Comments Add Comment

घृणाले घृणाको आगो निभ्दैन

‘तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो

अंशबण्डा गर्ने हो भनेपनि

यो देशका एक करोड टुक्राहरूमध्ये

एउटा टुक्रामा मेरो पनि छाप्रो हुनेछ ।’

भूपी शेरचनको यो सशक्त कविता–अंशले विद्रोहको ज्वाला मात्र फुटाउँदैन, यसले आफ्नो स्थान र आफ्नो अधिकार खोजेको छ । सर्वश्रेष्ठ, सर्वज्ञाता र सर्वमान्य ठान्नेमाझ कडा हुँकारका साथ आफ्नो अंश दावीसमेत गरेको छ ।

अहिलेको परिवेश हेर्दा पनि केवल कानुनको लागि मात्र विभेद नगर्ने तर व्यक्तिगत सवालमा विभेदलाई प्रश्रय दिइएको छ । प्रश्नकर्ताहरूले प्रश्न गर्न ढिला गरे । हिजै उठाउनुपर्ने प्रश्न आज उठाउँदा लाखौँ जीवित अस्तित्वहरू केबल मृत्युसँगैको कहालीलाग्दो जीवन बाँचे । एक शताब्दीअघि मात्रैको कुरा गरौं, त्यतिबेलाको सती प्रथाविरूद्धमा प्रश्न नउठेको भए वा त्योभन्दा अर्को दुई शताब्दीअघि प्रश्न गर्नेहरू सक्रिय भएको भए ? के हुने थियो ?

हो हामीले आजको कुरा गरिरहँदा हिजोलाई अवश्य पनि हेर्नुपर्छ तर हिँजोका कुरालाई च्याँखे थापेर आजलाई प्रश्न गर्न रोकिने कुरा किमार्थ स्वीकारिनु हुँदैन । कि प्रश्न गर्नुपर्छ, कि सोही तर्कलाई विश्वास गरेर बस्न विवश हुनुपर्छ ।

दुई विकल्पहरूमा हामीले हिजो के रोज्यौं, आज के रोज्दैछौं ? हामी यहाँ छौँ र त असमझदारीहरू छन् । विश्व परिवेश केलाउँदा अश्वेत–श्वेत, महिला–पुरूष र तेस्रो लिङ्गीबीचका थुप्रै असमझदारीहरू छन् । त्यसो भनेर हाम्रो जातिय विभेदलाई पनि त्यही असमझदारीको कित्तामा राख्दा हाम्रो सभ्यतामाथि दाग लाग्न सक्छ ।

अब म विभेदको सवालमा आफ्नै निजी भोगाइतर्फ केन्द्रित हुन्छु ।

सानो छँदा आमाले दलित (कथित) परिवारको छोरासँग मलाई मित लगाइदिनुभयो । यसपछि उहाँले भन्नुभयो, ‘उसलाई तिमीले मित भन तर उसको घरमा गएर पानी पनि पिउनु हुँदैन । पकाएको केही पनि नखानू।’ तर मलाई खायो भने के हुन्छ भन्ने कुरा भनिएको थिएन ।

हामी दुई मितसँगै स्कूल जाने भयौं । मितबाको घरमा लुगा सिलाउने मेशिन, बिहे, ब्रतबन्ध लगायतका कार्यहरूमा बजाउने पञ्चेबाजाथियो । मित ती बाजाहरू बजाउनुहुन्थ्यो । म मित नजिक गई याचना गर्थें मलाई पनि बजाउन दिनु भनेर। मितज्यू निर्वाध रूपमा मलाई सनाई, कर्नाल बजाउन दिन्थे । म मख्ख पर्दै बजाउथेँ । त्यो देखेर अरू साथीहरू मलाई ख्याँस्थे ।

‘दमाईको मित अब तँ पनि बाजा बजाएरै खा’ भन्थे । त्यसोभन्दा म कत्ति रिसाउन्नथेँ । किनकि मलाई त कथित दलित र कथित ब्राह्मणका विशेषताहरूनै थाहा थिएन । त्यसैले म मितसँग नजिक हुँदै गएँ । मितको घरमा गएर पानी, खाजा वा पाकेको जे कुरा पनि खाने गर्न थालेको थिएँ ।

म मितसँगै घण्टौं खेल्थें । झगडा गरेरैमितसँगै काम गर्न जान्थें । प्रायः मितलाई म आफैँ बोलाउथेँ । उनको घर जान्थेँ । मलाई भोक लागेको बेला मस्तसँग मितज्यूका घरका खानेकुराहरू खाइदिन्थेँ । मितिनी आमाले पनि असाध्यै माया गर्नुहुन्थ्यो । सायद त्यसैले होला मलाई केही भन्नुहुन्नथ्यो ।

मेरो व्रतवन्ध भयो । त्यसपछि भने मितिनी आमाले उनको घरमा पाकेको कुरा खान दिनुभएन । घरमा बाआमाले पनि त्यहाँ नजाँ, उनीहरूले दिएको नखाँ भन्न थालेका थिए । उनीहरू अछुत, दलित हुन् जस्ता कुराहरू सुनाउन थाले । मैले प्रतिप्रश्न गरें, ‘खायो भने के हुन्छ ?’ मेरो प्रश्नको विश्वसनीय जवाफ दिन सक्नुभएन। अनि मैले पुनः मितज्यू र मितदाइसँग खानेकुराहरू खान थालेँ ।

एक दिन आमासँग विवाद नै भयो । आमाले भन्नुभयो, ‘तेरो मितलाई घरको ढोकाबाट पस्न दिनुहुन्न ।’ तर मैले त्यसअघि कहिल्यै ल्याएको पनि त थिइनँ । मैले त्यसै बेला भनेँ, ‘त्यसो भए उनी झ्यालबाट भित्र आउनेछन् ।’ आमा मेरो कुरा सुनेर रिसाउनुभयो । सायद आमाले यो जवाफको कल्पना गर्नुभएको थिएन । त्यसको केही दिनपछि मितज्यूलाई झ्यालबाट भित्र लगेँ । बार्दलीमा बसेर हामी आरामसाथ खाजा खायौँ । जसको परिणाम स्वरूप मैले बा र आमाका गाली र पिटाई खानुपर्यो । हामी ठूलाबाको घरमा टिभी हेर्न जान्थ्यौँ । हामी भित्र बसेर हेर्थ्यौं । मितहरू झ्यालबाट हेर्थे । अर्काको घरमा के भन्नू भनेर चुप लागियो ।

जातीय मुद्दाको विषयमा व्यापार गरिरहेको हामीले खोइ बुझेको ? मानव जात एक हो भन्ने बिर्सिएर हामी कहिलेसम्म लडिरहने ?

गाउँमा पानी पँधेरोमा उनीहरू आफैँ अलग्गै पानी थाप्थे । अथवा हामीलाई भरिदिई माग्थे । एक दिन एक कथित दलितले पँधेरोभित्र पसेर पानी भरे । मैले त्यसलाई आश्चर्य मानिनँ । किनभने मैले उनको आग्रहलाई मानेर पानी भरिदिइनँ । त्यसैले उनी आफैँ भित्र पसेर पानी उघाए र गाउँलेहरूको गाली खाए । त्यो दृश्यको म प्रत्यक्षदर्शी थिएँ । मैले सोचेको थिएँ उनीहरूले छोएको पानी खाँदा कोको बिरामी पर्दारहेछन् हेरौँ । तर त्यस्तो भएन । गाउँका कोही बिरामी भएनन् ।

गाउँबाट उच्च माध्यमिक तह पढ्न सदरमुकाम आएँ । सहरमा कोही पनि कथित दलित थिएनन् । कोही पनि कथित ब्राह्मण थिएनन् । सबै एकनासझैं लाग्ने । समानताको व्यवहार थियो । जनैपूर्णिमाको दिन । बिहानै म सदरमुकाम धुलिखेलको ‘गोसाइँस्थान मन्दिर’ गएँ । त्यहाँ निकै ठूलो भीड थियो । भीडसँगै एकजना मान्छे टिकाको थाली, जनै बोकेर हरेराम लेखेको गेरूबस्त्र भिरेर बसेको देखेँ । ती मलाई देख्नेबित्तिकै तर्किए अनि मुख छोपे । मैले हत्तपत्त उनलाई हेरेँ । उनी मेरै गाउँका एक कथित दलित थिए । उनले मलाई खुसुक्क भने, ‘यो कुरा कसैलाई नभन्नू है बाबु, थाहा भयो भने बर्बाद हुन्छ ।’

मैले उनकै हातबाट टीका लगाएँ । उनले नै दिएको जनै भिरेँ । तर, मैले त्यो कुनै आश्चर्यलाग्दो घटना मानिनँ। कसैलाई सुनाइनँ पनि । बरू उनलाई देखेर गाउँले जनजीवनप्रतिको चेतना देखेर लामो सुस्केरा हालेँ । हाम्रो मनको डरले हामीलाई सिद्याइरहेछ ।

समाज निर्माण गर्ने हामीले, समाजमा बाँच्ने पनि हामी नै हौँ । यति सामान्य कुरालाई जटिल बनाउने या सरल बनाउने त्यो पनि हाम्रै हातमा छ । तर हामी शंका र डरले ग्रस्त छौं । यसले त मानिसको धरातल कति पनि परिवर्तन गर्न सक्दैन । मानिसहरू बाँच्दछन् तर चेतनाहीन ज्युँदो लाश बनेर । चेतना गुमाएपछिको शून्यता मसानघाटसरह हो । विचारबाट दृष्टिकोण निर्माण हुन्छ । विचारलाई आफ्नो परिवेशले निर्माण गर्छ र दृष्टिकोणलाई व्यवहारमा परिवर्तन गर्न सकिएन भनेचाहिँ ढोंगी भइन्छ । अब हामीले दुई प्रश्नहरू गर्नुपर्छ- छुवाछुत, असमानता र विभेदविरूद्ध डराउने वा प्रश्न राखी विचार निर्माण गर्दै, दृष्टिकोण बदल्दै व्यवहारहरू परिवर्तन गर्ने ?

यहीबेला कति आततायी, निन्दयी, बर्बर र जति भर्तसना गरे पनि मन शान्त नहुने रूकुमको सोती घटना घटेको छ । वास्तवमा प्रेमले ६ जनाको हत्या जस्तो क्रुर परिस्थिति बनायो । यो दुखद् र नेपाली समाजको चेतना स्तरका प्रत्यक्ष अवलोकन गराउने कुरूप अनुहार हो । के मानव यति निर्दयी भइसक्यो ? के मान्छेले अब प्रेम गर्न नहुने भइसक्यो ? हो हामीले यहाँ प्रेम वर्जित छैन भनिरहँदा यो घटनाले प्रेम गर्न नहुने रहेछ भन्ने मानसिकता उब्जाएको छ । प्रेम गर्दा मर्नुपर्ने त्रास अनि भ्रम सृजना भएको छ ।

हुन त नेपालको सन्दर्भमा जातजाति, धर्म, संस्कृतिभित्रको रूढीवादी संकुचन निकै गहिराइमा छ । तर कसैको जातीय, धर्म र संस्कारका विशेषतालाई लिएर असमानताको अवधारणा मानवीय धर्म र मानवीय संवेदनाभन्दा तल झर्नु लज्जास्पद कुरा हो । हो म कथित ब्राह्मणको छोरो हुँ । तर मैले मेरो यही विशेषतालाई टेकेर कसैमाथि पनि निरंकुशता लाद्नु हुन्न । र मलाई पनि अरूले त्यो रूपमा नहेरून् भन्ने तर्क हो । आफू बाँच्ने अधिकारले अरूको अधिकार नखोसोस् । अरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष नकारात्मक असर नपरोस् ।

रूकुमको घटनालाई हेरौँ । कथित दलितसँगको प्रेमको हवाला दिएर भएको त्यो घटनामा सहभागी भई हत्याजस्तो गम्भीर मानव अधिकार उलङ्घन गर्ने ती सबै अपराधी हुन् । त्यो घटनालाई जाति विशेषको रूपमा मात्रै प्रचारबाजी गर्नु भनेको चाहिँ हामीबीच द्वन्द्वको बिजारोपण गर्नु हो । हामी जातीय रूपमा विषयको उठान गरेर कसैको बाँच्न पाउने अधिकारको हनन् गर्न सक्तैनौँ । न त कसैको स्वाभिमानमा धावा बोल्न मिल्छ । यतिबेला न्यायको खाँचोचाहिँ अवश्य देखिएको छ । त्यसैले मानवीय संवेदना र न्यायको व्यापार गर्ने व्यापारीहरूले जहिलेसम्म दोकान खुल्ला गर्छन् कसैले न्याय पाउने छैन ।

जातीय मुद्दाको विषयमा व्यापार गरिरहेको हामीले खोइ बुझेको ? मानव जात एक हो भन्ने बिर्सिएर हामी कहिलेसम्म लडिरहने ? नियतमा खोट बोकेर गलत प्रवृत्ति अंगाल्दै दुई पक्षहरू बीच आफ्नो घृणित चरित्र प्रदर्शन गर्नेहरू यस्ता घटनाका मुख्य दोषी हुन् । यिनीहरूको संकुचित मानसिकतालाई परास्त गर्न कानुन त बनेको छ । कुनै बहानामा न्याय किनबेच गर्नेहरूलाई खुलेर बहिस्कार गरौँ । यहाँ तन्त्रहरू फेरिएका छन् । तर मानिसहरूका चेत खुलाउने मन्त्र नभेटेसम्म जस्तोसुकै व्यवस्था आए पनि त्यसले कुनै औचित्य राख्दैन । यहाँ संसार बुझेकाहरू थर बदलेर छेपारोको भेषमा अझै आहात मनहरूमाझ दाउ लगाउने होडमा छन् । हो यिनीहरूले अब त मरेपछि पनि कात्रो खल्ती भएको लगाइदेऊ भन्ने पीर भएको छ ! बाचुन्जेल लुट्नु लुट्यौ मरेपछि पनि नछाड्ने सोच हावी गराउन खोज्ने कस्तो प्रवृत्तिको जन्म हुँदैछ ।

गौतम बुद्धले भनेका छन्– ‘घृणाबाट घृणाको आगो निभाउन सकिँदैन । त्यसलाई प्रेमले मात्र निभाउँछ ।’ विभेदको सवालमा मनमा रोष पालेर विभेदको अन्त्य हुन सक्दैन । समभावको भावना जब विकसित हुन्छ तबमात्र मनको कलुषिता अन्त्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment