Comments Add Comment

कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

८ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

‘कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिँदैछन,’ डा. पौडेलले भने ।

उनका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् ।

खास गरी दैलेखबाट आएका अन्य सामान्य बिरामीलाई परीक्षण गर्दा कोरोनाको संक्रमण देखिन थालेको छ । ‘यो दैनिकजसो नै हुन थालेको छ, समस्या झन् जटिल बन्ने तिर गइरहेको छ,’ उनले भने, ‘यो अवस्था हेर्दा दैलेखमा समुदायस्तरमा नै संक्रमण फैलिसकेको भन्न सकिन्छ ।’

सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ ।

गत शनिबार मात्रै नारायण नगरपालिका दैलेखबाट आएका तीनजना बिरामीमा पनि कोरोना पोजेटिभ देखीएको छ । उनीहरु ६ वर्षीय बालकको पेटको अप्रेसन गर्न आएका थिए ।

अप्रेसन गरिसकेपछि बालकसहित दुईजना अभिभावकको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनको उपचारमा दुईजना विशेषज्ञ चिकित्सक र केही स्वास्थ्यकर्मीहरु संलग्न भएका थिए । अहिले डाक्टरसहित स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा बसेका छन् ।

डा. पौडेलका अनुसार सामान्य बिरामीमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालमा समस्या हुन थालेको छ ।

यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment