Comments Add Comment

योग धर्म होइन, विज्ञान हो

आज योगगुरु रामदेवले मञ्चमा एक मुस्लिम बालकलाई आमन्त्रण गरे । विश्व अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा रामदेवसँगै उक्त बालकले एकसाथ योग गरे । सोही मन्चमा रहेका आचार्य बालकृष्ण भन्दै थिए, ‘योग कुनै धर्म होइन, विज्ञान हो ।’

महर्षि पतञ्जलिले सत्यसम्म, स्वयंसम्म, मोक्षसम्म वा पूर्ण स्वस्थको अवस्थासम्म पुग्नका लागि आठ खुड्किलोको प्रतिपादन गरे । यस आठ खुड्किलो अर्थात् आठ अंग हो, १. यम । २. नियम । ३. आसन । ४. प्राणायाम । ५. प्रत्याहार । ६. धारणा । ७. ध्यान । ८. समाधि । यी आठ अंगको आ-आफ्नै उपअङ्ग पनि छन् । वर्तमान योगमा तीन अंग प्रचलित छन्–आसन, प्राणयाम र ध्यान ।

योग भन्नासाथ धेरैले यसलाई धर्मसँग जोडेर व्याख्या गर्छन् ।

योग शब्दको दुई महत्वपूर्ण अर्थ छन्। पहिलो जोड र दोस्रो समाधि । जब हामी स्वयंसँग जोडिँदैनौं, समाधिसम्म पुग्न कठिन हुन्छ। यस संसारमा दुई मार्ग छन्–एक सांसारिक चक्रभित्रै रहेर श्रेष्ठतम जीवन बिताउने, दोस्रो सन्यासी बनेर मोक्ष प्राप्त गर्ने । योगले यी दुवै मार्गको मार्गदर्शन गर्ने गर्छ।

योग धर्म वा विश्वास होइन

योगलाई धेरैले धर्मको रुपमा बुझ्छन् । योग दर्शन वा धर्म होइन । योग अन्धविश्वास वा ढोंग त हुँदै होइन । ओशो भन्छन्, ‘योग एक विज्ञान हो । प्रायोगिक विज्ञान हो ।’ योग खासमा जीवन जिउने कला हो । योग पूर्ण चिकित्सा पद्धती हो । जसरी बाहिरी विज्ञानको दुनियामा आइस्टाइनको नाम सर्वोपरी छ, त्यसैगरी भित्री विज्ञानको दुनियामा सर्वोपरी छन् पतन्जली । जसरी पर्वतमा हिमालय श्रेष्ठ छन्, उसैगरी समस्त दर्शन, विधी, नीति, नियम, धर्म र व्यवस्थामा योग श्रेष्ठ छ ।

कर्ममा कुशलता प्राप्त गर्ने आधार हो योग

तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।

अर्थात् कर्ममा कुशलता तर्फ अग्रसर हुनु नै योग हो । सुकर्म, अकर्म र विकर्म यी तीन किसिमको कर्मबारे योगसूत्र र गीतामा समेत विवेचना गरिएको छ । कर्ममा कुशालता प्राप्त गर्ने तीन चरण छन् । कर्मलाई बुझ्नु र राम्रो कर्मको अभ्यास गर्नु । यी दुवै कुशलतापूर्वक गरिएका कर्मबाट प्राप्त भएको सफलता हो।

कोही मान्छे विगतलाई हेरेर पछुतो मानिसरहेको हुन्छन्, भविष्यलाई सम्झेर चिन्तित भइरहेको हुन्छन् । योगले भन्छ, ‘वर्तमानमा बाँच्नुपर्छ । वर्तमानमा बाँच्नाले सजगताको जन्म हुन्छ । यही सजगताले हाम्रो सोचलाई सही दिशा प्रदान गर्छ । यसैले हामीलाई सही कर्मका लागि प्रेरित गर्छ । कर्ममा कुशलता प्राप्तिका लागि योगबाट यमको सत्य, नियमको तप र स्वाध्यायको अध्ययन गर्नुपर्छ।

योगले भन्छ शरीर र मनलाई दबाउनु हुँदैन बरु यसलाई रुपान्तरण गर्नुपर्छ। यसको रुपान्तरणबाट नै जीवनमा परिवर्तन आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment