Comments Add Comment

‘सबै गर्भ फाल भन्छन्, तर म बच्चा जन्माएर हुर्काउँछु’

२७ जेठ, जनकपुरधाम । परिवार सम्पन्न छ, त्यसैले उनले गाउँमै भए पनि निजी विद्यालयमा पढ्न पाइन् । एसईई उत्तीर्ण गर्नेबित्तिकै आमाबुबाले काठमाडौं पढ्न पठाए ।

घर–परिवारमा माया–ममताको कुनै कमी रहेन । काठमाडौंमा रहँदा पनि घरबाट हेरचाहमा कुनै कमी भएन । आमाबुबाले दैनिक फोन गरेर हालखबर सोधिरहन्थे ।

त्यसरी लाडप्यारमा हुर्केकी छोरी अहिले न्यायका निम्ति भौतारिरहेकी छन् । साथ दिने कोही छैन, जताततै दुत्कारै दुत्कार छ । अति माया गर्ने आमाबुबा समेत टाढिएका छन् । उनी घर जानै सक्दिनन् ।

दुर्दिनको यो अवस्थामा उनलाई स्कुले जीवनको एकजना साथीले आश्रय दिएका छन् । साथीको घरमा दिन गुजारिरहँदा उनको मनभित्र पीडाको ज्वारभाटा चलिरहेको छ । तैपनि उनी भन्छिन्, “जसले जेसुकै भनोस्, म जीवनमा अगाडि बढ्छु, भोलिको समयलाई सामान्य बनाउँछु ।”

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरकी यिनी २० वर्षको उमेरमा गर्भवती भएकी छन् । डाक्टरले साउन दोस्रो साता ‘डेलिभरी’ हुने भनेका छन् ।

सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन् । ‘मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु’, उनी भन्छिन्, ‘तर मान्छेको मन हो, दुखिरहँदो रहेछ ।’

फेसबुके प्रेमले घर निकाला

अहिले सामाजिक सञ्जालको युग छ । यसमा पनि फेसबुक नयाँ पुस्ता माझ बढी लोकप्रिय छ । यही फेसबुक चलाउँथिन् यी युवती पनि । घर–परिवारलगायत सबैसँग फेसबुकबाट निरन्तर सम्पर्कमा रहन्थिन् ।

त्यही क्रममा धनुषाको महेन्द्रनगर घर भएका एक युवक पनि उनको फेसबुक फ्रेण्ड बन्न पुगे । फेसबुकमा च्याट गर्दागर्दै दुवै एक अर्कालाई भेट्न इच्छुक बन्न थाले ।

काठमाडौंमा ११ कक्षा सकेपछि यी युवती १२ कक्षा पढ्न घर नजिकको सहर जनकपुरधाम फर्किनुपर्ने वातावरण बन्यो । फेसबुक च्याटमा आइरहने शिवराज श्रेष्ठसँग उनको पहिलो भेट जनकपुरमै भयो । उनीहरू प्रेममा परेको कुरा पनि पहिलो भेटमै पक्का भयो ।

जनकपुरधाममा मोवाइल पसल चलाउने शिवराजसँग युवतीको भेटघाट बाक्लिनु स्वभाविक बन्यो । शिवराजले उनलाई परिचय गराउन आफ्नो घर पनि लगे ।

जनकपुरमा दिनहरू बित्ने क्रममा शिवराज र युवतीको प्रेम सम्बन्ध अझ गहिरिँदै गयो । विवाह गर्ने, जुनीभरि एक रहने अनेक वाचा–कसम भए । त्यही क्रममा युवती गर्भवती भइन् ।

‘त्यसपछि टाढिन थालेका शिवराज अहिले बेपत्ता भएका छन्’, युवती भन्छिन्, ‘पहिला असल मानिस लागेका उनका बुबाआमा पनि मलाई नचिन्ने भएका छन् ।’

गर्भ फाल्न दबाब

युवतीको भनाइ अनुसार, सुरुमा शिवराजले गर्भ फाल्न निकै करबल गरेका थिए । ‘त्यसपछि उनका आमाबुबाले पनि गर्भ फाल्न दबाब दिए’, युवती भन्छिन्, ‘तर मैले मानिन । त्यसपछि त शिवराज नै सम्पर्कविहीन बने ।’

पढाउनलाई खर्च गरेर जनकपुर राखेकी छोरी दोजिया भएको थाहा पाएपछि आमाबुबाले पनि धिक्कार गर्न थाले । एकपटक बुबा आएर घर लैजाँदा आफूलाई ढुक्क लागेको, तर घरमा सबैले गर्भ फाल्न दबाब दिएको उनी बताउँछिन् ।

‘त्यसपछि अर्को कुनै असल केटासँग विवाह गर भन्न थाल्नुभयो’, उनी भन्छिन्, ‘तर मैले मान्दै मानिनँ । म आफ्नो पहिलो बच्चालाई कुनै हालतमा जन्माएर हुर्काउन चाहन्छु ।’

न्यायका लागि पुकार

अहिले उनी विभिन्न संघ–संस्थामा निवेदन दिएर न्यायको पर्खाइमा छिन् । यी संघ–संस्थाका पनि कतिपय व्यक्तिले गर्भ फाल्न दबाब पनि दिएको उनी बताउँछिन् ।

तीमध्ये पनि सुजाता नामकी अधिकारकर्मीले ओरेक, नेपालको सेफ हाउसमा बस्दा गर्भपतन गराउन चर्को मानसिक दबाब दिएको उनको आरोप छ । उनी भन्छिन्, ‘मेरो उजुरीमा धनुषा प्रहरीले बोलाएका शिवराजका आमाबुबालाई प्रदेशसभा सदस्य प्रेममाया श्रेष्ठको जमानीमा छाडियो ।’

अहिले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले न्याय दिलाउने विश्वास दिलाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म त खाली आशा गरेर बस्न बाध्य छु, हेरौं के हुन्छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment