+
+
Shares

बागलुङमा परीक्षणविनै कोरोना संक्रमित डिस्चार्ज !

विकास रोकामगर विकास रोकामगर
२०७७ जेठ २८ गते १६:४४

२८ जेठ, पोखरा । बागलुङमा परीक्षणविनै कोरोना संक्रमितलाई अस्पतालले डिस्चार्ज गरेको छ । आइसोलेसनमा दुई हप्ता बसेको र कुनै लक्षण नदेखिएको भन्दै धवलागिरि प्रादेशिक अस्पतालले चार जनालाई कोरोना परीक्षण नगरी घर पठाएको हो ।

अस्पतालबाट डिस्चार्ज हुनेमा तमानखोलाका २७ वर्षीय २ पुरुष र बडीगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई पुरुष छन् । उनीहरू सबै भारतबाट आएका थिए ।

उनीहरूलाई डिस्चार्ज गर्नुअघि अस्पतालले कोरोना परीक्षण गराएन। कुनै लक्षण नभएको र दुई हप्ता आइसोलेसनमा बसेको हुनाले उनीहरूलाई डिस्चार्ज गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा‍‍. शैलेन्द्र पोख्रेलले बताए ।

‘अहिलेको नयाँ प्रोटोकलअनुसार सिम्टम्स नदेखिएकालाई पीसीआर टेस्ट नगरी १४ दिन आइसोलेसनमा राखेर पठाउने भन्ने छ । हामीले त्यही प्रोटोकलअनुसार नै उहाँहरूलाई डिस्चार्ज गरेका हौं,’ डा. पोख्रेलले अनलाइनखबरसँग फोन सम्पर्कमा भने, ‘तर, नयाँ कार्यविधि आउनुभन्दा पहिले गरिएको पीसीआर टेस्टमा उहाँहरूको टेस्ट नेगेटिभ नै थियो ।’

बागलुङका चारै जना संक्रमित जेठ १४ गते अस्पताल भर्ना भएका थिए । आइसोलेसन भर्नापछि पहिलो चोटी गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको डा. पोखरेलले बताए ।

धवलागिरि प्रादेशिक अस्पतालमा अहिले १३ जना र धवलागिरि क्याम्पसको आइसोलेसनमा १७ जना रहेका छन् । ‘बाँकी २ जना शंकास्पद लक्षण भएकालाई पनि आइसोलेसनमा राखेका छौं । उहाँहरूको रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

स्याङ्जाबाट तीन जना डिस्चार्ज

स्याङ्जा जिल्ला अस्पतालबाट तीन जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । वालिङ नगरपालिकाका २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय गरी तीन जना छन् ।

जिल्ला अस्पताल स्याङ्जाकी चिकित्सक डा. अञ्जु अर्यालका अनुसार वालिङका कोरोना संक्रमित जेठ १५ गते र गल्याङका संक्रमित जेठ १८ गते अस्पताल भर्ना भएका थिए । ‘हाम्रो आइसोलेसनमा भएका ६ जनाको पीसीआर परीक्षण गरेका थियौं । त्यसमध्ये ३ जनाको नेगेटिभ आयो र डिस्चार्ज गरेका हौं,’ डा अर्यालले भनिन् ।

डा. अर्यालले स्वास्थ्य मन्त्रालयले हालै ल्याएको नयाँ कार्यविधिअनुसार दुई हप्ताको बसाइँ सकेका सबैलाई डिस्चार्ज तयारी थियो । तर डिस्चार्ज गर्नुअघि गरिएको पीसीआर टेस्टमा तीन जनामा कोरोना नेगेटिभ देखिएको हो । ‘प्रोटोकलअनुसार त सबैलाई डिस्चार्ज गर्नुपर्ने नै हो । तर हामीले त्योभन्दा अघि पीसीआर टेस्ट गरायौं,’ उनले भनिन् ।

गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेका संख्या १० पुगेको छ । बुधबारसम्म गण्डकीमा एक सय ४७ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये कोरोनाबाट एक जनाको मृत्यु भएको छ । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?