
३ असार, चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधवार विहान सवा ४ बजे पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड साँझ ६.३० बजे एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ईच्छाकामना गाउँपालिका- ६ स्थित चार किलोमा खसेको पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालन गर्न सकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । उनका अनुसार दुईतर्फी सडक खुलाउन बिहिबारसम्म लाग्नेछ ।
चार किलोमा ठूलो डाँडा नै सडकमा झरेकोले समय लागेको सूचना अधिकारी खनालले बताए । पहिरो हटाउन दिनभर पाँच वटा डोजर प्रयोग गरिएको थियो । सडक अवरुद्ध भएपछि रोकिएका दर्जनौं सवारी साधनलाई विस्तारै गन्तब्यतिर जान थालेका छन् ।
जाममा पर्नेमा ठूला ट्रकहरु धेरै छन् । चार किलो नारायणगढ मुग्लिन सडकको सबैभन्दा बढी पहिरो जाने स्थान हो । कमजोर भूवनोट भएको कारण पटक पटक पहिरो खस्ने समस्याले दुख दिने गरेको छ । नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दुरीमा नौ स्थान पहिरोको जोखिमयुक्त क्षेत्र छन् ।
प्रतिक्रिया 4