Comments Add Comment

थुनुवा मृत्यु प्रकरण : इन्सपेक्टर र वडा अध्यक्षविरुद्ध जाहेरी

१ असार, जनकपुरधाम । थुनुवाकक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले प्रहरी र वडाध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्व शम्भुकी आमा सियालीदेवीले जाहेरी दिएकी हुन् ।

उनले उनीहरुको मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्धामा कारबाही गर्न पनि माग गरेकी छन् ।

सियालीदेवीको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायव सुब्बा विनोद सुवेदीले जानकारी दिए ।

यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन । प्रहरीले दर्ता नगरेपछि पीडित परिवार सरकारी वकिल कार्यालय पुगेको हो । जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या देखाएको जिकिर गरिएको छ ।

सवारी ज्यान मुद्दामा चालकको मृत्यु भएमा पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्दैन भन्ने उद्देश्यका साथ प्रहरी निरीक्षकसमेतको मिलोमतोमा आफ्नो छोराको हत्या गरिएको जिकिर जाहेरीमा गरिएको छ ।

गत जेठ २८ गते बिहान २२ बर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले चलाएको ट्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिए ।

जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टम गर्न लागिएको छ । जाहेरी दर्ता नहुँदा पीडित परिवारले पोस्टमार्टम गर्न मानेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment