
३० जेठ, काठमाडौं । नेपाली नागरिकको हवाई उद्धारको सिलसिलामा नेपाल एयरलाइन्स पहिलोपटक अमेरिकासम्म उड्ने योजना बनाउँदैछ । तर अझै नेपाल एयरलाइन्स आफैँ अमेरिका पुग्नेनपुग्ने अनिश्चित छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार हुने मुलुकको सूची सार्वजनिक गरेको छ । जसमा नेपाल एयरलाइन्स सबैभन्दा टाढाको गन्तव्यमध्ये अस्ट्रेलिया र जापान उँड्दैछ । त्यसो त यी दुई मुलुक जान नेपाल एयरलाइन्सलाई कुनै समस्या पनि छैन । लकडाउनकै बीचमा पनि उक्त कम्पनीले सम्बन्धित मुलुकका नागरिकलाई बोकेर जहाज त्यहाँ पुगेको छ ।
नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले दिएको जानकारीअनुसार उद्धार उडानको सम्भावित गन्तव्य अमेरिकाको लसएन्जल्स वा डालसमध्ये एक हो । यहाँ २५ जुनमा जहाज पठाउने तयारी छ ।
यो गन्तव्य मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने छैन । सूचीअनुसार २५ तारिखमा अमेरिकाबाट नेपालीको उद्धार गरिनेछ । तर अमेरिकाबाट आउने नागरिकलाई बोकेर जहाज उतैबाट आउँछ वा यहाँबाट जानेछ भन्नेबारे कुनै खुलाइएको छैन ।
त्यसअगाडि अमेरिकाबाट काठमाडौंका लागि १७ जुनमा एक उद्धार उडानको तयारी छ । त्यो जहाज भने अमेरिकाबाटै आउनेछ ।
अमेरिकाबाट किन तोकिएन जहाज ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपालमा अडि्कएका अमेरिकी मुलुक क्यानडाका नागरिकलाई घर फिर्ता लैजान नेपाल एयरलाइन्सले युरोपेली युनियनको आकाश प्रयोग गर्ने अनुमति मागेको थियो ।
तर ईयूले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएको थिएन । किनकि नेपाली हवाई सेवा युरोपेली युनियनको कालोसूचीमा छ । यस पटक पनि त्यस्तै अवरोध हुने आंशकाका कारण अमेरिकाका लागि निर्धारित सूचीमा नेपाल एयरलाइन्स नराखिएको हो ।
अर्कोतर्फ अक्कुपेन्सीले पनि यो उडान निश्चित गर्ने बताइएको छ । कम्तीमा ८० प्रतिशत सिट भरिने शर्तमा मात्र जहाजहरूले उडान गर्नेछन् । अमेरिकाबाट १७ तारिकमा एउटा टोली आउँछ । थप नेपाली घर फर्किन चाहेको अवस्थामा मात्र अमेरिका जहाज जानेछ ।
किनकि चार्टर्ड उडान सामान्य उडानको तुलनामा महँगो छ । आफैँ टिकट शुल्क ब्यहोर्ने शर्तमा मात्र नेपाल सरकारले विदेशमा उद्धार उडान चलाउन लागेको हो ।
परराष्ट्र मन्त्रालयले संकलन गरेको नेपालीको सूचीमा अमेरिकाबाट छ सयभन्दा बढी नेपाली घर फर्किन चाहेको उल्लेख थियो।
प्रतिक्रिया 4