Comments Add Comment

हवाई यात्रामा अब कडा अनुशासन, नियम नमाने विमानस्थलबाटै फिर्ता

२३ जेठ, काठमाडौं । अब हवाई यात्रा पहिले जस्तै सामान्य हुने छैन । नेपाल नागरिक उड्ययन  प्राधिकरणले कोभिड १९ को महामारीका बीच हवाई यात्रालाई सुरक्षित बनाउने गरी हवाई यात्रुका लागि निश्चित नियम तोकेको छ ।

कसैले  नियमहरूको पालना गरेन भने विमानस्थलबाटै फिर्ता समेत हुनुपर्नेछ नियममा उल्लेख छ। खासगरी विमानस्थल क्षेत्रबाट संक्रमण एक अर्कामा नसरोस् भन्ने उद्देश्यले यस्तो नियम बनाइएको हो ।

प्राधिकरणले आन्तरिक र बाहृय उडान दुवैलाई लक्षित गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकारवालाले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको छ ।

फारम भर्नु अनिवार्य

अब हवाई यात्राका दौरान केवल टिकट र बोर्डिङ पास मात्र लिएर हुने छैन । अब हरेक हवाई यात्रुले कोभिड १९ को स्वघोषणा पत्र भर्नुपर्नेछ । जसमा यात्रुले कोभिड चेकचाँज गरे-नगरेको, स्वास्थ्य समस्या भए-नभएको जस्ता विवरणहरू राखिएका छन् ।

यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानुनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने आफ्नो ट्राभल हिस्ट्रीसमेत खुल्ने प्यासेन्जर कोलेटर कार्ट (पीएससी) भर्नुपर्ने र त्यसलाई विमानस्थलको हेल्थ डेस्कमा बुझाउनु पर्नेछ ।

जहाज चढ्न प्रतिबन्धको अवस्था

रुघाखोकी, १००.४ फरेनहाइड ज्वरो, सास फेर्न कठिन हुने र स्वाद र बास्ना थाहा नपाउनेजस्ता कोभिड १९ सँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन ।

७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिले समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले सुझाव दिएको छ ।

यात्राभर मास्क अनिवार्य

हवाई यात्राभर फेसमास्क अनिवार्य गरिएको छ। विमानस्थल प्रवेश गरिसकेपछि ब्यागेज लिने बेलासम्म पनि मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ।

विमानमा समेत स्वास्थ्य सुरक्षा प्रतिकूल हुनेगरी कुनै क्रियाकलाप गर्न पाउने गरी नियम बनाइएको छ । प्राधिकरणले सुरक्षा निर्देशिकाका प्रावधान वायुसेवा कम्पनीपिच्छे समेत फरक हुने भएकाले यात्रुले सम्बन्धित वायुसेवा कम्पनीबाट समेत पालना गर्नुपर्ने नियमबारे जानकारी लिनुपर्ने भएको छ ।

इनफ्लाइट क्याटरिङ बन्द

आन्तरिक उडानतर्फ इनफ्लाइट क्याटरिङ बन्द गरिएको छ । अन्तर्राष्ट्रिय उडानमा भने यो सुविधा  जारी रहनेछ । अनबोर्ड न्युजपेपर र म्यागेजिनको सुविधा भने तत्कालका लागि बन्द भएको छ।

विमानस्थलमा रहेको ट्रलीसमेत अब सबैले उपयोग गर्न पाउने छैन । सम्भव भएसम्म ट्रली प्रयोग नगर्ने र अतिरिक्त सहायता आवश्यक पर्ने यात्रुले मात्र यसको प्रयोग गर्नुपर्ने प्राधिकरणको सुरक्षा निर्देशिकामा उल्लेख गरिएको छ।

हवाईजहाजमा घरपालुवा जनावर ल्याउन प्रतिबन्ध लगाइएको छ। हवाई यात्राका दौराना यात्रुले गर्न हुने र नहुने विषयबारे सेवा प्रदायक कम्पनी र विमानस्थलले समेत पर्याप्त सूचना यात्रुलाई दिनुपर्नेछ ।

विमानस्थलभित्र आफूले प्रयोग गरेका सामान यात्रुले जहाँ पायो त्यही छाड्न पाउने छैनन् । हवाई यात्राका दौराना सेवा प्रदायकले दिएका निर्देशन पालना नगरेमा कानुन विपरीत मानिने भन्दै प्राधिकरणले सचेत समेत गराएको छ ।

चेकइन र बोर्डिङ पेपरलेस बनाउन सुझाव

प्राधिकरणले कम्पनीहरूलाई चेकइन, बोडिङलगायत प्रक्रिया डिजिटल माध्यमबाट सम्भव भए त्यसको उपयोग गर्न सेवा प्रदायक कम्पनीलाई सुझाव दिएको छ। यसले यात्रु र कर्मचारीबीचको सामाजिक दुरी कायम राख्न सहयोग गर्नेछ।

विमानस्थलमा टेम्प्रेचर क्यानरबाट पार भएको र मास्क लगाएको यात्रुले मात्र चेकइन हुन सक्नेछन् । ह्यान्ड सेनिटाइजरको व्यवस्था एयरलाइन्सले उपलब्ध गराउनुपर्ने भएको छ। चेक-इन काउन्टरमा पारदर्शी सिसा राखिएको छ । यसले समेत सुरक्षा प्रबन्धका सहयोग गर्नेछ।

सरकारले जुन महिनाभर व्यावसायिक हवाई यात्रामा प्रतिबन्ध लगाएको छ । तर शुक्रबारबाट विभिन्न मुलुकबाट रेक्यु उडान भने प्रारम्भ भएका छन्। वायुसेवा कम्पनीहरू भने सरकारले उडान प्रारम्भ भएको घोषणा गर्ने दिनको पर्खाइमा तयारीका साथ बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment