
पहिलो दिन अर्थात् सोमबार ठूलो मानवीय क्षति बेहोरेको जेनजी आन्दोलन दोस्रो दिन नै सरकार ढाल्न सफल भयो। तर, यही अवधिमा मुलुकले अकल्पनीय क्षति बेहोर्यो।
जेनजी आन्दोलन मंगलबार बिहानसम्म ठिकठिकै देखिन्थ्यो । अघिल्लो दिन १९ जना गुमाएको यो आन्दोलन कसरी अघि बढ्ला भन्ने कौतुहलतामा आम मानिस थिए।
धेरैलाई लागेको थियो, आन्दोलन उग्र बन्न दिने कि शान्तिपूर्ण विश्राममा जान दिने भन्ने कुराको चाबी प्रधानमन्त्री केपी शर्मा ओलीसँग थियो। प्रधानमन्त्रीमाथि साेमबार नै राजीनामाको दबाब थियो।
आन्दोलनकारीको मुख्य माग थियो। तर, सोमबार ओलीले राजीनामा त दिएनन् नै साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको थालनीकाे कारण बनेकाे सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल सच्याउन उनी तयार नभएकाे खबर सार्वजनिक भएको थियो।
आफ्ना होनहार १९ साथी गुमाएकाे जेनजी पुस्तालाई त्यसले झन् आक्रोशित बनायो। सरकारको अर्को घटक कांग्रेसको दबाबपछि ओली सामाजिक सञ्जाल खोल्न राजी भए। तर, राजीनामा दिएनन्।
सडकमा आएकामात्र नभइ सामाजिक सञ्जाल पनि सरकारको हेपाहा प्रवृत्तिको विरोधमा देखिन्थ्यो। त्यसमा नागरिक समाजदेखि लिएर अन्य प्रतिपक्षले पनि धेरथोर साथ दिइरहेका थिए।
त्यसैले जेनजी कर्फ्यु लागे पनि आन्दोलन निरन्तर गर्ने बताइरहेका थिए। सोहीअनुरुप मंगलबार एकाबिहानैदेखि विभिन्न स्थानमा प्रदर्शनकारीहरू जम्मा भए।
अघिल्लो दिन नै संसद् भवन प्रवेश गर्ने निकै प्रयास भएको थियो। तर, ठूलो मानवीय क्षतिपछि सम्भव भएको थिएन। मंगलबार पनि आन्दोलनकारीले त्यसैलाई लक्ष्य गर्ने अनुमान थियो। करिब ८ बजे रिपोर्टिङको लागि नयाँ बानेश्वर पुग्दा प्रदर्शनकारी फाट्टफूट्ट थिए र दक्षिणी गेटमा भेला हुन थालेका थिए।
हामीसँग सुरुमै जम्काभेट भएको अलि ठूलो समूह भने शंखमुलबाट बानेश्वर चोकतर्फ जाँदै गरेको थियो।
करिब ५०/६० जनाको त्यो समूहलाई प्रहरीले मुख्य चोकतर्फ जान दिइरहेको थिएन। प्रहरीको अवरोध झेलेको यो समूहले भावनात्मक रुपमा प्रहरीलाई बहकाउन अनेक उपाय लगाइरहेको थियो।
‘तपाईंका छोराछोरी मारिएका भए के गर्नुहुन्थ्यो? जानु, ती भ्रष्ट्रलाई गोली हान्नु। हामीलाई छोड्नु,’ भावुक हुँदै एक आन्दोलनकारीले प्रहरीलाई भने, ‘यो देश त तपाईंहरुको पनि होनि, हैन र?’
केहीबेरमै प्रहरीको त्यो टोली पछाडि हट्नुपर्ने अवस्था बन्यो। आन्दोलनकारीहरूले पेल्दै गए। अलि पर देखिएका प्रहरी कमाण्डर जोस्सिएर आए । लाठी हान्दै भने- तिमीहरुलाई कसले पछाडि सर्न भन्यो हँ?
प्रहरी र आन्दोलनकारी दुवैको तनाव बढ्दै थियो। त्यहीबेला बानेश्वर चोकतिरबाट ७/८ जना युवा जोडिए। त्यसबेलासम्म प्रहरीले ग्लोबल आइएमई बैंक अगाडि शंखमुलबाट आएका प्रदर्शनकारी रोकिरहेको थियो। ती प्रहरी बिच्काउन बानेश्वर चोकतिरबाट गएका ती युवाले टायर बालिदिए।
प्रहरी अन्योलमा परे– टायर निभाउन पछाडि आउँदा उता आन्दोलनकारी बिच्कने डर। ननिभाउँदा यताका समूह उग्र बन्ने जोखिम। केहीबेरको अन्यौलपछि प्रहरी पछाडि सर्दै आयो। र जसोतसो सबै आन्दोलनकारीलाई एनबी सेन्टरअगाडि रोक्न सफल भयो।
०००
त्यसपछि बानेश्वरकै सिभिल अस्पतालतर्फ जाँदा त्यहाँ पनि एउटा समूह प्रदर्शन गरिरहेको देखियो। त्यसबेलासम्म बानेश्वर चोकमै भने फाट्टफुट्ट मान्छे थिए। धेरै जसो पत्रकार थिए।
सिभिल अस्पतालअगाडि भने व्यापक नाराबाजी भइरहेको थियो। उनीहरूको नारा थियो– १९ जना साथीहरुको हिसाब सरकारसँग मागेरै छाड्छौं।
ती १९ जेनजी सहिदको मृत्यूको हिसाब खोजेरै छाड्ने अठोट उनीहरुमा देखिन्थ्यो। घरी भड्कन खोज्थे, घरी के। पूरै अशान्त देखिन्थे। भड्किएको अवस्थामा प्रहरीले सम्झाउनेबाहेक केही गर्न सक्ने अवस्था थिएन।
केही आन्दोलनकारीले भने प्रहरीको ठीक अघिल्लो घेरामा उभिएर आन्दोलनलाई शान्त बनाउने कोसिस पनि गरिरहेका थिए। कोहीकोही प्रहरीलाई कालो रङको मास्क दिइरहेका थिए भने कोही पानी दिइरहेका थिए।
त्यहीँ हुलमा केहीबेरमा देखापरे- पूर्वप्रधानन्यायधीश शुशीला कार्की र कलाकार मनोज गजुरेल।
उनीहरू पुग्ना साथ हुल पूरै चिच्यायो। केही आक्रमक देखिए पनि सम्यमित नै थियो। संयमित युवाहरूले बोल्न दिन आह्वान गरे। त्यसपछि कार्की बोलिन्, ‘यो सरकारले तत्काल राजीनामा दिनुपर्छ। यसले हिजो (सोमबार) नै बैधता गुमाइसक्यो,’ उनले भनिन्।
भिड पनि नाराबाजीमै केन्द्रित थियो। त्यहाँ रहेका संयमित युवाहरुले ढुंगा र पानीको बोतल नहान्न अनुरोध गरे। तर, आक्रोश किन रोकिन्थ्यो? कोही एकजनाले प्रहरीमाथि बोतल फाले। त्यसपछि केहीबेर तनाव भए पनि फेरि सम्हालिएर प्रदर्शनकारी सिभिल अस्पतालअघि नाराबाजीमै केन्द्रित भयो।
०००
यतिन्जेलसम्म बानेश्वर चोकको आकाशे पुलमुनि अर्को समूह भेला भइसकेको थियो। उनीहरूको पनि आवाज एउटै थियो– १९ जना साथीहरूको हिसाब यो सरकारसँग खोजेरै छोड्छौं। भिड केही उत्तेजित देखिन्थ्यो।
त्यहाँ नाराबाजीलाई साथ दिइरहेकी ४५ वर्षीया पुष्पा न्यौपाने गहभरी आँसु पारिरहेकी भेटिइन् । उनको साथीको छोरो केएमसी अस्पतालमा उपचाररत रहेछ। साेमबार पाखुरा र तिग्रामा रबरका गोली लागेका ती प्रदर्शनकारीको मंगलरबारसम्म भएको थिएन। यो घटनाबाट आक्रोशित सुनिइन्, उनी।
‘मेरो साथीको छोरा एउटा भयो। त्यस्ता कति छोराछोरीलाई गोली हान्यो ? भुतुक्कै हुनेगरी मार्यो नि ! सबै जेनजी मेरा छोराछोरी हुन्। यहाँ अब उनीहरुको बलिदान र घाइतेको, पीडाको हिसाब खोज्नुपर्छ। अब यो आन्दोलन हाम्रो हो,’ उनले भनिन्।
पुष्पाकाअनुसार उनी बानेश्वरतिरै बस्छिन्। त्यहीँबाट उनी आन्दोलनमा जोडिएकी थिइन्।
त्यही बेला आईप्लेक्स मलअगाडि अर्को समूहले टायर बालिसकेको थियो। त्यो भिड संसद भवनतिर आउन चाहन्थ्यो । त्यहाँ पनि तनावको स्थिति बन्यो।
यसरी चारैतिरबाट बानेश्वर चोकमा जम्मा हुन आएका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकिरहेको थियो। यी घटना भइरहेकै बेला प्रहरीले एकजनालाई चर्को स्वर गरेको भन्दै पक्राउ गर्यो। जसले भिडलाई झनै अशान्त बनायो।
यो हुँदै गर्दा माइतीघरबाट अर्को हुल बानेश्वरतर्फ नै आउँदै गरेको देखियो। उनीहरू द नेक्स्ट सेन्टरअघि नै मध्य बाटोमा बसेर नारा लगाउन थाले।
यो समूहमा सानेपाबाट बानेश्वरमा आन्दोलन गर्न आएका बुबा-छोरा आशिष पौडेल र अभिनास पौडेल पनि थिए।
वैदेशिक रोजगारीबाट छुट्टीमा घर फर्केका ४६ वर्षिय आशिष पौडेलले अनुभव हुन्छ भनेर १५ वर्षिय अभिनास छोरालाई साथमा लिएर आएको बताए। अबको नेपाल छोराछोरी पुस्ताको भएकाले भष्ट्र सरकारविरुद्ध यो पुस्ताले गरेको आन्दोलनमा साथ दिन आएको उनले सुनाए ।
छोरा अभिनासले भने हिजो सोमबारको आन्दोलनमा आफ्नो साथीहरू घाइते भएको र त्यसले आफूलमा आगो बालेका कारण आजको आन्दोलनमा आएको बताए।
उनीहरू त्यहीँ बसेर आन्दोलन गरिरहँदा माइतीघरबाट बानेश्वरतिर बढिरहेको फेरि अर्को समूह पनि धोबिखोलाको आर्क ब्रिजमा आइपुग्यो। जुन तुलनात्मक रुपमा अलि ठूलो थियो।
०००
यसरी चारैतिरबाट बानेश्वर चौकमा आन्दोलनकारीहरू जम्मा हुन थालेपछि त्यहाँ पहिल्यैदेखि भएकाहरूकोमा मनोबल बढ्दै गएको भान स्थलगत रिपोर्टिङका क्रममा हामीले पायौं।
त्यहीँ समयमा शंखमुलतिरको भिड उत्तेजित हुन गयो। प्रहरीको छेको तोडेर शंखमुलको भिड बानेश्वर चोकतिरै अघि बढ्यो। त्यसक्रममा भागारेभागको स्थिति बन्यो। प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गर्यो। त्यसपछि भिड झन् उत्तेजित बन्दै गयो।
यता उनीहरूको उत्तेजनामा घिउ थप्दै थियो– सामाजिक सञ्जालमा आएका सामाचारहरूले। हामी बानेश्वर चौकमै रहँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको घर जलेको खबर आइसकेको थियो।
कंंलकीदेखि भक्तपुरसम्मका विभिन्न स्थानमा आगजनीका घटना सुनिन थालिसकेका थिए। ठाउँठाउँमा टायर बालेर युवाहरू प्रदर्शनमा उर्लिँदै गइरहेको खबर आइरहेका थिए।
यी सबैले आन्दोलनकारी थप उत्तेजित बने। काठमाडौं थप अशान्त बन्दै गयो, जुन लहरो देशभर फैलियो।
०००
यसपछि पङ्क्तिकारहरू कार्यालय फर्किएर छतमा उक्लँदा जे देखियो, त्यो अकल्पनीय थियो। चारै दिशाबाट आगोको कालो मुस्लो उडिरहेको थियो । धुँवा च्यासलमा अवस्थित एमाले पार्टी कार्यालय, बानेश्वर चोक, सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय आदिमा गरिएका आगजनीका कारण आएका थिए।
समय १२ बजेको आसपास थियो। त्यसबेलासम्म फिल्ड रिपोर्टिङमा पङ्क्तिकारहरू व्यस्त थिए। सामाजिक सञ्जाल चिहाउने खासै माहोल थिएन। जसै खाना खाने बहानामा सामाजिक सञ्जाल चहार्न थालियो, त्यसबिचमा आन्दोलन उग्र र अनियन्त्रित बन्ने देखियो।
त्यसअघि फिल्डमा हुँदा विभिन्न ठाउँमा टायर बाल्ने काम भइसकेको थियो। तर केही मिनेटको फरकमै अवस्था भयावह भइसकेको सञ्जाल हेर्दा मात्र थाहा लाग्यो।
यसबीच विभिन्न विद्यार्थी नेता तथा कलाकारहरूले संलग्न पार्टी छाडेको पनि सञ्जालमार्फत नै जानकारी दिइरहेका थिए। तिनमा अभिनेत्री करिश्मा मानन्धरदेखि अब्दुस मियाँ, सुजन कडरियासम्म थिए। याे लहर पछि अरु दलका कार्यकर्तासम्म पुगेकाे देख्न सकिन्थ्याे।
अर्कोतिर जेनजीका गतिविधिहरूलाई प्रवर्द्धन गर्ने र आन्दोलनमा ऐकबद्धता गर्ने काम केही दिनयता नै सञ्जालमार्फत भइरहेका थिए। मंगलबार बिहान भने मुलत: हिजो सोमबार प्रहरी दमनपछिको आक्रोश देखियो। विद्यार्थी तथा युवाको मृत्यु हुन गएको आक्रोश थियो। चार घण्टाको अवधिमा जेजे मानवीय क्षति भयो, साँझ प्रहरीले जेजे गरे, जुन प्रकारको सरकारको अभिव्यक्ति आयो- ती सबै सञ्जालमा पोखिरहेको भेटियो।
अर्कोतिर जेनजी आन्दोलनलाई सङ्गठित गर्न भूमिका खेलेका रेडिट, डिस्कर्ड जस्ता प्लेटफर्ममा नेताका घर तथा सञ्चारगृह तोडफोड गर्ने र आज हिजोभन्दा चर्को आन्दोलन गर्ने कुराकानी पनि भइरहेको थियो।
यसको उदाहरणकै कुरा गर्दा, हामी नेपाल, जो हिजोको शान्तिपूर्ण गर्ने भनिएको आन्दोलनको व्यवस्थापकमध्येको एक थियो, ले बिहान ९ बजेतिर आज पनि माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी डिस्कर्ड र इन्स्टाग्राममा राखेको थियो।
यस पङ्क्ति लेख्दा २१ हजार बढी सदस्य भएको हामी नेपालको युथ अगेन्स्ट करप्सन नामक डिस्कर्ड ग्रुपमा त्यो जानकारी राख्दै गर्दा मात्र साढे १२ हजार बढी सदस्य थिए।
तर पङ्क्तिकारहरूले खाना खाँदाको समय, १२ बजेसम्म विभिन्न नेताका घर तथा पार्टी कार्यलयमा तोडफोड हुन थालिसकेको थियो। यस्ता खबर देशभरीबाट नै आइरहेका थिए।
त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय, नेकपा एमाले हेडक्वार्टर उनीहरूको निशानामा परिसकेका थिए।
त्यसको केही बेरमा डिस्कर्डका केही ग्रुपमा कान्तिपुर मिडिया सहित अन्य मिडियाको भवन तोड्ने कुरा आयो। स्थिति यस्तो थियो कि ती ग्रुपमा जेमाथि जाइलाग्ने भनिएका हुन्थे, त्यो सत्य हुँदै गइरहेको थियो। त्यसको अर्थ कार्यरत संस्थामा समेत प्रभाव पर्ने सम्भावना थियो।
त्यसको उदाहरण- नख्खु कारागारबाट रवि लामिछाने निस्कनु केही घण्टा अनि नै यो खबर डिस्कर्ड ग्रुपहरूमा फैलिएको थियो।
त्यसपछि पङ्क्तिकारहरू सुरक्षित स्थानमा गएर फिल्ड रिपोर्टिङ छाडेर सामाजिक सञ्जालमा केन्द्रित भए। त्यसबेलासम्म बिथोलिएको भिड प्रहरीको नियन्त्रणबाहिर गइसकेको थियो।
त्यसको ठोस परिणाम भने नेकपा एमालेको कार्यालय जलाउने, संसद भवन जलाउने र अन्य ठूला नेताहरूको घर जलाउने निस्कियो।
दुई बज्दासम्म आन्दोलनकारीहरूले संसद् भवनमा आगो लगाइसकेका थिए। करिब एक घण्टाअघि मात्र प्रहरीको नियन्त्रणमा रहेका आन्दोलनकारीहरू अब रानो नभएको मौरी जस्ता भइसकेका थिए।
उनीहरू बानेश्वर चोक आउने चारैतिरको बाटोबाट फरकफरक समूह बनाएर आएका थिए ।
०००
त्यसपछि त्यो समूहमध्ये केही संसद भवनमै रहे भने बाँकी बानेश्वर-बबरमहल-माइतीघरको बाटो लागे। र बाटोमा जहाँ जहाँ सरकारी कार्यालय देखे, त्यहाँ आगजानी तथा तोडफोड गर्न थाले।
यसबीच आन्दोलनकारीहरूले सिंहदरबार छिर्ने, विभिन्न नेताका घरहरूमा आगजानी गर्ने काम गरिसकेका थिए। जसबारे अनलाइनखबरले विस्तृतमा लेखिसकेको छ।
०००
यता सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानसेनापति (प्रभुराम शर्मा) सँगको भेटको फोटो, गगन थापालाई पिटेको, पूर्व प्रधानमन्त्री केपीशर्मा ओली लगायतका नेताहरू देश भाग्न लागेको, पहिल्यैका घटनाहरूको भिडिओहरू पुन: शेयर भएको, विदेशका घटनाहरू नेपाली भनेर शेयर गरिरहेको देखियो।
जुन कुनै भ्रामक त कुनै मिथ्या सूचना थिए। सोझो अर्थमा भन्दा सडकमा अप्रत्याशित घटना घटिरहँदा सामाजिक सञ्जालमा त्यसैलाई बल पुर्याउने भ्रामक/मिथ्या सूचना फैलिरहेका थिए। जसबारे आमसर्वसाधारण नागरिकलाई फ्याक्ट चेक गर्ने फुर्सद थिएन।
कारण- हरेक मिनेटमा देशभर विभत्स दृश्यहरू छताछुल्ल बनेर पोखिरहेका थिए। जुन क्रम अहिलेसम्म पनि जारी नै छ।
सरकारी सम्पत्तिमा सोच्दै नसोचेको क्षति पुगेपछि भने धेरैले जेनजीलाई संयमित अपनाउन अपिल गरिरहे। यसमा सेलिब्रेटीदेखि सामाजिक अभियन्ताहरू थिए। जेनजी आन्दोलन नै हाँक्न खोज्ने समूहहरूदेखि नेपाली सेनासमेतबाट त्यस्तो अपिल आयो।
यहीँ स्वरमा लय मिलाउँदै डा. सन्दुक रुइतले सञ्जालमार्फत अपिल गरे, ‘सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ! संयमित बनौं।’
प्रतिक्रिया 4