१० असार, पोखरा । विश्वव्यापी महामारी पश्चात नेपाल सरकारले गरेको लकडाउनका कारण पोखरा महानगरले मात्रै करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोरेको जनाएको छ ।
लकडाउनले हरेक क्षेत्रका गतिविधि थप्प हुँदा ठूलो आर्थिक क्षति पुगेको महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले जानकारी दिएका हुन् ।
‘यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल असर गरेको छ,’ मेयर जिसीले भने, ‘यो हिसाब भनेको चैत ११ देखि जेठ ३२ गतेसम्मको अनुमान हो ।’ उनले कोरोना लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा अन्य नियमित सेवालाई पनि प्रभाव पारेको सुनाए ।
पोखरा महानगरले बुधबार ल्याएको नीति तथा कार्यक्रममा कोरोनाको प्रभाव र त्यसपछि के गर्ने भन्नेबारे जोड दिएको छ । ‘यसर्थ विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरहरुलाई न्यूनीकरण गर्न र महानगरबासीको जीवन रक्षा गर्दै विकास गतिविधिहरुलाई निरन्तरता दिने गरी योजना बनाइएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
महानगरले ३ वर्षमा सिकेको पद्धतिबाटै आगामी योजना तथा कार्यक्रममा पनि दूरदृष्टिलाई जोड दिने बताएको छ । ‘यस आर्थिक वर्षमा सहरी योजना आयोग गठन गरेका छौं,’ मेयर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘महानगरपालिकाले दीर्घकालीन दृष्टि निर्माण गरेर यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं ।’
महानगरले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरको सबैभन्दा जेठो महिला तथा पुरुषलाई महानगर पिता/माता घोषणा गर्ने भएको छ । त्यसबाहेक महानगरले ताल संरक्षण तथा वनजंगल संरक्षणसहित महानगरलाई पर्यावरणमैत्री पर्यटनको रुपमा अघि बढाउने नीति लिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4