Comments Add Comment

युवा, महामारी र नेपाल स्प्रिङ

बालुवाटारमा युवाले स्वतः स्फूर्त रुपमा निकालेको प्रदर्शन । अनलाइनखबर अर्काइभ ।

प्रसिद्ध जापनिज दार्शनिक डाईसाकु ईकेडाले ‘द न्यु ह्युमन रिभुलुसन’ को भोल्युम ३ मा “इतिहास सधैँ युवाहरूले रच्ने गरेका छन्” भनेर लेखेका छन् । युवाहरूद्वारा रचिएका अधिकांश इतिहासहरू भेटिन्छ। त्यसकै एउटा उदारण हो “अरब स्प्रिङ” क्रान्ति । त्यसबखत अरब स्प्रिङमा होमिएका युवाहरू आज हरेक अभियन्ताका लागि उत्प्रेरक बनेको छन् ।

सन् २०१० डिसेम्बरमा अफ्रिकी मुलुक ट्युनिसियाबाट अरब स्प्रिङको श्रीगणेश भएको थियो । ट्युनिसियाका युवा व्यापारी मोहम्मद बौअजाजीलाई प्रहरीले अपमानित गर्दा उनी उत्पीडनको न्याय खोज्दै स्थानीय सरकारकोमा पुगेका थिए । कतैबाट न्याय पाउन असफल भएपछि उनले स्थानीय सरकारको कार्यालय अगाडी आत्महत्या गरे । बौअजाजीको आत्महत्या नै अरब स्प्रिङको पहिलो “स्पार्क” बन्यो ।

बौअजाजीको आत्महत्या पश्चात् ट्युनिसियामा अरब स्प्रिङ बुलन्द भयो । त्यस बखत ट्युनिसियामा जिन बेन अलीले २३ वर्षदेखि शासन गर्दै आएका थिए । बेन अलिको तानासाही शासनबाट उत्पीडित नागरिकहरूले  क्रान्तिलाई साथ दिए। वर्षौँदेखि बेरोजगार रहेका युवाहरूको उपस्थितिले गर्दा क्रान्तिले विशाल रूप लियो । उनीहरूको उपस्थिति “आगोमा घिउ” हाले सरह भयो ।

नागरिकहरू ट्युनिसियाको सडकमा प्लेकार्ड लिएर समर्थन गर्न थाले । फेसबुकमा फोटो लाईक गर्ने मानिसहरू सरकारको कार्यको पर्दाफास गर्न थाले। उनीहरू जागरूक र सचेत हुन् थाले । सडकमा उत्रिएका युवाहरूको भेगलाई शान्त पार्न असफल राष्ट्रपति बेन अलीले अन्त्यमा (जेनुअरी ११) आफ्नो पदको तिलाञ्जली दिएर साउदी अरब भाग्नु पर्‍यो ।

फेसबुक, ट्विटर साथै अन्य सामाजिक सञ्जालको सहायताले अरब स्प्रिङ ट्युनिसियामा मात्र नभएर अन्य अफ्रिकी र मिडल इष्टको अधिकांश देशमा सुरु भयो ।

अरबी मुलुकमा सामाजिक सञ्जाल चलाउनेको सङ्ख्या दोब्बरले बढ्यो जसले गर्दा क्रान्तिमा साथ र समर्थन पनि बढ्यो। यसका साथै उनीहरू सरकारको कार्य बारे थप सचेत भए ।

उनीहरूले नागरिक अवज्ञा, विद्रोह, विरोध, आत्मद्रोह, सामाजिक सञ्जालमा अभियान लगायत अन्य थुप्रै शैलीबाट क्रान्ति गर्न सुरु गरे। राज्यले उनीहरूलाई दमन गर्ने विभिन्न कोसिस गर्‍यो । कुटपिट,अश्रुग्याँस प्रहार, सामाजिक सञ्जाल र विभिन्न साइटहरू बल्क जस्ता थुप्रै किसिमका बल प्रयोग गर्दा पनि नागरिकलाई नियन्त्रणमा लिन राज्य असक्षम भयो । लिब्यामा मोहम्मद गद्दाफी, इजिप्टमा होस्नि मुबारक साथै येमेन, सिरिया लगायत अन्य मुलुकहरूबाट भ्रष्ट तानासाही नेताहरूको पतन सुरु भयो ।

विगत केही दिनदेखि नेपालमा प्रधानमन्त्री निवास बालुवाटार साथै माईतिघर मण्डला, विराटनगर, चितवन, पोखरा लगायत अन्य ठाउँहरूमा नागरिकहरू प्लेकार्ड लिएर सडकमा उत्रेका छन् । सडकमा उत्रिएका नेपाली युवाहरूको जोस र आक्रोश अरब स्प्रिङमा होम्मिएका युवाहरू भन्दा कम छैन । लकडाउन यताको सबै भन्दा ठुलो जमातमा युवाहरू भेला भएका थिए । युवाहरूमा सरकारको कार्यको आक्रोशको परावर्तन सजिलै देखिन्थ्यो ।

यी युवाहरू कहाँबाट आए ? को बाट सञ्चालित छन् ? यो आजको यक्ष प्रश्न हो । मेरो विचारमा सडकमा उत्रिएका युवाहरू स्वतन्त्र नागरिक हुन् । राजनीतिक दलमा आबद्ध भएका नागरिकहरू पनि आफ्नो दर्शन, सिद्धान्त साथै पार्टीको झन्डालाई पार्टी कार्यालयमा नै राखेर राष्ट्रिय झन्डा लिएर सडकमा उत्रिएका छन् ।

विवेकशील नेपाली दल, समाजवादी पार्टी र साझा पार्टीले युवाको अभियानको समर्थन गरेका छन् । कुनै राजनीतिक दलले समर्थन गर्दैमा “यो त त्यो पार्टीको अभियान हो !” भनेर सामान्यीकरण गर्नु मूर्खता होइन ? को कुन पार्टीको हो ! भनेर बस्नुको सट्टा युवाहरूको मुद्दा अवलोकन गर्न आवश्यक छ । दुई ध्रुवमा विभाजित नेपाली नागरिकले को भन्दा को बढी राष्ट्रवादी ? भनेर बस्नुको सट्टा ! के सही हो ? के गलत हो ? भनेर चिन्तन गर्न सक्नु पर्छ ।

एउटा स्वतन्त्र नागरिकले विवेकशील रूपमा सोच्ने हो भने युवाहरूले उठाएको मुद्दा जायज छ । उनीहरूको मूल मागहरू: १००% पिसिआर टेस्ट गर्नु पर्ने, टेस्टको दायरा बढाउने पर्ने, क्वारेनन्टाईनको गुणस्तर सुधार गर्नु पर्ने साथै कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बको पारदर्शिता पेस गर्नु पर्ने छ ।

हाल विश्वको अधिकांश मुलुक साथै नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । यो लेख लेख्दासम्म सङ्क्रमितको सङ्ख्या ५,३३५ छ, जसमध्ये १८ जनाको मृत्यु भएको छ । हाल सम्म १,२७,२८८ जनाको पिसिआर परीक्षण भएको छ । यही गतिमा परीक्षण हुने हो भने देशको सबै नागरिकको परीक्षण हुन् दशकौँ लाग्ने विज्ञहरूको भनाइ छ।

विश्वको अधिकांश मुलुकहरूमा महामारीले अर्थतन्त्र तहसनहस भएको छ । अन्य मुलुकहरू महामारीबाट हुने क्षतिलाई कसरी न्यूनीकरण गर्ने भनेर केन्द्रित छन् । न्यु जिल्यान्ड, भेटिकेन, फिँजी लगायत अन्य थुप्रै देशहरूले कोरोनामुक्त देश घोषणा गरी सकेको अवस्था छ । यस घोषणा पश्चात् उक्त देशहरूमा आर्थिक, कृषि लगायत सबै गतिविधिहरू पुन सुरु भएको छ। विडम्बना नेपाल सरकारसँग भने अझै पनि लकडाउन कहिले सम्म गर्ने साथै अन्य गतिविधिहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत योजना नभएको देखिन्छ ।

नेपालमा पहिलो सङ्क्रमित भेटिएको महिनौँ भइसकेको छ।

कोरोनाको उपचार/ खोप अहिलेसम्म पत्ता नलागेकाले यस रोगलाई नियन्त्रण गर्न सङ्क्रमितलाई अन्यको सम्पर्कबाट आउन नदिनु नै अहिले सम्मको सबै भन्दा उचित उपाय हो । सङ्क्रमित पहिचान गर्न धेरै भन्दा धेरै नागरिकहरूको पिसिआर पद्धतिबाट परीक्षण गर्न आवश्यक छ । नेपाल सरकारका अनुसार परीक्षण गर्ने किट आयत गर्नुका साथै परीक्षण गर्ने अहिलेसम्म १०  अर्ब खर्च भएको छ । तर, यसका बाबजुद पिसिआर पद्धतिबाट परीक्षण एकदमै न्यून भएको छ। फ्रन्टलाइनमा कार्यरत सबै स्वास्थ्यकर्मीले पिपिई पाएका छैनन् । यिनै विषयमा सरकारको पारदर्शिताको प्रश्न गर्दै युवा सडकमा उत्रिएका हुन् ।

उनीहरू सरकारको कार्यशैलीबाट निराश भएर नै सडकमा निस्किएका हुन् । टिकटकमा भिडियो अनि फेसबुकमा ‘मिम’ लाइक र शेयर गर्ने जमात आज सडकमा उत्रिएका छन् । फेसबुक, ट्विटर, लगायत अन्य सामाजिक सञ्जालबाट एकजुट हुँदै युवाहरूले भौतिक दुरी कायम गरेर शान्तिपूर्ण अभियान सुरु गरेका छन् । शान्तिपूर्ण रूपमा प्रधानमन्त्री निवास बालुवाटारको सडकमा उत्रिएका युवालाई प्रहरीले पानीको फोहोरा, लाठी र अश्रुग्याँस प्रयोग गरेर दमन गर्ने कोशिस गरेको थियो । प्रहरीको यस कार्यबाट युवाले “प्रहरी मेरो साथी” भन्ने नारा माथि नै प्रश्न चिन्ह उठाउन सुरु गरेका छन् ।

राज्यले युवाहरूको आवाजलाई दमन गर्नुको साटो उनीहरुसँग ‘टेबल टक’ गर्न आवश्यक छ । अब सरोकारवालाले अतार्किक तर्क गरेर नागरिकलाई भ्रमित गर्न छोड्नु पर्छ । सडकमा उत्रिएका युवाहरूको भेगलाई शान्त पार्न राज्यले विगतमा गरिएको गलत कार्यहरूको आत्मालोचना गरेर उनीहरुको उज्जवल भविष्यको सुनिश्चितता कायम गर्न आवश्यक छ । युवावस्थामा हुँदा आजका नेता, मन्त्री, प्रधानमन्त्रीले दशकौँ पुरानो शासकलाई फालेका थिए। आज तिनै नेता, मन्त्री, प्रधानमन्त्रीलाई कुर्सीबाट फालेर नेपाल स्प्रिङ अरब स्प्रिङमा परिणत हुनु अघाबै राज्यले युवाको माग सम्बोधन गर्न अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment