Comments Add Comment

कोरोना रोकथाममा अन्य प्रदेश भन्दा उत्कृष्ट छौं : मुख्यमन्त्री राई

२८ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम र नियन्त्रणको काममा अरु प्रदेशले भन्दा प्रभावकारी काम गरेको दावी गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कोरोना महामारीका विरुद्ध प्रदेश सरकारले अलमल नगरी योजनाबद्ध रुपमा काम गरिरहेको बताए ।

कोरोना संक्रमितको उचारको लागि कोभिड अस्पताल बनाएको, परीक्षणको दायरा विस्तार गरी १३ हजार बढीको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नु प्रदेश १ को उपलब्धी रहेको उनले बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले ५० हजार जनाको पीसीआर परीक्षण गर्ने पनि जानकारी गराए ।

कोरोनाको महामारी र लकडाउन एउटै अवस्थामा नरहने बताउँदै उनले भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्ने बताए ।
स्थायी संरचना पनि बनाइन्छ

मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानीका लागि नयाँ संरचना आगामी वर्षबाट निर्माण सुरु हुने बताएका छन् । प्रदेशको नामका विषयमा भने राजनीतिक दलहरूसँगको सहकार्य र छलफलबाट टुंगोमा पुगिने उनले बताए ।

नामांकनको विषय प्रदेशसभाको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले सबै दलको सहमतिमा प्रदेश सभाले पारित गर्ने बताए ।

नीति तथा कार्यक्रम पारित

प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । २३ जेठमा सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा तीन दिनसम्म सत्ता र प्रतिपक्षका जम्मा ५२ सांसदले भाग लिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्‍यो । नीति तथा कार्यक्रम संशोधन गर्न कांग्रेसका सांसद केदार कार्की र शेखरचन्द्र थापा र समाजवादी दलका नेता जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

तर बुधबारको बैठकमा यादवले संसोधन फिर्ता लिएका थिए ।

कांग्रेसले मोरङको मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वर्गीय नेकपा नेता मदन भण्डारीको नामको बनाउन नहुने, ४५ करोडको राहत प्याकेजलाई बढाउनुपर्ने, यही वर्ष प्रदेशको नामाकरण प्रस्ताव दर्ता गराउनुपर्ने, कोरोनासँग म लड्छु भन्ने कार्यक्रम सञ्चालन गराउनुपर्ने माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment