Comments Add Comment

आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

२४ जेठ, दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर पठाउने निर्णय गर्‍यो ।

नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जनाको नाम समेत छ ।

अब नगरपालिकाले उनीहरूको खोजी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का भन्छन्, ‘उनीहरू ५/६ वटा वडाका थिए । संक्रमण पुष्टि भएका केही ‘आइसोलेसन’मा छन् । अझै ४५ जना आउन बाँकी छन् ।’

आइसोलेसन भनिए पनि सम्पर्कमा आएकाहरूलाई पनि यसअघिको क्वारेन्टिन स्थलमा राखिएको हो ।

मेयर रत्नबहादुर खड्काका अनुसार संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको छ भने केहीलाई डाँडागाउँको प्राविमा राखिएको छ । संक्रमितको सख्ंया धेरै भएकाले आइसोलेसन बेड बनाउन सम्भव छैन । त्यसले यसअघिका क्वारेन्टिन स्थलहरूमा राख्न थालिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेको घर पठाएको तर उनीहरूकै पीसीआर पोजेटिभ आएको बताए । क्वारेन्टिन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुन सक्ने उनको तर्क छ ।

तर आरडीटी गरेर घर पठाएका ठूलो संख्यामा नै संक्रमण पुष्टि हुनुले त्यो निर्णय सही थियो त भन्ने प्रश्न उठेन भन्ने प्रश्नमा उनले भने, ‘प्रश्न त उठेको छ ।’

जनस्वास्थ्य विज्ञहरूले भने यसलाई जनस्वास्थ्यमाथि सरकारको खेलवाड भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment