Comments Add Comment

जेठ दोस्रो हप्ता भारतबाट आएका थिए गोरखाका कोरोना संक्रमित

२५ जेठ, गोरखा । गोरखामा आइतबार १० जनामा  कोरोना संक्रमण पुष्टि भयो, जसमध्ये ९ जना गण्डकी गाउँपालिकाका र एक जना पालुङटार नगरपालिकाका हुन् ।

गण्डकी गाउँपालिकाका कोरोना संक्रमितमध्ये ८ जना भारतको नयाँ दिल्लीबाट सुनौली नाका हुँदै स्वदेश फर्किएको खुलेको छ । एक दिनको अन्तरालमा पाँच/पाँच जनाको समूहमा उनीहरु गोरखा आएका थिए ।

गाउँपालिका प्रवेश गरेलगत्तै उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । संक्रमितहरु भीमोदय आधारभूत विद्यालय र रत्नेश्वर माविको क्वारेन्टिनमा राखिएकाहरु रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन् ।

भीमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेकाहरु यही जेठ १३ गते भारतबाट आएका थिए । गाउँपालिकाका अनुसार १४ गते उनीहरुलाई उद्धार गरेर ल्याई १५ गतेदेखि क्वारेन्टिनमा राखिएको थियो ।

जेठ २० गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । भीमोदयको क्वारेन्टिमा बस्ने पाँच जनामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आयो भने एक जनाको बाँकी छ । उनीहरुसँगै एउटै बसमा धादिङका ८३ जना पनि आएका थिए ।

रत्नेश्वर माविको क्वारेन्टिनमा रहेकाहरु जेठ १४ गते नेपाल प्रवेश गरे । १५ गते धादिङका टोलीसँगै एउटै बस चढेर उनीहरु गोरखा आए । १६ गते पालिका प्रवेश गरेका उनीहरुलाई सोही दिनबाट क्वारेन्टिनमा राखियो । पाँच जनाको समूहमा आएका उनीहरुमध्ये चार जनामा कोरोना संक्रमण देखियो । एक जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरु भारतमा एकै कम्पनीमा काम गर्थे । सुनौली नाकाबाट पालिका आउँदा अन्यत्र सम्पर्क नभएको गाउँपालिकाले जानकारी दिएको छ ।

गण्डकी गाउँपालिकाका अर्का एक संक्रमित भने मोटरसाइकल मिस्त्री रहेको खुल्न आएको छ । लक डाउनको समयमा मोटरसाइकलमा अनावश्यक डुल्दै हिँडेपछि प्रहरीले नियन्त्रणमा लिएर जनप्रतिनिधिसँग समन्वय गरी उनलाई क्वारेन्टिनमा राखेको हो ।

यही जेठ १० गतेदेखि उनी ज्ञानमार्ग मावि घ्याल्चोकको क्वारेन्टिनमा छन् । उनीसँगै अन्य तीन जना क्वारेन्टिनमा थिए । संक्रमितलाई अहिले जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको छ । गण्डकी गाउँपालिकाभर हालसम्म ४० जना क्वारेन्टिनमा रहेको पालिकाले जनाएको छ । जसमध्ये ३६ जना भारतबाट र बाँकी नेपालको अन्य जिल्लाबाट आएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताइन् ।

अर्का संक्रमित पालुङटार नगरपालिकाका १७ वर्षका युवक जेठ ११ गतेदेखि प्रहरी हिरासतमा छन् । बालिका बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment