Comments Add Comment

सहज जितसहित बार्सिलोनालाई ५ अंकको अग्रता

३२ जेठ, काठमाडौं । कप्तान लिओनल मेसीले एक गोलसहित दुई असिस्ट गर्दा बार्सिलोनाले स्पानिस ला लिगामा मालोर्कालाई ४-० ले पराजित गरेको छ ।

मालोर्काको मैदानमा सहज जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ । रियलले एक खेल खेल्न बाँकी छ ।

कोरोनाभाइरस महामारीका कारण स्थगित ला लिगा बिहीवारदेखि फेरि सुरु भएको हो । तीन महिनापछि पहिलो खेल खेलेको बार्सिलोनाले सहज जितसहित शीर्ष स्थानमा पकड कायम गरेको हो ।

खेलको दोस्रो मिनेटमै जोर्डी अलवाको पासमा अर्टुरो भिदालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३७ औं मिनेटमा मेसीको पासमा मार्टिन ब्रेथवेइटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा अग्रता दोब्बर बनायो । बार्सिलोनाको लागि ला लिगामा मार्टिनको यो पहिलो गोल हो । दोस्रो हाफमा पनि बार्सिलोनाले दुई गोल थप्यो । ७९औं मिनेटमा मेसीकै पासमा जोर्डी अल्वाले गोल गरेपछि बार्सिलोनाको ३-० को अग्रता बनायो ।

मेसीले इन्जुरी टाइमको तेस्रो मिनेटमा लुइस सुअरेजको पासमा गोल गर्दै सहज जित सुनिश्चित गरे ।

जितपछि २८ खेलबाट ६१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ । एक खेल कम खेलेको रियल ५६ अंकसहित दोस्रोमा छ। रियलले आज नयाँ घरेलु मैदान अल्फ्रेडो डे स्टेफानोमा आइबरसँग खेल्दैछ ।

उता मालोर्का भने रेलिगेसन जोनमै छ । २८ खेलबाट २५ अंक रहेको मालोर्का पुछारबाट तेस्रोमा छ ।

ला लिगामै अन्य खेलमा अंक तालिकाको पूछारमा रहेको स्पानयोलले अलेभजलाई २-० ले हरायो । तर २८ खेलबाट २३ अंक रहेको स्पानयोल गोल अन्तरमा लेगानेससँग पछि पर्दै अझै पुछारमै छ । लेगानेस भने रियल भाल्लोडोलिडसँग २-१ ले पराजित भयो। यस्तै भियारियलले सेल्टाभिगोलाई १-० ले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment