Comments Add Comment
निजी अस्पतालमाथि प्रश्न :

ह्याम्समा कोरोना संक्रमितको उपचार, सरकार भन्छ– अरुलाई सर्‍यो भने आफैं जिम्मा लिनू

‘जबरजस्ती गरे के गर्ने भनेर मन्त्रालयमा भोलि निर्णय गरौंला’

२४ जेठ, काठमाडौं । कोरोना संक्रमणको संख्या तीव्ररुपमा बढिरहेका बेला काठमाडौंको ह्याम्स अस्पतालले संक्रमितलाई आफैं आइसोलेसनमा राखेर उपचार थालेको छ । नेपालमा कोरोना संक्रमितको उपचार शुरु गर्ने ह्याम्स पहिलो निजी अस्पताल बनेको छ ।

सरकारले अहिलेसम्म निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने औपचारिक अनुमति दिएको छैन ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत पोखराका एक व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

ह्याम्समा उपचार गरेका पोखरा र गुल्मीका दुईजना बिरामीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर, गुल्मीका बिरामीमा डिस्चार्ज भइसकेपछि कोरोना पुष्टि भएको हो ।

भेन्टिलेटरमा राखिएका कास्कीका ६० वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनलाई अहिले भेन्टिलेटरबाट बाहिर निकालिएको छ । बिरामी र उनका आफन्तले तोकिएका सरकारी अस्पतालमा जान नमानेपछि उनलाई सबै सुरक्षा विधिसहित निजी अस्पतालमै आइसोलेसनमा राखेर उपचार थालिएको ह्याम्सका अध्यक्ष रामशरण भण्डारीले बताए ।

ती व्यक्तिलाई पाँच दिनअघि पोखराबाट हेलिकोप्टरमा ल्याइएको थियो । संक्रमित व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार लेभल थ्री अनुरुपका सुरक्षा उपकरणसहित उनको सम्पर्कमा गएकाले आइसोलेशनमा राख्नु नपरेको भण्डारीले बताए ।

उनले भने, ‘हामीले नेपालमा कोरोना संक्रमण शुरु भएको दिनदेखि नै भोलि निजी अस्पतालले पनि उपचार गर्नुपर्ने हुन्छ भनेर सुरक्षाका सबै मापदण्ड अपनाएर काम गरिरहेका थियौं ।’

आफूहरुले सरकारी अस्पतालमा कोभिड १९ संक्रमणको उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा पनि विरामी र आफन्तहरु नमानेकाले सरकारको निर्देशिका अनुसार आइसियुमा राखेर उपचार थालिएको उनले बताए ।

सरकारले बिरामीहरुलाई घरमै आइसोलेशनमा बस्न समेत सकिने भनिसकेको छ ।

एउटा अस्पतालमा कोरोनाको संक्रमित मान्छेले अर्को बिरामीलाई सार्नु हुँदैन भन्ने हाम्रो सिद्धान्त हो । यसमा उहाँहरुले ग्यारेन्टी दिन सक्नुहुन्छ भने गर्नुस्, सक्नुहुन्न भने नगर्नुस्

अस्पतालमा संक्रमितलाई राखिए पनि स्वास्थ्यकर्मीहरु आइसोलेसनमा जानु नपरेको बताउँदै भण्डारीले भने, ‘डा.अनुप सुवेदीलगायत विज्ञहरु बसेर हाम्रो कोही पनि स्वास्थ्यकर्मी आइसोलेसनमा जानुनपर्ने ठहर गर्यौं ।’

ह्याम्सले शुरुदेखि नै कोभिड १९ को उपचार तथा परीक्षणका लागि आवश्यक पूर्वतयारी गरेकाले अहिले सरकारले आग्रह गर्नासाथ थप तयारीको समय नलिई उपचार गर्न सकिने भण्डारीले बताए । ह्याम्समा २० वटा भेन्टिलेटर छन् ।

कोभिड १९ को पीसीआर परीक्षणका लागि पनि ह्याम्स तयार रहेको र सरकारले भनेको खण्डमा तीन दिनभित्र परीक्षण शुरु गरिने उनले जानकारी दिए ।

अल्मलियो स्वास्थ्य मन्त्रालय

सरकारी कार्यविधिअनुसार कोरोना संक्रमितको सबै उपचार खर्च सरकारले व्यहोर्छ र उपचार पनि निजी अस्पतालमा नभएर सरकारी अस्पतालमै हुन्छ । त्यसैले निजी अस्पतालमा उपचाररत विरामीलाई कोरोना संक्रमण पुष्टि भएमा सरकारी अस्पतालमा लैजानुपर्ने सरकारी प्रावधान छ ।

तर, ह्याम्समा रहेका कास्कीका बिरामी र उनका आफन्तले भने कोरोना संक्रमण पुष्टि भएपछि त्यहीँ उपचार गर्न चाहे । विरामी र उनका आफन्तले तोकिएका सरकारी अस्पतालमा जान नमानेपछि अस्पतालकै आइसोलेशनमा राखेर उपचार थालिएको ह्याम्सका अध्यक्ष भण्डारीको भनाइ छ ।

केही साता पहिले ग्राण्डी अस्पतालका ननमेडिकल स्टाफलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई तत्कालै पाटन अस्पतालमा लगिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका विरामीलाई ह्याम्समा बस्न दिने कि सरकारी अस्पतालमा ल्याउने भन्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलमलमा परेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन्, ‘अहिलेको अवस्थामा त सरकारी अस्पतालमै उपचार गराउनुपर्ने हो । तर, बिरामी निजीमै बस्न चाहन्छन् भने के गर्ने भन्ने विषयमा मन्त्रालयले कुनै निर्णय गरेको छैन । सम्भवतः भोलि निर्णय हुन्छ ।’

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार सरकारी अस्पतालमा आइसोलेसन बेड नभएको अवस्थामा मात्र बिरामीलाई निजी अस्पतालमा पनि उपचार गर्ने व्यवस्था गर्न सकिनेछ ।

सरकारले जारी गरेको कोभिड–१९ इमर्जेन्सी हेल्थ रेस्पोन्स प्लानमा ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा तेस्रो चरणको उपचार प्रकिया सुरु र कोरोना संक्रमितलाई सरकारले निजी अस्पतालमा राख्न सक्छ । तर, मापदण्ड बनिसकेको छैन ।

सरकारी अस्पतालमा आइसोलेसन बेड भएकै अवस्थामा कोरोना संक्रमितले निजी अस्पतालमा बस्न चाहेको खण्डमा के गर्ने भन्ने कुनै मापदण्ड बनेको छैन । ‘सम्भवत भोलि उहाँलाई कुनै सरकारी कोभिड अस्पतालमा ल्याउँछौं होला’ पाण्डेले अनलाइनखबरसँग भने, ‘यो विषयमा भोलि नै निर्णय हुन्छ ।’

‘अरु बिरामीलाई कोरोना सर्‍यो भने आफैं जिम्मा लिनू’

हामीले स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग निजी अस्पताल ह्याम्सले कोरोना संक्रमितको उपचार थालेको विषयमा केही प्रश्नहरु राख्यौं । डा. कार्कीले सरकारको नीतिबारे प्रष्ट्याउँदै प्रोटोकल अनुसार काम गर्न भने ।

डा. कार्कीसँगको संक्षिप्त कुराकानी–

ह्याम्स अस्पतालमा पनि कोरोना संक्रमित भेटिएछन् नि ?

भेटिइहाल्छन् नि अब त ।

भेटिनु त स्वाभाविकै हो, तर कोरोना संक्रमितले ह्याम्समा जस्तै गरी निजी अस्पतालमै उपचार गराउन थाले भने के गर्ने ? यसबारे सरकारले के नीति बनाएको छ ?

त्यसमा हामी प्रोटोकल बनाउँछौं । निजी अस्पतालहरुले पनि अहिले  हाम्रो डेडिकेटेड हस्पिटलमै पठाउने हो ।

अब निजी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सरकारले बाटो खोल्छ ?

अब बाटो खोल्नेचाहिँ हामीले हेल्थ इमर्जेन्सी घोषणा गर्यौं भने, हामीले अस्पताललाई प्रदूषित गर्दैनौं, गर्छौं के भने ठूल्ठूला आइसोलेसन सेन्टरहरु बनाएर निजीका डाक्टरहरु र स्वास्थ्यकर्मीहरुलाई पनि हामीले त्यहाँ तानेर बरु काम गराउने । अस्पतालमा त अरु रोग भएका मानिसहरु पनि त आउँछन् नि, त्यो कुरालाई पनि हेरेर सकेसम्म निजी हस्पिटललाई प्रदूषित नगर्ने भन्ने  टार्गेट हो हाम्रो ।

तर, ह्याम्स अस्पलालले त हामीले कोरोनाका बिरामीको उपचार थाल्यौं भनिसक्यो त ?

हैन, उहाँहरुले ईच्छा गर्नुभो भने त समस्या भएन । तर, हाम्रो अनुरोध के हुन्छ भने तपाईहरुले आइसोलेटेड गर्नोस्, त्यहाँबाट अर्को बिरामीलाई सर्‍यो भने त्यसको जिम्मा तपाईले नै लिने हो ।

सरकारको उद्देश्य के हो भने एउटा अस्पतालमा कोरोनाको संक्रमित मान्छेले अर्को बिरामीलाई सार्नु हुँदैन । अहिलेसम्म हामीले त्यो रोकेका छौं । अर्को बिरामीलाई सार्नु हुँदैन भन्ने हाम्रो सिद्धान्त हो । यसमा उहाँहरुले ग्यारेन्टी दिन सक्नुहुन्छ भने गर्नुस्, सक्नुहुन्न भने नगर्नुस्, हामी गर्छौं भन्ने हो ।

उसोभए उनीहरु (निजी अस्पताल) ले आफैं उपचार गर्छौं भन्न चाहिँ पाउँछन् ?

सबै प्रोटोकलहरु फलो गरेर हामी उपचार गर्छौं भन्ने भयो भने त हामी (सरकार) लाई समस्या छैन ।

तर, सरकारले यसबारे ठोस आदेश वा नीति बनाउनुपर्ने होइन र ? केही बनेको छ ?

हामीले औपचारिकरुपमा आदेश गरेकै छैनौं । हामी अहिलेसम्म त डेडिकेटेड हस्पिटलमै छौं । तर, उहाँहरुले त्यो डेडिकेटेड हस्पिटलमा हामी केस पठाउँदैनौं, हामी यहीँ म्यानेज गर्छौं भन्नुभयो भने त हामीले यो यो प्रोटोकलहरु फलो गर्नुस्, तपाईहरुले गर्न सक्नुहुन्छ भन्नुपर्ने अवस्थामा त पुग्छौं ।

तर, अहिलेलाई चाहिँ हाम्रै हस्पिटलमा पठाउने हो उहाँहरुले । हाम्रो हस्पिटलमा बेडहरु छँदैछन् ।

यति गर्दागर्दै पनि उहाँहरुले मान्नुभएन भने त्यसको रिस्क त उहाँहरुले नै लिनुपर्छ । अहिलेसम्म हामीसँग बेडहरु भएको र विपद महामारी घोषणा नगरुञ्जेलसम्मका लागिचाहिँ अहिले हाम्रै प्रोटोकलमा निजी अस्पतालहरु आउनुपर्छ ।

पछि निजीहरुलाई उपचार गर्न दिन सकिने गरी हाम्रो प्रोटोकल चेञ्ज हुन सक्छ, अहिलेका लागि चाहिँ हाम्रै अस्पतालमा ल्याउनुपर्‍यो । अब उनीहरुले जबरजस्ती गरे भने के गर्ने भनेर न्त्रालयमा भोलि डिसिजन गरौंला । तर, अहिलेसम्म चाहिँ उहाँहरु आउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment