Comments Add Comment

पहिलोपटक चार्जिङ स्टेसनको शुल्क तोकियो, वर्षायाम र रातमा सस्तो

२० प्रतिशत रकम जोडेर शुल्क लिन पाइने

३ असार, काठमाडौं । विद्युत् नियमन आयोगले चार्जिङ स्टेसन सञ्चालकले अधिकतम २० प्रतिशतसम्म मुनाफा लिन पाउने गरी यातायातका विद्युतीय सवारी साधन चार्ज गर्ने महसुल दर तोकेको छ । विद्युत् नियमन आयोगले स्वाप सुविधा लिने ग्राहकसँग सिजनल (मौसमी) रुपमा र बिहान, दिउँसो र बेलुका मूल्य फरक लिनुपर्ने गरी महसुल तोकेको हो ।

सवारी चार्ज गर्दा समयअनुसार प्रतियुनिट ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म तिर्नुपर्नेछ । वर्षायामको ८ महिना (वैशाखदेखि मंसिरसम्म) रातको समयममा चार्ज गर्न सबैभन्दा सस्तो पर्ने छ भने हिउँद (पुसदेखि चैतसम्म)को पिक समयमा सवारी चार्ज गर्दा सबैभन्दा महँगो मूल्य तिर्नुपर्नेछ ।

हिउँदमा उत्पादन घट्ने भएकाले महँगो मूल्यमा बिजुली किन्नुपर्ने भएकाले महसुल पनि बढी तोकिएको हो । सार्वजनिक यातायातको चार्जिङ स्टेसनलाई रात (राति ११ देखि बिहान ५ बजेसम्म) मा चार्ज गर्दा कम शुल्क तोकिएको छ ।

सरकारले चार्जिङ स्टेसनले विद्युतको डिमान्ड शुल्क तिर्ने वा वा स्वाप सुविधा दिएर नतिर्ने दुवै विकल्प खुला राखेर महसुल तोकेको छ । यसअनुसार डिमान्ड शुल्क तिर्ने स्टेसनहरूको प्रतियुनिट इनर्जी चार्ज सस्तो तोकिएको छ भने डिमान्ड शुल्क नतिर्ने चार्जिङ स्टेसनले प्रतियुनिटमा इनर्जी चार्ज केही महँगो तिर्नुपर्नेछ ।

तोकिएको समयअनुसार चार्ज गर्न आएकासँग महसुलमा २० प्रतिशत बढी मात्रै शुल्क जोडेर स्टेसनले ग्राहकलाई चार्जिङ सुविधा दिन सक्नेछन् । टाइम अफ दि डे (टीओडी) विद्युत् महसुल दर (अटोमेटिक स्वाप कार्ड ग्राहक) डिमान्ड शुल्क नलाग्ने स्टेसनका लागि तोकेरै प्रतियुनिट कुल महसुल निर्धारण गरेको छ ।

डिमान्ड चार्ज तिर्ने चार्जिङ स्टेसनले २३० रुपैयाँ प्रतिकेभीए/प्रतिमहिना तिरेपछि साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट ७.१५ रुपैयाँ र ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रतियुनिट ५.६० रुपैयाँ महसुल तिर्नुपर्छ ।

अन्य यातायाततर्फ २५० रुपैयाँ प्रतिकेभीए/प्रतिमहिना डिमान्ड चार्ज तिर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट ९.६५ रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रतियुनिट ८.५० रुपैयाँ महसुल निर्धारण भएको छ ।

 वर्षायाम र रातमा सस्तो

डिमान्ड शुल्क नतिर्ने अटोमेटिक स्वाप कार्ड उपयोगकर्ता ग्राहकको लागि भने मौसमी मूल्य तोकिएको छ । वर्षाको समय (वैशाखदेखि मंसिरसम्म) विद्युतीय सवारी चार्ज गर्न सस्तो पर्नेछ । सार्वजनिक सवारीको चार्जिङलाई प्रतियुनिट न्यूनतम ४.४५ रुपैयाँदेखि ८.७० रुपैयाँसम्म चार्जिङ स्टेसनले खर्चिनुपर्ने देखिन्छ ।

यो समय सार्वजनिक यातायातका चार्जिङ स्टेसन (३३ केभी लाइन लिएका)ले रातमा (राति ११ देखि बिहान ५ बजेसम्म) प्रतियुनिट ४.४५ रुपैयाँ महसुल तिर्नुपर्नेछ ।

यस्तो महसुल ११ केभीका चार्जिङ स्टेसनलाई ५.०५ रुपैयाँ र तल्लो भोल्टेज (२३०/४००भोल्ट) का ग्राहकलाई ५.०५ रुपैयाँ पर्छ ।

यस्तै, वर्षको मौसममा विहान ५ बजेदेखि साँझ ५ बजेसम्म ३३ केभीका चार्जिङ स्टेनसनले प्रतियुनिट ६.६० रुपैयाँ, ११ केभीकाले ६.७० र तल्लो भोल्टेजकाले ६.९० रुपैयाँ महसुल तोकिएको छ ।

यसैगरी पिक समय (साँझ ५ देखि राती ११ बजेसम्म) ३३ केभीको चार्जिङ स्टेसनलाई प्रतियुनिट ८.४० रुपैयाँ, ११ केभीकालाई ८.६० रुपैयाँ र तल्लो भोल्टेजकालाई ८.७० रुपैयाँ तोकिएको छ ।

चार्जिङ स्टेसनलाई पनि पुसदेखि चैतसम्म भने महसुल केही महंगो पर्छ । यो समयमा दिनलाई दुई भागमा विभाजन गरेर चार्जिङ स्टेसनको महसुल तोकिएको । ३३ केभीका चार्जिङ स्टेसनले साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट ८.४० रुपैयाँ महसुल छ भने ११ केभीकोलाई ८.६० रुपैयाँ र त्यसभन्दा तल्लो भोल्टेजकालाई ८.७० रुपैयाँ ।

हिउँदमा राती ११ बजेदेखि विहान ५ बजेसम्म ३३ केभीका चार्जिङ स्टेसनलाई प्रतियुनिट ६.६० रुपैयाँ, ११ केभीको स्टेसनलाई ६.७० रुपैयाँ, त्यसभन्दा तल्लो भोल्टेजका स्टेसनलाई ६.९० रुपैयाँ तोकिएको छ ।

सार्वजनिकबाहेकलाई कति ?

महसुलअनुसार सार्वजनिक यातायातबाहेकले चार्ज गर्ने चार्जिङ स्टेसनले न्युनतम ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । यसअनुसार निजी सवारीका चार्जिङ सार्वजनिकभन्दा केही महँगो पर्नेछ।

यस्ता चार्जिङ स्टेसनले वैशाखदेखि मंसिरसम्म पिक समय (साँझ ५देखि राति ११ बजेसम्म)मा चार्जिङ स्टेसनको प्रकारअनुसार प्रतियुनिट ११.२० रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्ने हुन्छ ।

वर्षाको यो सिजनमा रातमा भने प्रतियुनिट ४.४५ रुपैयाँदेखि ५.१५ रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ। यस्तै, वर्षाको समयका दिन (बिहान ५देखि साँझ ५ बजेसम्म)मा प्रतियुनिट १०.१० देखि १०.३० रुपैयाँ महसुल तोकिएको छ।

यी महसुलहरूमा २० प्रतिशत शुल्क जोडेर चार्जिङ स्टेसनले ग्राहकबाट शुल्क लिन पाउँछन् ।

यस्तोछ शुल्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment