+
+
Shares

नेतृत्वलाई खुइल्याएर कद बढ्दैन, पार्टीमा बहुमतको खेल भयो : ओली

‘महाधिवेशनसम्म सहकार्य र सहमतिअनुसार चल्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते २०:३८

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे । यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै उनले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल छ । यस्तो अनुशासनहीन काम किन हुन्छ ?’

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको समेत बचाउ गरे। आफूले गलत गरेका कारण फिर्ता लिएको नभई नेताहरूले भनेका कारण फिर्ता लिएको ओलीले बताए ।

सरकारको बचाउ

बैठकमा प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउमा खर्चिएका थिए । आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

कोरोना कारण २÷३ जनाको मात्र मृत्यु भएको तर अरू बिमारीका कारण मृत्यु भएको भए पनि कोरोना पोजेटिभ देखिएपछि कोरोनाबाटै भएको मृत्युमा गणना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकोेलका कारण मात्र २४ पुगेको उनले बताए । भारतबाटै एकै पटक धेरे मानिस आउँदा क्वारेन्टिनमा केही समस्या भए पनि त्यसलाई सरकारले सम्हालेको उनको दाबी छ ।

भारतसँगको सीमा विवाद पनि आकस्मिक रुपमा आएको र त्यसलाई सामाना गरेको उनले बताए । भारतले नेपाली भूमिलाई समेटेर नक्सा जारी गरेपछि नेपालले प्रोटेस्ट नोट पठाएको र वार्ताका लागि आग्रह गरे पनि स्वीकार नगरेको उनले बताए ।

कोरोना महामारीका बेला नेपाली भूमि अतिक्रमण गरेर बनाएको बाटो उद्घाटन गरेपछि नेपालले पनि नक्सा जारी गर्नुपर्नेस्थिति आएको प्रधानमन्त्री ओलीले बताएको एक नेताले सुनाएका छन् ।

‘तर भारतले राजनीतिक समाधान खोज्नुको साटो सेनामार्फत दबाब दिन खोज्यो । यो स्वीकार छैन,’ एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई बताए । प्रधानमन्त्री ओलीले अहिले देखिएका समस्याको राजनीतिक रुपमै नै सामना गर्ने भन्दै स्थायी कमिटीको बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले राम्रो काम गरेको भए पनि पार्टीबाट समर्थन नपाएको उनको गुनासो छ । उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरूलाई आग्रह गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?