Comments Add Comment

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद्

मनोहरा र तिनाउमा जलसतह बढेकाले सतर्कता अपनाउन अपिल

८ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ ।

मौसमविद मिन कुमार अर्यालले मनसुनी गतिविधि सक्रिय भएकाले देशभर मध्यम वर्षा भइरहेको बताए । अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने उनले बताए ।
‘मनसुनी हावा प्रशस्त छ । त्यसकारण अझै कम्तीमा दुई दिन देशभर वर्षा हुने नै देखिन्छ,’ उनले भने, ‘अहिले केही ठाउँमा रोकिए पनि फेरि पानी पर्छ ।’

देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले बताए ।

काठमाडौं, दाङ र बाँकेमा बढी वर्षा 

प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । वर्षासँगै विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा भएको छ । यसैगरी दाङमा ३९.७ र बाँकेमा ३३ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ ।

मनोहरा र तिनाउमा जलसतह बढ्यो

काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ । मनोहरा नदी बालकुमारीमा जलसतह २ मिटरभन्दा धेरै बढेको छ । मनोहरा, हनुमन्ते लगायत केही ससाना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने उच्च सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले जनाएको छ ।

यसैगरी हाल बुटवलको तिनाउ नदी बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले कञ्चनखोला, तिनाउखोलाको तल्लो तटीय क्षेत्र र आसपासका स–साना खोलामा बाढी आउन सक्ने भएकाले दिउँसोसम्मै सतर्क रहन पनि अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment