८ असार, काठमाडौं । सर्वियन क्लब रेड स्टार बेलग्रेडको पाँच खेलाडीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
हजारौँ दर्शकको उपस्थितिमा सिटी राइभल पार्टिजन बेलग्रेडसंग फुटबल खेलेको १२ दिनपछि रेड स्टार बेलग्रेडले आफ्ना खेलाडीलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेको हो ।
उक्त खेलमा १६ हजार दर्शक रंगशालमा उपस्थित थिए । कोरोना भाइरस महामारीपछि युरोपमा धेरै दर्शक उपस्थित भएको खेलमा यो पनि पर्छ ।
सर्वियन सरकारले यसै महिनाको सुरुमा लकडाउनलाई खुकुलो बनाएको थियो ।
रेड स्टारले शनिबार मात्रै सिजनको अन्तिम खेलमा प्रोलेटरलाई पराजित गर्दै लिगको उपाधि जितेको थियो । उक्त खेल हेर्न १० हजार दर्शक उपस्थित थिए ।
संक्रमण भएका पाँचमध्ये चार खेलाडीले अन्तिम खेल खेलेका थिएनन् । खेलअघि नै उनीहरुमा कोरोनाको लक्षण देखिएको क्लबले जनाएको छ ।
उनीहरुले अहिले कडा आइसोलेसनमा रहेको र क्लबको मेडिकल टिमसंग सम्पर्कमा रहेको पनि क्लबले जनाएको छ । मार्को गोबेजिक, एनजेगोस पेट्रोभिक, डुसान जोभानसिस, मार्को कोन्टार र ब्रान्को जोभिसिसलाई संक्रमण भएको क्लबले जनाएको छ ।
सर्वियन लिग मे २९ मा क्लोज डोरमा खेलाउने गरी सुरु भएको थियो ।
प्रतिक्रिया 4