएर माइपोखरीमा भौतिक संरचना बनाउनेदेखि रुखबिरुवा मास्नेसम्मको काम गरे । यावत् कुरासँग जुध्दाजुध्दै नारायणदील साधुले माईपोखरीमै देहत्याग गर्नुपर्‍यो।

अहिले पनि विभिन्न विकासे योजनाको नाममा माईपोखरीको रुख काट्ने हल्ला सुनिन्छ । एउटा साधु सन्तले जीवनभर दुःख गरेर रोपेको बोटबिरुवा मास्ने योजनाकारहरूले एकपटक आफैँलाई प्रश्न गरून्, ‘के उनीहरूले माईपोखरीका लागि एउटा बिरुवा रोपेका छन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?