
३ असार< काठमाडौं । सीमा समस्या शान्तिपूर्वक समाधानका लागि चीन र भारत सहमत भएका छन् । बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुवै पक्ष यो मुद्दालाई वार्ता परामर्शको माध्यमबाट समाधान गर्न सहमत भएको बताएका हुन् । साथै उनीहरुको बीचमा सीमाक्षेत्रको तनाव कम गर्दै लैजाने र सो क्षेत्रमा शान्ति स्थापना गर्ने सहमति पनि भएको छ ।
उनले भारतीय सेनाले चिनियाँ सेनामाथि आक्रमण सुरु गरेको कारण दुई तर्फको बीचमा झडप भएको दाबी गरेका छन् । उक्त झडपमा परी एक भारतीय सेनाका अधिकारीसहित २० भारतीय सेनाको मृत्यु भएको लिजियानले बताए । यद्यपि उनले यो झडपमा चिनियाँ सेना मारिएको वा घाइते भएकोबारे भने कुनै जानकारी दिएनन् ।
बुधबारको प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लिजियानले चीनले फ्रन्ट लाइनमा रहेका भारतीय सेनालाई कडा अनुशासनमा राख्न भारतलाई आग्रह गरेको बताएका छन् । साथै गालीगलौजमा उत्रिने र एकपक्षीय रुपमा चालिएको कदमले यो मुद्दा अझै जटिल बन्दै जाने उनको भनाइ छ ।
सोमबार भारतको लद्दाखको चीनसँग सीमा जोडिएको क्षेत्रमा भारत र चिनियाँ सेनाको बीचमा झडप भएको थियो । उक्त झडपमा परी सुरुमा एक भारतीय सेनाका अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको भनिए पनि मंगलबार घाइते थप १७ जनाको मृत्यु भएको भारतीय सेनाले जानकारी दिएको थियो ।
सन् १९७५ पनि पहिलोपटक भारतीय सेनाको मृत्यु हुने गरी यो घटना भएको हो । उक्त झडपमा दुवै पक्षबाट गोली नचलेको तर ढुङ्गा हानाहान भएको बताइएको छ ।
स्रोत : एपी
प्रतिक्रिया 4