Comments Add Comment
साहित्य वार्ता :

‘लोकतन्त्रको उपहास भइरहेको छ, युवापुस्ता फरक हुन सिक’

‘लोकतन्त्र र मानवता भनेको चुइगम चपाएर बसिरहेजस्तो होइन’

६ असार, काठमाडौं । डा. सञ्जीव उप्रेतीले जीवनका उर्जाशील २५ वर्ष प्राध्यापनमा बिताए । त्यसक्रममा युवा वर्गसँग उनको बढी उठबस रह्यो । विश्वविद्यालयमा पढाउने र साहित्य लेख्ने क्रममा हजारौं युवासँग नजिक भएका उप्रेती लेखेर, बोलेर र आफैं अघि सरेर युवालाई मार्गनिर्देश गरिहेका हुन्छन् ।

प्रष्ट वक्ताको रुपमा चिनिने उनी युवाकालमा आन्दोलनमा सहभागी भएकोदेखि गल्ती गरेका घटनासम्म नयाँ पुस्तालाई सुनाउन अप्ठेरो मान्दैनन् ।

‘घनचक्कर’ र ‘हंस’ उपन्यासका स्रष्टा उप्रेतीसंग लकडाउनबीच भएको विरोध प्रदर्शन, आजका युवाको प्रतिरोध क्षमता लगायतका विषयमा अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश :

आजको युवामा ‘प्रतिरोध क्षमता’ कस्तो छ  ?

आजको युवाले नयाँ कुरा जानेको छ । केही हदसम्म यो पुस्ता अगाडिको पुस्ता ग्रसित मानसिकताभन्दा माथि उठेको छ ।

नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या ४० प्रतिशतभन्दा बढी छ । यति ठूलो जनसंख्या युवाको छ भने भविष्य उनीहरूकै हो । भविष्यमात्र नभएर अबको सामाजिक–राजनीतिक आन्दोलन पनि उनीहरू मै निर्भर छ । आफ्नो अधिकारका लागि लड्ने क्षमता यो पुस्तामा छ ।

तपाईं मध्यवयको युवा हुँदाको दिन सम्झिनुहुन्छ ?

ठीक मध्यवय, २५ वर्षको हुँदा म एमए सकेर त्रिभुवन विश्वविद्यालयमा एमए तहलाई नै पढाउन थाल्दै थिएँ । २० ४६ को जनआन्दोलन त्यहीबखत सुरु भयो, जसमा म सहभागी भई हालेँ । पिटाइ चाही ०६२/६३ को जनआन्दोलनमा खाईयो ।

मलाई प्रष्ट अनुभव के छ भने, ०४६ मा निकै छिटो कुद्न सक्थेँ, ०६२ दर्गुन गाह्रो भयो । त्यो अनुभवले युवा जोशको महत्व बुझायो ।

त्यसबेलाको र आजको आफ्नै चेतनामा के अन्तर पाउनुहुन्छ ?

त्यसबेला मेरो विचारमा प्रष्टता थिएन । राजनीतिक, समाजिक मान्यताप्रति स्पष्ट थिइनँ । हामीलाई समाजमा चली आएको वैचारिकीले असर गरेको हुन्छ । अरु युवालाई झैं मलाई पनि त्यो वैचारिकीले थिचेको थियो ।

म मध्यम वर्गको मानिस, भर्खर काठमाडौंमा बस्न थालेको थिएँ । मलाई अनेकौं जड विचारबाट बाहिर निस्किन समय लाग्यो । तैपनि, अध्यापनमा लागेको हुनाले सोचविचार परिवर्तन गर्नुपर्छ भन्नेमा दृढ थिएँ ।

हिँजोआज प्रदर्शन हुँदा नाराबाजी, ढुंगामुढाभन्दा पनि गीत गाउने, अनेक प्रकारका प्लेकार्ड देखाउने गरेको देखिन्छ । आन्दोलनको शैली परिवर्तन भएको हो ?

ढुंगामुढा त भएको छैन, तर कुनैपनि बेला विस्फोट विद्रोह हुन सक्छ । यो लकडाउनबीचमा भएको आन्दोलन स्वतस्फुर्त हो भन्ने धारणा छ मेरो ।

कोरोना रोकथाममा सरकारले ठीक कदम नचालेकोमा विरोध गर्नु राम्रो हो । क्वारेन्टिनमा विभेद नगर भन्नु राम्रो हो । श्रमिक वर्गको लागि आवाज उठाउनु सान्दर्भिक हो ।

रुकुम घटनामाथि युवा मौन नबस भनेर मैले पनि बोलेको छु । नरसंहारको घटनालाई पनि आन्दोलनले उत्तिकै उठाउनुपर्छ भनेको छु । मुद्दाहरुबाट विचलित हुनुहुँदैन ।

लकडाउनका बीच भएको आन्दोलनप्रति तपाईंको दृष्टिकोण ?

जेठ अन्तिम साताबाट सुरु भएको प्रदर्शन ‘सहरिया मध्यम वर्ग’को आन्दोलनजस्तो देखिएको छ । कुनै वर्गमा जन्मिनु उनीहरूको दोष होइन । यो समयको प्रतिनिधि हुनु उनीहरूको गल्ती होइन ।

लकडाउन लम्बिँदै जाँदा मध्यम वर्गलाई गाह्रो हुन थाल्यो । सुरुमा लकडाउनले श्रमिक वर्गलाई असर पार्दा कसैलाई वास्ता भएन । सामाजिक सञ्जालमा मात्र विरोध भयो ।

मध्यम वर्गलाई गाह्रो हुन थालेपछि चाही उनीहरू सडकमा आउन थाले । यसरी हेर्दा उनीहरू वर्गीय स्वार्थका लागि बोलिरहेका छन् कि बृहत् सामाजिक न्यायका लागि ? भन्ने प्रश्नचाहिँ उठ्छ ।

युवा वर्गमा चिन्तन–मननको कमी देखिन्छ । समयचेतका लागि अध्ययन आवश्यक छ ?

अध्ययन–मनन गरेनौं भने हामीभित्र चली आएकै विचारहरुले डेरा जमाउँछन् । वर्गको, लिंगको, जातको, छुवाछुतको जड मानसिकताले जरा अझ गाड्दै जान्छ । अध्ययनले त्यसबाट मुक्त हुन सघाउँछ । दिमागको ढोका खोल्न पनि अध्ययन गर्नैपर्छ ।

अहिले राज्यको कार्यशैलीलाई लोकतन्त्रको उपहास भन्दा अत्युक्ति होला ?

अत्युक्ती हुँदैन । अहिले त लोकतन्त्रको उपहास भइरहेको छ । रुकुम घटनामा कतिपय मुख्य नेता चुपचुप बसेका छन् । गृहमन्त्रीले त अमेरिकामा हट्न नसकेको रंगभेदलाई उदाहरण बनाउँदै घटनालाई सामान्यीकरण गर्ने दुष्प्रयास गरे । उनलाई जसरी हुन्छ यो घटना सानो देखाउनु छ ।

हामी एकातिर लोकतन्त्र, मानवता भन्छौं । अर्कोतिर, १० वर्षमा १७ जना दलित मारिएका तथ्य भुल्छौं । ती मध्ये कतिपय हत्याको छानविन रिपोर्ट नै सार्वजनिक गरिएन । अजित मिजारको सवालमा दोषी किटान भइसक्दा पनि सजाय भएन ।

लोकतन्त्र, मानवता भनेको चुइगम चपाएर बसिरहेजस्तो होइन । लोकतन्त्रको अभ्यासमा राज्यका निकायहरु प्रतिबद्ध हुन पर्यो नि !

विभेदको पराकाष्ठा किन व्याप्त छ ?

हाम्रो संरचनामै विभेद छ । राज्यका अंगहरु– न्यायपालिका, व्यावस्थापिका र कार्यपालिकामा विभेदले जरा गाडेको छ । १० जना बैठक बसेर अब विभेद गरौं भनेर विभेद भएको होइन, त्यो आफैं घटित हुन्छ । भइरहेको विभेदलाई भने सोचेर प्रश्रय दिँदा दिइन्छ । यस्तो संरचना परिवर्तन गर्न समय लाग्छ । युवा वर्गले यसैमा ध्यान पुर्याउनुपर्छ ।

यहाँले ‘सबैको जीवन गौरवमय हुन्छ’ भन्नुभएको थियो । सबैको जीवनलाई कसरी गौरवमय बनाउन सकिन्छ ?

यसका लागि ठूलै सामाजिक परिवर्तन आवश्यक हुन्छ, जुन अहिलेको अवस्थामा गाह्रो छ । सबैले, समानरुपमा आफ्नो विकास गर्ने, अगाडि आउने अवसर पाउन लामै संघर्ष चाहिन्छ, संघर्ष निरन्तर हुनुपर्छ ।

धेरै वर्ष युवालाई पढाउनुभयो, घुलमिल हुनुभयो । अहिले युवालाई हेर्दा के सोचाइ आउँछ ?

‘डियर टु वि डिफ्रेन्ट’ अर्थात् फरक हुने आँट गर । म युवक–युवतीहरुलाई यही कुरा भनिरहेको हुन्छु ।

कोरोना व्याधिका बेला युवाले श्रमिक वर्गको लागि बोले, क्वारिन्टिनको मापदण्ड कायम गर, परीक्षण बढाउ भने । यो सब ठीक छ । तर, रुकुम घटनाबारे किन सुस्त देखिए ? वर्ग, जात, भूगोलभन्दा माथि उठेर सामाजिक न्यायको लागि बोल्न किन हिच्किचाए ?

म युवालाई सामाजिक न्यायका लागि फरक हुन सिक भन्न छाड्दिनँ ।

जे चलेर आयो, त्यही पालना गर्न भएन । मध्यम वर्ग छौ, त्यही स्वार्थ बोकेर हिँड्न भएन । कांग्रेसको छौ, त्यहीमात्र सोचेर आन्दोलनमा आउन भएन । पुरुष छौ, त्यही संरचनाको स्वार्थ रक्षाका लागि ज्ञान प्रयोग गर्न भएन । ‘फरक हुने हिम्मत गर र समाजिक न्यायका लागि बृहत् अर्थमा सोच’ भनेर उनीहरूलाई व्यक्तिगत तथा सामुहिकरुपमा भन्दै आएको छु ।

विश्वविद्यालय छोडेपछि कस्तो अनुभव गरिरहनुभएको छ ?

मुख्य कुरा त प्रशस्त समय मिलेको छ । परिवारसँग समय बिताउन पाएको छु । विश्वविद्यालय छोडेपछि नै ‘हंस’ लेखें ।  प्रकृति, चराचुरुंगी नियाल्न पाउने भएँ । पढ्न, सोचविचार गर्ने समय पाएको छु ।  यसैका आधारमा साहित्य लेखिरहेको छु, आफ्ना विचार व्यक्त गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment