Comments Add Comment

कोरोना नदेखिएपछि डिस्चार्ज भएका थिए ९० वर्षका संक्रमित

२ असार, पोखरा । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९० वर्षीय वृद्ध यसअघि कोरोना संक्रमण पुष्टि नभएपछि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएको खुलेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट डिस्चार्ज भएपछि उनी पुनः स्वास्थ्यमा समस्या देखिएपछि ७ दिनअघि पोखरा सामुदायिक अस्पतालमा उपचारका लागि पुगेका थिए । ९० वर्षका वृद्ध प्रतिष्ठानको आइसोलेसनमा हुँदा २६ जेठमा कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय पुरुष पनि त्यहीँ रहेको खुलेको पोखरा सामुदायिक अस्पतालका डा. युक्त रेग्मीले बताए ।

‘कोरोना संक्रमण देखिएर मृत्यु भएका वालिङका ६० वर्षीय पुरुष बसेकै कोठाको अर्को कुनामा बसेको बताएपछि शंका लागेर स्वाब टेस्टका लागि पठाएका थियौं,’ डा. रेग्मीले भने, ‘उनलाई अस्पतालमा अलग्गै राखेर उपचार गराइरहेका थियौं ।’

स्वाब टेस्टका लागि पठाएको ५ दिनपछि मंगलबार रिपोर्ट आउँदा वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । उनमा दिशामा कब्जियत र पिसाबमा इन्फेक्सनको समस्या छ ।
उनलाई ज्वरो आइरहेको तर अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

वृद्धलाई प्रतिष्ठानको आइसोलेसनबाटै कोरोना संक्रमण स¥यो कि बाहिरबाट भन्ने खुलेको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले ९० वर्षीय वृद्ध ज्वरो आएर जचाउँन आएको र रिपोर्ट नआउँदासम्म प्रि–आइसोलेसनमा राखिएको पुष्टि गरे ।

‘उहाँ ज्वरो आएर जचाउन आउनुभएको थियो । स्याङ्जा वालिङका ६० वर्षीय वृद्धलाई पनि कोरोना आशंकामा प्रि–आइसोलेसनमा राखिएको थियो,’ डा. आचार्यले भने, ‘६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ आयो र ९० वर्षीय वृद्धमा नेगेटिभ आएपछि डिस्चार्ज भएको जानकारी आएको छ ।’

मंगलबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जा वालिङका ९० वर्षीय वृद्ध पोखरा महानगरपालिका–१५ भेडिफारम बस्दै आएका थिए ।

उनको सम्पर्कमा आएका व्यक्ति र कोरोना संक्रमणको स्रोतको खोजी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment