Comments Add Comment

लकडाउनमा वातावरण स्वच्छता

२४ जेठ, काठमाडौं । आज विश्व कोरोना कहरले आक्रान्त हुँदा वातावरणमा भने स्वच्छता छाएको छ । मानिस घरभित्र थुनिंदा, आकाशमा जहाज नउड्दा, सडकमा गाडी नगुड्दा, नदी किनार, सडक, सहर तथामठ मन्दिरमा मानिसहरूको चहलपहल रोकिँदामात्र प्रकृति स्वच्छ भएर हाँस्न पाउँदो रहेछ । कोरोना कहरमा सबैले यसलाई प्रत्यक्ष अनुभव गर्यौं । यसको कारण वातावरणलाई आक्रान्त बनाउने मानिसकै क्रियाकलापले रहेछ भन्ने यथार्थता पनि बुझ्यौं ।

वातावरण जोगाउँदै कसरी जीवनयापन गर्ने त्यो सोचनीय विषय नै हो । विश्वभरकै मानिसलाई भौतिक सम्पदाको आर्जन र त्यो पनि अरुको भन्दा बढी नै प्राप्त गरूँ भन्ने चिन्ता बढिरहेको हुन्छ तर वास्तवमै चिन्तन गर्न लायक र जरुरी पक्ष भने वातावरण कसरी जोगाउने त्यतातिर सबैको ध्यान जानुपर्ने हो । बहुसंख्यक मानिसलाई आफ्नो दैनिक जीवनको परिणामबारे थाहा छैन र उनीहरुलाइ वातावरण जोगाउनु आवश्यक छ भन्ने पनि थाहा छैन।

मानिसहरु सोच्दछन् आफूलाई सबैकुरा थाहा छ, तर थाहा छैन बिग्रँदो वातावरण र जीवनमा यसको प्रत्यक्ष असर बारेमा । विश्व उष्णीकरण र भयावह रुपमा बिग्रदो वातावरणको कारण जनजीवन वास्तवमै प्रभावित हुने आशंका गर्न सकिन्छ, जसको न्यूनीकरणका लागि मानिसहरुमा एकदमै कम मात्रा सोचको विकास भएको पाइन्छ। यो वातावरण प्रदुषणमा हाम्रो प्रत्यक्ष हात छ भन्ने कुरामा धेरै मानिसहरु अनभिज्ञ रहेकै कारण भयावह स्थिति नआउला भन्न सकिन्न ।

हाम्रो दैनिकी, जीवनशैली, नजानिदो तरिकाले बढ्दै गएको आधुनिकीकरणको प्रभाव, आधुनिक उपभोग्य वस्तुहरुको प्रयोग, सवारीसाधनहरुको बढ्दो प्रयोग, बजारिया कृत्रिम खानपान, व्यवहार, फोहोर व्यवस्थापनमा चेतनाको अभाव, बढ्दो र अव्यवस्थित शहरीकरण, वन विनाश, खोलानालाको विनाश, प्राकृतिक जीवनशैली बिर्सदै गएर अप्राकृतिक जीवनशैलीको अनुशरण जस्ता कारण नै बढ्दो जलवायु प्रदूषण र जैविक विविधतामा हुने ह्रासका कारणणहरू हुन् ।

त्यसमा पनि यी त देख्न सकिने उदाहरणहरु मात्र हुन् र यी भन्दा पनि देख्न नसकिने वातावरणीय समस्या भनेको विश्वव्यापी रूपमा प्रदूषणको कारण बढ्दै गइरहेको तापक्रम हो । यो समस्यालाई विश्व उष्णीकरण (ग्लोबल वार्मिंग) भनिन्छ । यसले विश्वका धेरै भागको मौसममा परिवर्तन ल्याइरहेको छ । तापक्रममा सानो बृद्धिले ठूलो परिवर्तन निम्त्याउँछ । विश्वका केही भागमा अत्यधिक बाढी र खतरनाक आँधीबेहरी आइरहेको छ भने केही भागमा एकदमै न्यून वर्षा भै अत्यधिक खडेरी परिरहेको छ ।

विश्व उष्णीकरणले जलवायु परिवर्तन निम्त्याइरहेको छ जसले विश्वव्यापी रूपमा हाहाकार मच्चाइरहेको छ । हरेक वर्ष यसले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ । वातावरणलाई हामीले परिवर्तन गर्न सकिन्न । तर, यसलाई जोगाउन अवश्य सकिन्छ यदि यसकै बारेमा असली चिन्तन हुने हो भने ।

नेपाल मात्र नभएर दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिनप्रतिदिन बढ्दो छ । जलवायु परिवर्तन र वातावरण प्रदूषणबाट कृषि, जलस्रोत, मानव स्वास्थ्य, जनजीवन र आयआर्जनमा प्रत्यक्ष असर परेको हुन्छ । यो समस्या न्यूनीकरण गर्न सामूहिक प्रयास खोज्ने उद्देश्यले विभिन्न कार्यक्रम, सेमिनार र गोष्ठीहरु पनि हुने गरेका छन् । वातावरण प्रदूषण कुनै एक राष्ट्र र क्षेत्रको मात्रै नभई विश्वव्यापी समस्या भएर देखिएकोले यो समस्या समाधानका लागि सामूहिक प्रयास हुनुपर्ने छ ।

यसका लागि प्रत्येक व्यक्तिको चेतना जागृत हुन र वातावरणप्रति चिन्तन हुन जरुरी देखिन्छ । जलवायु परिवर्तन र वातावरण प्रदूषण विश्वको साझा समस्या भए पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्र र यहाँका जनता अरु बढी प्रभावित हुने देखिएको छ । तर यो समस्या एक्लो प्रयासले मात्रै समाधान हुन नसक्ने भएकाले हरेक व्यक्ति, समुदाय र राष्ट्रकै सामूहिक प्रयास आवश्यक छ ।

हामीले गर्ने फोहोर, प्लास्टिकको अत्याधिक प्रयोग, नदीनाला प्रदुषित बनाउने कार्य, वन विनाश, खाली जग्गाको संरक्षण नहुनु, रुख काटेपछि त्यसको सट्टामा अरु रुखहरु नरोप्नु, कतै खाली र स्वाश फेर्न मिल्ने स्थान समेत नराखी भवनहरु निर्माण गर्नु, रासायनिक पदार्थहरुको अत्याधिक प्रयोग, मेशिनरी र कलकारखानाहरुको अव्यवस्थित फोहोर र प्रदुषण जस्ता कार्यहरु बढ्दै गएर नै प्रत्येक वर्ष विश्व तापमान बढिरहेको र अब एक डिग्री तापक्रम बढे पृथ्वी मानव बसोबासका लागि योग्य नहुने चेतावनी समेत विभिन्न अनुसन्धान मार्फत वैज्ञानिकले दिइसकेका छन् । यस्ता समस्या आउनुमा धनी तथा औद्योगिक राष्ट्रको हात धेरै रहे पनि यसको प्रभाव भने नेपाल जस्ता गरिव तथा विकासोन्मुख राष्ट्रमै जटिल हुने देखिएको छ ।

तापमान बढ्दै जाँदा ठूलो असर पानीको मुहान सुक्दै जानु हो जसले गर्दा एसियाली र अफ्रिकी मुलुक धेरै प्रभावित बनेका छन् । पानीकै अभावले अबको केहि वर्षमा नेपालमा मात्र नभएर धेरै राष्ट्रहरुको कृषि उत्पादन दोब्बर रुपमा घट्ने अनुमान गर्न सकिन्छ । हाम्रो जस्तो हिमालय क्षेत्र पानीको स्रोत भएपनि केही वर्षभित्रमा अरु बढी सङ्कटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यही विश्व तापमान वृद्धिकै कारण त हिउँले ढाकेर सेताम्य देखिने हिमालय पर्वत अहिले चट्टानको काला पहाडमा परिणत हुन थालेका छन् ।

तापमान वृद्धिसँगै हिमालको हिउँ पग्लिने दरमा वृद्धि, हिमताल फुट्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप जटिल समस्या बनेर देखिन थालेका छन्।बढ्दो औद्योगीकरण तथा शहरीकरणका कारण वातावरण प्रदूषण तथा जलवायु परिवर्तनबाट भएको व्यापक असरलाई न्यून गर्न हरितगृह ग्यासको उत्सर्जनमा व्यापक कटौती गर्नु आवश्यक छ, जसमा विकसित राष्ट्र अझै तयार हुन सकेका छैनन् ।

जल, जमिन, वायु र ध्वनि प्रदूषण बढेकाले यसको प्रत्यक्ष असर मानव स्वास्थ्य र जीविकोपार्जनमा परेको छ भन्ने चिन्तन चेतनाको स्तरबाट आएको छैन ।

विभिन्न सोध अनुसन्धानले बताए अनुसार नेपाल वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिले विश्वकै चौथो उच्च जोखिममा छ ।यसको चिन्तन कसले गर्ने ? संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारण मानवजन्य तथा प्राकृतिक प्रकोपबाट निकै ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।नेपालमा वर्षेनि ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ र यो वृद्धि अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी छ।यसको प्रत्यक्ष असर जीविकोपार्जनदेखि मानव अस्तित्वसम्म नै देखापरेको छ ।

जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ ले जलवायु परिवर्तनको असर जीविकोपार्जनमा कसरी परिरहेको छ भन्ने तथ्यांक सार्वजनिक गरिसकेको छ । तथ्यांकअनुसार जलवायु परिवर्तन र वातावरण प्रदुषणको कारण पानीका स्रोत सुक्दै गएको, समयमा पानी नपरेको र खडेरी बढ्दै गएको, खेतीबालीमा रोगकिरा बढेको उल्लेख पाइन्छ । त्यसैलेजलवायु परिवर्तन र वातावरणीय प्रदूषणको प्रभाव न्यूनीकरण गर्न नेपाल अझै बढी संवेदनशील हुनुपर्ने खाँचो छ ।

वातावरण प्रदुषण र मौसम परिवर्तनका कारण धेरै कीराहरू र रोगहरू निम्त्याउने जनावरहरूको संख्यामा बृद्धि भई विभिन्न रोग व्याधीहरू लाग्ने र फैलने गरेको तथ्य पुष्टि भएको छ । कतिपय वस्तुहरुको पुनः प्रयोग एवं पुनः प्रशोधनद्वारा वातावरणलाई स्वच्छ राख्न मद्दत गर्दछ यस्ता प्रक्रियालाई अपनाउनु पर्दछ ।

पैसा भएर पनि पानी, हावा, जङ्गल, खाना जस्ता मानव जीवनका अत्यावश्यक वस्तुहरु नहुँदाको क्षण कति कष्टकर होला जीवन ? प्राकृतिक स्रोतहरु नष्ट नै हुनेगरी प्रयोग गर्नु हुँदैन भन्ने कुरामा जनचेतना जगाउने काम सबै क्षेत्रबाट हुनुपर्दछ । जैविक विविधता र विशिष्टतालाई संरक्षण तथा सम्बद्र्धन गरी नेपालमा स्वच्छ वातावरण प्रवर्द्धन गर्न प्रत्येक सचेत नागरिकदेखि सबै निकाय सक्रिय हुन आवश्यक छ । भौतिक विकास र वातावरणबीच वैज्ञानिक आधारमा परिपूरक सम्बन्ध र समन्वय कायम गर्नुपर्छ ।

वातावरणीय संरक्षण संवेदनशील र व्यापक क्षेत्र भएकाले सरकारको एक्लो प्रयासबाट मात्रै सम्भव नहुने भएकाले सबैको सहयोग आवश्यक छ । मानवीय क्रियाकलापबाट जल, स्थल, वायु प्रदुषण र विश्व तापमानमा पर्ने प्रभाव र वन्यजन्तु र वनजङ्गलमापर्ने असरबारे सचेतना फैलाउदै वास्तवमै चिन्तन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment