Comments Add Comment

म्यानमारबाट फर्केका नेपाली भन्छन् : काठमाडौं उत्रिनासाथ धर्तीलाई ढोगेँ

२३ जेठ, काठमाडौं । नवलपुर गैँडाकोटका मानबहादुर खत्री आफन्त भेट्न पर्यटक भिसामा तीन महिनाका लागि म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका कारण नेपालमा हवाई उडान बन्द भयो ।

भिसा अवधि सकिँदा पनि उनी नेपाल आउन पाएनन् । जब सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गर्‍यो, म्यानमारमा रहेकाहरू पहिले स्वदेश फर्किन पाउने भाग्यमानी बने ।

कोरोना महामारीका बेला अर्काको भूमिमा डरैडरमा बस्नुपरेका बेला स्वदेश फर्किन पाउँदा ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भएको उनी बताउँछन्।

नेपाल उत्रिएपछि अनलाइनखबरसँगको कुराकानीमा खत्रीले भने, ‘नेपाल आउन पाउँदा त ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भयो । नेपाल टेक्नेबित्तिकै आमालाई भेटे जस्तो भयो । आउने बित्तिकै धर्तीलाई ढोगेँ ।’

सरकारले विदेशबाट नेपालीहरूलाई उद्धार गर्ने कार्यविधि पारित गरेसँगै पहिलो लटमा खत्रीसहित २६ जना नेपालीहरू नेपाल आएका छन् । म्यानमार सरकारले नै उनीहरूलाई त्रिभुवन विमानस्थलसम्म ल्याइदिएको हो । उनीहरूले संकटको बेलामा सरकारले आफ्नै देशमा उद्धार गर्न स्वीकृति दिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले शुक्रबार म्यानबारबाट २६ जना नेपालीलाई उद्धार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको टोलीले उनीहरूलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टर लगेर राखेको छ ।

उनीहरूलाई बढीमा एक रात होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा बस्नेगरी व्यवस्था मिलाउने सरकारको तयारी छ । उनीहरूमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टिनमा पठाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment