Comments Add Comment

रौतहटको राजपुरमा मात्रै २१८ संक्रमित, निषेधाज्ञा पालना भएन

रौतहटको एक क्वारेन्टिन । फाइल फोटो

३१ जेठ, रौतहट । शुक्रवार रौतहटमा कोरोना भाइरस (कोभिड १९) का ८६ संक्रमित थपिए । थपिएका ८६ मध्ये ८५ जना राजपुर र १ जना परोहा नगरपालिकाका थिए । संक्रमण पुष्टि भएका ८६ जनासँगै रौतहटमा कोरोना संक्रमितको सँख्या ६१७ पुगेको छ ।

रौतहटको राजपुरमामात्रै संक्रमितको संख्या २१८ पुगेको छ । राजपुर रौतहटको सबैभन्दा बढी संक्रमित भेटिएको पालिका बनेको छ ।

एक साता अगाडिसम्म संकलन गरिएको ११ सय जनाको स्वाबमध्ये ६०० जनाको परीक्षणको गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

हालसम्म राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएका हुन् । ‘राजपुर वडा नं. ६ र ३ मा रहेको मदरसाको क्वारेन्टिनमा रहेकामध्ये ८५ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो,’ राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भने, ‘पालिकाका २२ क्वारेन्टिनमा अझै पनि २ हजार ५ सय जना छन् । पालिकाले स्वाब परीक्षणको लागि आफैंले ३ हजार थान भिटिएम खरिद गरेको छ ।’ संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु छन् ।

भारतका विभिन्न सहरहरुबाट राजपुर फर्किने क्रम अझै रोकिएको छैन । शुक्रवार साँझसम्म भारतीय सहरबाट आएका ५० जना राजपुरको क्वारेन्टिनमा आएका छन् । ‘क्वारेन्टिनमा रहेका सबैको स्वाब परीक्षणका लागि नगरपालिकाले काम गरिरहेको छ,’ अधिकृत ठाकुरले भने, ‘परीक्षणको नतिजा ढिलो आउँदा क्वारेन्टिनमा समेत समस्या बढेको छ । क्वारेन्टिनमा लामो समयसम्म बस्दा पनि नतिजा नआएपछि पटक–पटक विरोध र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ ।’

निषेधाज्ञा पालना भएन

रौतहटको राजपुर र इशनाथलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेर निषेधाज्ञा जारी गरे पनि त्यसको कुनै प्रभाव परेको छैन । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना हुन नसक्दा सो क्षेत्रका समुदायमा संक्रमण फैलने खतरा छ ।

राजपुरलाई पूर्णरुपमा सिल गरेर परीक्षणको कार्यलाई तीव्र बनाउन आफूहरुले अनुरोध गर्दा पनि प्रशासनबाट सुनुवाइ हुन नसकेको भन्दै ठाकुरले असन्तुष्टि व्यक्त गरेका छन् । ‘प्रशासनले सिल गरेको भन्ने कुरा कागजमा मात्रै सीमित छ,’ उनले भने, ‘सरकार गम्भीर भएर यस क्षेत्रमा कडाइ नगर्ने हो भने संक्रमण अझै तीव्र रुपमा बढ्न सक्छ ।’

कोरोना संक्रमणको इपिसेन्टर बनिसक्दा पनि रौतहटमा सतर्कता बढाइएको छैन । राजपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनमा २५ जना र वडा नं. ६ को मदरसामा बनाइएको आइसोलेसनमा हाल ६९ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment