Comments Add Comment

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

सरकारको विरोध गर्दै सडकमा निस्किए नागरिक

८ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा बढी छ । विशेषज्ञहरुले भने परीक्षण कम भएकाले ब्राजिलमा अझै धेरै संक्रमित हुन सक्ने बताएका छन् ।

यसैबीच ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध सडकमा विरोध प्रदर्शन भएको छ । विरोधीहरु सडकमा उत्रिएपछि राष्ट्रपति बोल्सोनारोका समर्थकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । सरकार विरोधी प्रदर्शनकारीहरुले राष्ट्रपति बोल्सोनारोलाई कोरोना रोकथाममा असफल भएको अभियोग चलाउन आह्वान गर्दै आएका छन् ।

बोल्सोनारोले लकडाउन लागु नगरेकाले कोरोना भाइरस संक्रमण दर उच्च भएको बताइन्छ । त्यतिमात्रै होइन, उनले स्वास्थ्य मन्त्रालयले दिएको सुझावसमेत कार्यान्वयन गरेनन् । बरु उल्टै उनले स्वास्थ्मन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका थिए । त्यसपछि स्वास्थ्यमन्त्री बनेका नेल्सन टेइकले पनि राष्ट्रपतिको कार्यशैलीमा असहमति जनाउँदै एक महिनामै पदबाट राजीनामा दिएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment