Comments Add Comment

सरकारलाई गर्भवतीको प्रश्न : यो उद्धार हो कि सैनिक शासन ?

सेना भन्छ– खाने, खुवाउने प्रवन्ध हाम्रो जिम्मामा छैन

८ असार, काठमाडौं । दुबईबाट शुक्रबार हुने दोस्रो चार्टर्ड फ्लाइटमा नेपाल फर्किन शर्मिला रेग्मीले टिकट काटिन् । गर्भवती अवस्थामा रहेकाले उनी स्वदेश फर्कने प्राथमिकताको सूचीमा परेकी थिइन् ।

स्थानीय समय अनुसार बिहीबार बेलुकी ६ (नेपालको बेलुकी ७.४५) बजे उनी दुबईको एयरपोर्टमा छिरिन् । उडान दुबईको समय अनुसार राति १ बजे (नेपालको बिहान २.४५ बजे) हुने भनिएको थियो ।

स्वास्थ्य र सुरक्षा जाँच लगायतका सबै प्रक्रिया ३ देखि ४ घण्टा जतिमा पूरा भयो । त्यसपछि प्रतिक्षा भयो, उडानको ।

बस्दाबस्दै पट्यार लागिसकेको थियो । एक्कासी सूचना आयो, ‘नेपाल एयलाइन्सको दुबईबाट हुने उडान बिहान ५ (नेपालको विहान ६.४५) बजेलाई सर्यो ।’

त्यो फ्लाइटमा शर्मिला मात्रै हैन, शर्मिलाजस्तै अरु ९४ जना गर्भवतीहरु स्वदेश फर्किँदै थिए । स्वास्थ्यको दृष्टिकोणले संवेदनशील अवस्थाका यात्रु लिएर आउन लागेको फ्लाइट ढिलाइ भएकोमा असुन्तुष्टि सुरु भइसकेको थियो । तर, कसैले सार्वजनिक रुपमा व्यक्त गरेनन् ।

उडान तालिका सरेपछि यात्रुहरु छटपटाउन थालिसकेका थिए । गर्भवतीलाई एयरपोर्टको कुर्सीमा एकोहोरो बसिरहनुपर्दा सकस हुने नै भयो । तैपनि घर फर्किन पाउने उत्साह कायमै थियो ।

सबैजसोको एउटैखालको गुनासो थियो, उडान ढिलो हुने बेलैमा थाहा भएको भए त केही खानेकुरा ल्याउन हुन्थ्यो नि !

प्रतिक्षाको घडी सकियो, बिहान ५ बजे उनीहरु नेपाल फर्किन विमान चढे र उडे । त्यसपछि उनीहरुमा थप निराशा पैदा हुन पुग्यो ।

सबैलाई लागेको थियो कि विमानमा केही खाना त पक्का दिइन्छ होला । धेरैलाई लागेको थियो, पोषिलो खालको भोजन पाइएला कि ।

महंगो रकम तिरेर चार्टर्ड उडानको टिकट काटिएको थियो । त्यसैले विमानमा केही खाना त अवश्यै पाइएला भन्ने गर्भवतीहरुको चाहना अस्वाभाविक थिएन ।

कुवेतबाट त्यहाँको सरकार आफैंले टिकट काटेर फर्काएका नेपाली महिलाले जहाजमा गज्जबले खाना पाइएको ‘उत्साहजनक’ खबर सुनाएका थिए । त्यस्ता भिडियो हेरेका गर्भवतीहरुलाई लागेको थियो, विमानमा भोको पेट बस्नुपर्दैन ।

‘कोरोनाका कारण होला विमानभित्र खाना दिन बन्द गरिएको रहेछ, पहिल्यै खाना दिँदैन भनेको भए केही ड्राइफुड भए पनि बोकिन्थ्यो होला,’ शर्मिला भन्छिन्, ‘विमान यात्रामा पनि भोकले रिंगटा लगाइरह्यो र, पनि सहँदै आइयो ।’

बिहान साढे ९ बजेतिर काठमाडौंको विमानस्थलमा जब विमानको पांग्राले भुइँ छोयो, शर्मिलाको आधा भोक हराइसकेको थियो । आफ्नो भूमिमा फर्केर आउँदाको उमंगले खुसी दिने नै भयो । भोक लागेका बेला खाना नपाएपछि उनको भोकै मरिसकेको थियो ।

त्यसपछि विमानस्थलमा ब्यागेज लिनेलगायतका प्रक्रिया पूरा गर्न दुई घण्टा लाग्यो । त्यतिबेलासम्म पेटले औधि दुःख दिन थालिसकेको थियो । केही महिलाले डायरी बोकेर खटिएका सेनालाई सोधे, ‘अब हामी कसरी घर जान पाउँछौं ?’

सेनाका जवानहरुले जवाफ फर्काए, ‘कहाँ यति छिटै पाउनु ? अब तपाईहरुलाई हामी होल्डिङ सेन्टर लैजान्छौं, त्यसपछि बल्ल तपाईहरुले रोजेअनुसार हुन्छ ।’

यस्तो कुरा सुनेपछि शर्मिलालाई लागेको थियो, होल्डिङ सेन्टरमा पुगेपछि त कसो खान नपाइएला । उनलाई भोकभन्दा पनि गर्भको बच्चाको बढी माया लागिरहेको थियो । ‘मैले केही खाएँ न उसले पाउने हो,’ शर्मिला सोचिरहेकी थिइन् ।

उनी पानी पिइरहेकै थिइन् र आफैंलाई भन्दै थिइन्,‘केही समय धैर्य गर् ।’

उनीहरुले छेउमा उभिएका नेपाली सेनाका जवानहरुलाई ब्यागेज उठाउन सहयोग गरिदिन आग्रह नगरेका होइनन्, तर जवाफ पाए, ‘हामीलाई ब्यागेज छुने आदेश छैन । हामीले सघाउन मिल्दैन ।’तर, संकट त्यतिबेला चर्कियो, जतिबेला गर्भवतीहरु विमानस्थलबाट बाहिर निस्किए । घिसार्दै ल्याएका गह्रुंगा ब्यागेज र झोलाहरु आफैंले उठाएर बसमा चढाउनुपर्यो । त्यो पनि भोको पेटमा । शरीरले सकिरहेको थिएन । रिंगटाले कतिबेला ढल्छु भन्ने डर थियो ।

एक त गर्भवतीहरुलाई थकित ज्यानले साथ दिइरहेको थिएन, ब्यागेज उठाउनु आफैंमा जोखिमपूर्ण थियो ।

जब दिउँसो २ बजे उनीहरु होल्डिङ सेन्टरमा पुगे, फेरि बसमा हालिएका ब्याग आफैंले झानुपर्ने भयो । जसोतसो सबै मिलेर काम गरे ।

तोकिएको केन्द्रमा उनीहरुले आफ्नो विवरण टिपाए । सोधियो- होल क्वारेन्टाइनमा बस्नुहन्छ कि, होम ? सबैजसोले होम क्वारेन्टाइन रोजे । किनकि उनीहरु पीसीआर गरेरै आएका थिए । सरकारले पीसीआर गरेकालाई घरमा क्वारेन्टाइन बस्न दिने निर्णय लिएको छ ।

ज्वरो जाँचेर विवरण टिपाएपछि सिमकार्ड हात लाग्यो । त्यसपछि सबै आशावादी भए खानाका लागि । होल्डिङ सेन्टरको गेटमै ठूलो अक्षरमा लेखिएको ‘…पार्टी प्यालेस’ ।

तर, यसपटक पनि सेनाले गर्भवतीहरुलाई चिसै पानीले नुहाइदियो । त्यहाँ खाना सोध्दा सेना र सशस्त्रका जवानहरुले जवाफ दिए, ‘होल्डिङ सेन्टरमा कहाँ खाना पाइन्छ ?, यहाँ त घर लानुअघि होल्डमात्रै गर्ने हो ।’

त्यसपछि भने सबैजना अत्ताल्लिए । उनीहरुले विरोध त गर्न सकेनन्, तर एकअर्काबीच आफ्ना अप्ठेराहरु साटे ।

उनीहरुलाई बस्दा–बस्दा अप्ठेरो भइसकेको थियो । कतिपय त सुत्केरी हुनेबेला नजिक भएको अवस्थामा थिए, उनीहरुलाई झन् भोको पेटमा ब्याग उचाल्ने पछार्ने गर्नुपर्दा र स्वास्थ्यमा अहसजता हुँदा उकुस–मुकस भइसकेको थियो ।

सबैको साझा प्रश्न थियो, कतिबेला गाडी गुड्ला र बाटोमा कतै, होटलमा रोकेर खाना खान पाइएला ?

६ घण्टापछि उनीहरुलाई जिल्लाअनुसार गाडीमा बस्न भनियो । त्यतिबेलासम्म कुवेत र कतारबाट आएका महिला पनि होल्डिङ सेन्टरमा पुगिसकेका थिए । पीसीआर नगरी आएका कुवेतका महिलालाई पनि गर्भवती महिलासँगै बसमा राखियो । फेरि ब्यागेज चढाउन र मिलाउन आफैंले पर्यो ।

त्यतिबेलासम्म उनीहरु युइएईबाट खाना खाएर हिँडेको २४ घण्टाभन्दा बढी भइसकेको थियो । गाडी कतिबेला गुड्छ भन्ने सबैको ब्यग्र प्रतिक्षा थियो । भाडा उठाएपछि बल्ल–बल्ल गाडी गुड्यो ।

त्यसपछिका कथा भने फरक–फरक छन् ।

पूर्वदेखि पश्चिमसम्म पुग्नुपर्ने धेरैको यात्रा नजिकको थिएन । त्यसैले उनीहरु भोको पेटमा पानीमात्रै पिएर वाकवाकी गर्दै अघि बढे ।

शर्मिला चढेको बस चितवन पुग्नुथियो, अरुको भन्दा नजिक । तर, बीचमा गाडीले धोका दियो, धेरै मान्छे र ब्यागेज हालेकाले हो वा थोत्रो गाडी परेकाले हो, गाडीको टायर पञ्चर भयो र गाडी बिग्रियो । २ घण्टाभन्दा बढी समय बस बनाउनमै लाग्यो ।

रातको दुई बजे चितवनका ९ जनालाई नारायणगढको गंगोत्री होटलमा ओरालियो । शर्मिलालाई लागेको थियो, अब त खान देलान् नि !

तर, होटलमा साहुजी सुरक्षाकर्मीसँग बटारिँदै थिए । किन विदेशबाट ल्याएको मान्छे मेरोमा झारेको ? होटल सञ्चालकको हाउभाउबाट प्रष्ट बुझिन्थ्यो, यहाँ पनि खान पाइनेवाला छैन ।

यसो वरपर पसल खुलेको रहेछ भने चाउचाउ नै भए पनि किनेर खानेबारे उनले नसोचेकी होइनन् । तर,  सुरक्षाकर्मीको ठाडो आदेश थियो, दायाबायाँ कतै नजानू ।’

सेनाले जानकारी दिँदै भन्यो, ‘बिहान तपाईको वडाका वडाध्यक्ष आएपछि मात्रै तपाईंहरु घर जान पाउनुहुन्छ । त्यतिञ्जेल पैसा छ भने होटलमा कोठा लिएर बस्स्नुस्, छैन भने यतै बाहिरतिर बस्नुस्, दायाँबाया नलाग्नुस् ।’

त्यसपछि साथमा पैसा भएकाहरु केही महिलाहरु होटलको कोठामा गए । तर, ब्यागेज नलिई ।

‘म पनि तीनजनासाथीसँग एउटा कोठामा आराम गर्न गएँ,’ शर्मिला भन्छिन्, ‘ब्यागेज हराए पनि हराओस् भनेर बाटोमै छाडेर हिँडे ।’

गर्भवती अवस्थाका महिलालाई यसरी भोकै र तिर्खै लामो बाटो हिँडाउनु अपराध नै भएन र ? अझ, यस्तो सास्ती भोगेर घर आइपुगेका नेपाली दिदी बहिनीलाई सामाजिक सञ्जालमा अनेकन लाञ्छना लगाइँदा उनीहरुको मन कति कुँडियो होला ?

बल्ल बिहान परिवारका मान्छेहरु वडाध्यक्षलाई लिएर आइपुगे । सबै प्रक्रिया सकेर शर्मिला आफ्नो घर पुग्दा बिहानको १० बजेको थियो ।

घरमा पुगेपछि अगाडि खाना आइपुग्यो । मनको पीडालाई दबाएर भए पनि उनले खाइन्, उनलाई लागिरहेको थियो, बच्चालाई कति भोक लागेको होला !

सबैको कथा–व्यथा शर्मिलाकोजस्तै छ । होल्डिङ सेन्टरमा समेत पानी नपाएको, बस चढेपछि पनि पानी नदिइएको र किन्नसमेत नपाएको उनीहरुको गुनासो छ ।

पोखरा लगिएका महिलाहरुले त ज्यादती भएको भन्दै एक भिडियो नै बनाएर सामाजिक सञ्जालमा हालेका छन् । उनीहरुले भिडियोमा खानाबारे सोध्दा सेनाले ‘खान नपाएर मर्यौ भने फाल्दिन्छौं’ भन्ने जवाफ दिएको आरोप लगाएका छन् ।

 

६ घण्टासम्म होल्डिङ सेन्टरमा राखेर राति हिँडेको बस बिहान ९ बजेसम्म तनहुँमा लगेर अर्को विमानमा आएकालाई पनि मिसाउन रोकेर राखिएपछि उनीहरुले सार्वजनिकरुपमै सेनाको व्यवहारप्रति असन्तुष्टि पोखेका थिए ।

दुई दिनसम्म खाना नपाएको र होटलमा पनि ‘यस्तालाई खान दिँदैनौं,’ भन्ने जवाफ आएको बताउँदै उनीहरुले भनेका छन्, ‘पानी परिरहेको छ, चिसोले बिरामी पनि हुने भइसकियो, ८/९ महिनाका गर्भवतीलाई दुई दिन भोकै राखेर, ब्यागेर उचाल्न लगाएर, बाटोमा अलपत्र पारेर राखेर पनि कतै उद्धार हुन्छ ?’

फर्किएका गर्भवती महिलाहरुले सेनालाई खाना र पानीबारे सोध्दा आफ्नो जिम्मेवारी नभएको जवाफ पाएको बताउँछन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भने सेनाले आफूले पाएको भूमिका कुशलताका साथ निभाएको दाबी गर्छन् । ‘हामीले एयरपोर्टबाट होल्डिङ सेन्टरसम्म र त्यहाँबाट क्वारेन्टिनसम्म उद्धार गरेर ल्याएकालाई लैजाने हो, खाने खुवाउने प्रवन्ध हाम्रो जिम्मामा छैन ।’

खानालगायतको प्रवन्ध सम्बन्धित प्रदेश तोकिएका मन्त्रीहरुले गर्नसक्ने भए पनि बेवास्ता गर्ने काम भइरहेको सशस्त्र प्रहरीका अधिकारीहरुको जवाफ छ ।

‘भोकै आएकालाई प्याकिङ गरेर केही ड्राइफुड, जुस र फलफूल दिन सकिन्थ्यो । तर, बिरामी, गर्भवती, सुत्केरी, शिशु लगायतका आएर खानाबारे सोध्दा पनि होल्डिङ सेन्टरमा खटिएका हामी निरीह बन्नुपर्छ,’ एक सशस्त्रका अधिकारीले भने ।

सुरक्षा अधिकारीहरुका अनुसार सरकारले विदेशबाट आउनेलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा प्रतिदिन १७५ का दरले खाना खुवाउने गरी मात्रै व्यवस्था गरेको छ, बाटोमा के गर्ने भन्ने तय छैन । यसले गर्दा विदेशबाट आएकाहरु कतिपय अवस्थामा लामो बाटो भए तीन दिनसम्म भोकै रहने अवस्था आएको उनीहरु स्वीकार्छन् ।

गर्भवती अवस्थाका महिलालाई यसरी भोकै र तिर्खै लामो बाटो हिँडाउनु अपराध नै भएन र ? अझ, यस्तो सास्ती भोगेर घर आइपुगेका नेपाली दिदी बहिनीलाई सामाजिक सञ्जालमा अनेकन लाञ्छना लगाइँदा उनीहरुको मन कति कुँडियो होला ?

यो पनि पढ्नुहोस विदेशबाट फर्किएका गर्भवतीमाथि असामाजिक टिप्पणी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment