+
+
Shares

दार्चुलामा क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १४:३०

५ असार, काठमाडौं । दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मार्मा गाउँपालिका-३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । ब्याङ्ग्लोरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो।

स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।’

स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै ब्याङ्ग्लोरबाट आएका साथीको भनाइ उद्धृत गर्दै धामीले भने, ‘चार/पाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।’

रिपोर्ट नआउँदै अन्त्येष्टि

गाउँपालिका अध्यक्ष धामीका अनुसार मृतक युवकको अन्त्येष्टि बिहीबार साँझ नै गरिएको छ। सुरक्षा सजगता अपनाएर मृतक युवकको अन्त्येष्टि गरिएको अध्यक्ष धामीले दाबी गरे ।

मृतक युवकको अन्त्येष्टिमा परिवारका सदस्यसहित जम्मा सात जना मात्रै सहभागी भएको र अन्त्येष्टिमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न भनिएको अध्यक्ष धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?