
३० जेठ, काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोरबिजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोर नम्बरका गाडीलाई चलाउन दिइएको छ।
तर बिजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । यसरी बिजोर नम्बरका सवारीसाधन चलाउने २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अनलाइखबरलाई बताए ।
प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि बिजोर नम्बरका गाडी लिएर निस्किएका छन् । उनीहरूको सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्ड गराएको छ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार अपराह्न पत्रकार सम्मेलन गरेर जोरबिजोरको नीति लागु गरिएको बताएका थिए ।
त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।
प्रतिक्रिया 4