+
+
Shares

इन्सेकको प्रतिवेदन : नवराज बिकसहित ६ युवाको कुटपिटबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १४:५२

२७ जेठ, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जाजरकोटका नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको दाबी गरेको छ ।

रुकुम (पश्चिम)को चौरजहारी, सोतीमा जेठ १० गते भएको घट्नाबारे इन्सेकको प्रारम्भिक प्रतिवेदनले घटना नियोजित भएको उल्लेख गरेको छ । स्थलगत प्रारम्भिक अनुगमन प्रतिवेदनमा भनिएको छ, ‘स्थानीयको कुटपिटबाट युवाहरूको मृत्यु भएको र शव भेरी नदीमा मृत अवस्थामा फेला प¥यो ।’

स्थानीयलाई हवाला दिँदै इन्सेकले गाउँबाट केही तल झरेपछि स्थानीयहरूले हँसिया, कुटो र दाउरा बोकेर लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेको उल्लेख छ । ‘भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए । घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन’ प्रतिवेदनको तथ्य खण्डमा भनिएको छ, ‘घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।’

‘निष्पक्ष छानबिन आवश्यक’

इन्सेकले ‘घटनामा संलग्न सबै आरोपीहरूलाई गिरफ्तार गरी विद्यमान कानुनी प्रक्रियाअनुसार गहन अनुसन्धान गरी फौजदारी अपराधअन्र्तगत् सजाय गर्नुपर्ने’ सुझाव दिएको छ । घटनाका पीडित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि राज्यको उपस्थिति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, घटना र घटनास्थलमा उपलब्ध प्राथमिक प्रमाण जोगाउन प्रहरी प्रशासनलाई जिम्मेवार बनाउनुपर्ने उसको सुझाव छ । जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यहरूलाई उच्च प्राथमिकताका साथ कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

‘सोतीगाउँका स्थानीयवासीको आक्रमणबाट भेरी नपा–४ का २१ वर्षीय नवराज बिक, भेरी नपा– ४, चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम सुनार, भेरी नपा–४ का २१ वर्षीय सन्जु बिक, भेरी नपा– ४ रानागाउँका १७ वर्षीय गणेश बीएम, भेरी नपा–११ का १८ वर्षीय लोकेन्द्र सुनार र गोविन्द शाहीको मृत्यु भयो’ प्रतिवेदनमा भनिएको छ, ‘उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो । घटनाको करिब आधा घण्टापछि इलाका प्रहरी कार्यालय, चौरजहारीबाट पाँच जना प्रहरी घटनास्थल पुगेका थिए ।’

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चौरजहारी नपा–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई गिरफ्तार गरेको छ भने दुई जना फरार छन् ।

इन्सेकले जेठ १३, १४ र १५ गतेको स्थलगत अध्ययनका लागि टोली पठाएको थियो । रुकुम, चौरजहारी नगरपालिका–८ सोती, घटनास्थल बन्चरे, जाजरकोट जिल्ला भेरी नगरपालिका–४ रानागाउँ, भेरी नगरपालिका–११ मटेला, चौरजहारी नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) र जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम)को स्थलगत अध्ययन र अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार मनीषा केसी (जिल्ला प्रतिनिधि, इन्सेक रुकुम), नारायणकुमार शाह (अध्यक्ष, गैसस महासङ्घ, रुकुम), एक्कबहादुर पाण्डे (अध्यक्ष, जिल्ला बार इकाइ, रुकुम), सुनिता बुढा मगर (अध्यक्ष, हरप्लेस नेपाल, रुकुम), नरबहादुर नेपाली (अध्यक्ष, रुकुमेली समाज विकास केन्द्र, रुकुम) अध्ययन टोलीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?